कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

अधुरै रह्यो छैटौं एल्बमको सपना

७३ वर्षको उमेरमा इलाहाबाद प्रयाग संगीत समितिबाट प्रभाकर उत्तीर्ण गरेका थापा जीवनको उत्तरार्द्धमा संगीत क्षेत्रका युवाजत्तिकै सक्रिय थिए ।
सुशीला तामा‌ङ

काठमाडौँ — लकडाउनपछि बजारमा सामान्य चहलपहल देखिए पनि कोरोनाको जोखिम हटेको थिएन । बालबालिका तथा ज्येष्ठ नागरिक उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरूले बताइरहेकै बेला धेरैजसो आफ्नै निवासमा निष्क्रिय नै थिए भने यता जगतमर्दन थापा झनै सक्रिय थिए ।

अधुरै रह्यो छैटौं एल्बमको सपना

८५ वर्षीय वरिष्ठ गायक तथा संगीतकार थापालाई आफ्नो शरीरभन्दा नेपाली गीतसंगीतको प्रेम थियो र त उनी छैटौं एल्बमको तयारीकै लागि गीतहरू रेकर्डिङमा व्यस्त हुँदै थिए ।

एकातिर माघ २७ गते जन्मदिन नजिकिँदै गर्दा उनलाई एल्बम सार्वजनिकको चटारो थियो भने अर्कातिर संगीतलाई पनि महाव्याधिसँग जुधेर उध्याउने उनको प्रयास जारी थियो । महामारीबाट संगीतलाई थला बसेको देख्न नचाहने उनै सर्जक थापा कोरोनालाई पछाडि पारेर अगाडि बढ्दै थिए । कोरोना संक्रमणलाई त उनले जितेरै छोडे तर यसको प्रभावसँग भने लड्न सकेनन् । अन्ततः सोमबार बिहान मंसिर महिनाको न्यानो घामको किरण चढ्दै गर्दा नेपाली सांगीतिक क्षेत्रका अमूल्य रत्न थापा भने सधैंका निम्ति अस्ताए । उनको छैटौं एल्बमको सपना अधुरै रह्यो ।

थापाथलीको नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार उनले अन्तिम सास लिएका थिए । कोरोना संक्रमणपश्चात् लगभग एक महिनादेखि उनी अस्पतालमा उपचारत थिए । झन्डै डेढ हप्ताअघि कोरोनामुक्त भए पनि छातीमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

बाबुको जागिरे जीवनकै क्रममा सप्तरीको बरमझियामा जन्मेका थापाले २०१३ सालबाट रेडियो नेपालबाट आफ्नो सांगीतिक तथा साहित्यिक यात्रा सुरु गरेका थिए । तीनताक रेडियो नेपालबाट प्रसारण हुने ‘छात्र’ र ‘नारी’ कार्यक्रममा थापाले गीत, कविता तथा कथा नियमित वाचन गर्थे । अध्ययनसँगै साहित्य र संगीतमा निरन्तर लागेका उनले २०१८ सालमा कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए । हिन्दी गीतको दबदबा रहेको त्यो समयमा नेपाली श्रोतालाई थापाले आफ्नो भाषाका गीतको स्वाद चखाएर संगीतको जग बलियो बनाउने काम गरेका थिए । २०२१ सालमा उनको कथासंग्रह ‘पलाँसको फूल’ प्रकाशित भएको थियो ।

जगतमर्दनलाई नेपाली संगीत क्षेत्रमा एक सशक्त र प्रतिभावान् गायक तथा संगीतकारका रूपमा सधैं सम्झना गरिने गीतकार राजेन्द्र थापाले बताए । २०१८/१९ सालपछिका चर्चित ‘भन लौ नढाँटी,’ र ‘आशाको दियो बालेर’ जस्ता जगतमर्दनका गीत उनले स्मरण गरे । ‘संगीत क्षेत्र मात्र नभएर अन्य क्षेत्रमा पनि उनीजस्ता भद्र व्यक्तित्वको अभाव सदा खड्किनेछ,’ उनले भने । जगतमर्दनले सञ्चय कोषमा अधिकृत, कृषि चुन उद्योगमा महाप्रबन्धक, उद्योग तथा वाणिज्य मन्त्रालयमा शाखा अधिकृत, अर्थ मन्त्रालयमा सहायक सचिव, निर्माण तथा यातायात मन्त्रालयमा उपसचिवजस्ता जिम्मेवारी सम्हालेर तीन दशकभन्दा लामो सरकारी सेवा गरेका थिए ।

उनको निधनप्रति दुःख व्यक्त गर्दै कलाकार मदनकृष्ण श्रेष्ठले संगीतका अलावा कर्म क्षेत्रमा अडिग र अटल भएर लाग्ने एउटा कर्मठ, मिलनसार र निष्ठावान् व्यक्तित्वलाई मुलुकले गुमाएको बताए । सञ्चय कोषमा जागिरकै क्रममा आधा दशकभन्दा लामो समय थापासँगै बिताएका श्रेष्ठले भने, ‘उहाँको निधनले पुरानो समयको असाध्यै याद आयो । सञ्चय कोषमा हामी सँगै काम गर्दा उहाँ संगीतको कुरासँगै गाउनु पनि हुन्थ्यो र म चाहिँ क्यारिकेचर गर्थें । मनोरञ्जनका लागि उहाँलगायत हाम्रो छुट्टै टिम नै थियो । अफिसको पिकनिकमा समेत विभिन्न समितिहरू बनाउँदा उहाँ र मलगायतकालाई मनोरञ्जन समितिमा राख्ने गरिन्थ्यो ।’ नेपाली संगीतलाई माया गर्ने र सबैलाई रिझाउन सक्ने इमानदार व्यक्तित्वका रूपमा उनले थापालाई सम्झे ।

५० को दशकमा जागिरे जीवनको अवकाशपछि थापा पुनः सांगीतिक क्षेत्रमा सक्रिय भएका थिए । यसै क्रममा उनले ‘४० वर्षअघि र ४० वर्षपछि’, ‘मनको शान्ति’, ‘माया लुकाई लुक्दैन’, ‘म पतझड तिमी मधुमास’, ‘म मक्किएको धुरी खाँबो’ जस्ता एल्बम ल्याए । उनको आत्मवृत्तान्त ‘कर्मशील जीवनयात्रा’ गत वर्ष प्रकाशित भएको थियो ।

उनले ७३ वर्षको भएपछि भारतको इलाहावाद प्रयाग संगीत समितिबाट प्रथम श्रेणीमा प्रभाकर (बी म्युज) उत्तीर्ण गरेका थिए । ८४ औं जन्मोत्सवका अवसरमा पाँचौं एल्बम ‘म मक्किएको धुरी खाँबो’ सार्वजनिक गरेका थापालाई आफू मक्किँदै गएको आभास नै थिएन । गत वर्ष पाँचौं एल्बमकै कुराकानीमा क्रममा उनले निकै साहससाथ भनेका थिए, ‘शरीरमा सासले साथ दिएसम्म म गाइरहन्छु । म त ९१ वर्षमा पनि गीत गाउने र एल्बम निकाल्ने हो ।’ उनले लोचन भट्टराई, शर्मिला बर्देवा, अञ्जु पन्त, मिलन अमात्य, जुनु गौतम र भारतीय गायिका उषा मंगेशकरदेखि लगायतसँग युगल गीत गाएका छन् ।

अन्तिम पलसम्म पनि थापाले आफूलाई अत्यन्तै सक्रिय बनाएको गीतकार दिनेश अधिकारीले स्मरण गरे । ‘उहाँले ८५ औं जन्मदिनमा सार्वजनिक गर्ने तय गरिएको छैटौं एल्बमका लागि मलाई गीत लेखिदिन आग्रह गर्नुभएको थियो,’ अधिकारीले भने, ‘उहाँ अत्यन्तै ने ऊर्जाशील हुनुहुन्थो । संगीत क्षेत्रले एकजना अभिभावक गुमाएको छ ।’

प्रकाशित : मंसिर २३, २०७७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?