कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नाटकघर खुल्ने छैन छाँटकाँट

'परिस्थिति राम्रो भयो भने खोल्छौं । अवस्था झन गम्भीर छ । एक वर्षसम्म त गाह्रै पर्छ होला काम गर्नलाई । सामाजिक दूरी कायम गरेर नाटक मञ्चन गर्न भएन । सायद चैत–वैशाखसम्म पनि खोल्न सकिँदैन ।'
रीना मोक्तान

काठमाडौँ — २०७२ को भूकम्पमा काठमाडौंको कालिकास्थानमा रहेको सर्वनाम थियटर करिब १५ दिनका लागि बन्द भयो । त्यसैकारण थियटरका संस्थापक अशेष मल्लको लेखन तथा निर्देशनमा मञ्चन भइरहेको नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' रद्द गर्नुपर्‍यो । त्यसपछिको नाकाबन्दीमा पनि केही दिनका लागि अशेषले नाटकघर बन्द गरे । तर, कोरोनाका कारण पहिलो पटक लामो समय नाटकघर ठप्प भएको बताउँछन् नाटककार मल्ल ।

नाटकघर खुल्ने छैन छाँटकाँट

कोरोना महामारीले प्रतक्ष असर पारेको क्षेत्र मध्ये एक हो, मनोरञ्जन । ६ महिनादेखि ठप्प हुँदा यो क्षेत्र धराशायी बन्दै गएको छ । यो क्षेत्रको पुरानै रुप देख्न सामान्य अवस्था पर्खनुपर्छ । अहिले नै नाटकघर खुल्ने छाँटकाँट देखिँदैन । ३ महिने लकडाउन त्यसपछिका निषेधाज्ञामा विभिन्न क्षेत्रहरु खुले । लामो दूरीका यातायात सवारी साधन पनि सञ्चालनमा आए । तर मनोरञ्जन क्षेत्र खुल्ने/नखुल्ने अझै यकिन भइसकेको छैन ।

त्यसैले पनि अलमलमा पारेको बताउँछन् अशेष । 'सरकारले अझै भेला हुन दिएको छैन । के गर्ने अलमलमा छौं,' उनले भने ।

लकडाउन अगाडि सर्वनाममा २ वटा नाटक तयारी हुँदै थियो । तीन महिने कोर्स सकाएका १६ र १७ औं ब्याचका विद्यार्थीले नाटक तयार पार्दै थिए, कोरोनाले गर्दा त्यो रद्द भयो । नाटकघरले अप्रिलमा अन्तर्राष्ट्रिय फेस्टिभल गर्ने तयारी थियो । १५ देशको सहकार्यमा फेस्टिभल आयोजना गर्ने तयारीमा सुरु भइसकेको थियो । विभिन्न देशका संस्कृतिलाई लिएर नाटक तयार गर्ने अनि विश्वका विभिन्न ठाउँमा देखाउने उदेश्यसहित तयारी अगाडि बढ्यो । फ्रान्सले आयोजना गर्ने भनिएको फेस्टिभलका लागि जर्मनी, भारत र फ्रान्सबाट नाटककार नेपाल आइपुगेको केही दिनमै देशमा कोरोना प्रवेश भयो । त्यसपछि उनीहरु हतार गर्दै आफ्नो देश फर्के ।

कोरोनाकै कारण यो योजना पछाडि धकेलियो । अब सरकारले निषेधाज्ञा खोले पनि तत्काल नाटकघर नखोल्ने बताउँछन् मल्ल । भन्छन्, 'सरकारले भेला गर्न दिए पनि तत्काल थियटर खोल्दैनौं । जोखिम छ । पूरा खुल्ला नभएसम्म हामी खोल्दैनौं । निषेधाज्ञा खोले पनि हामी सचेत हुन जरुरी छ । त्यसैले मैले विद्यार्थीलाई घरमै सिर्जनात्मक क्रियाकलापमा संग्लग्न हुन उत्साह दिएको छु ।'

यसरी लामो समय नाटकघर ठप्प हुँदा धेरै कुरामा असर पारेको उनी बताउँछन् । तर, उनी यो विषम अवस्थामा पनि सकरात्मक हुनुपर्ने बताउँछन् । 'अहिले हाम्रा दर्शक भोकै छन् । यतिबेला नाटकघरले कस्तो सहयोग गर्नुपर्छ त्यतातिर सोच्दै छु । नाटकघर चलेन भनेर छाती पिट्न भएन नि । अब अवस्था सामान्य भएपछि नै गरौंला ।' उनले भने ।

अब केही दिनमै दृश्यांश (मोबाइलबाट सर्ट फिल्म बनाउने प्रतियोगिता) घोषणा गर्ने तयारीमा जुटेका छन् मल्ल ।

नाटकघर कथा घेरामा लकडाउनअघि जर्ज अर्वेलको 'एनिमल फार्म'मा नाटक बनाउने तयारी चल्दै थियो । नाटककार आकांक्षा कार्कीले उक्त कथालाई नेपालीमा रुपान्तरण गरेकी थिइन् । १५ जनाको कलाकार लिएर तयारी सुरु भइसकेको थियो । उनका अनुसार प्रप्स बनाउन ५० हजार खर्च भयो । तर कोरोनाले गर्दा तयारी सुरु नहुँदै उक्त नाटक बन्द गर्नु पर्‍यो । त्यसदिनदेखि उनको नाटक घर खुलेको छैन ।

नाटकघर खुलिहाले पनि अब यो नाटक गर्न सम्भव नभएको उनी बताउँछिन् । 'थिएटर खुली नै हाल्यो भने त्यो नाटक गर्न सम्भव छैन । किनकी खर्च धेरै छ त्यो नाटकको । त्यो अनुसारले दर्शक पनि नआउलान् । एकदम चलोस् भनेर त्यो नाटक बनाएका थियौं । थोरै खर्च भएको नाटक गर्न सकिएला तर ४/५ लाख खर्च लाग्ने नाटक गरेर जोखिम मोल्न गाह्रो छ,' उनले सुनाइन् ।

उनी अहिले नै नाटकघर खोल्ने मुडमा छैनन् । महामारीबीच उनलाई एउटा कुराले साह्रै पिराेल्यो । नाटकघरमा स्वयंसेवक भइर सहयोग गर्नेहरुलाई आर्थिक सहयोग गर्न नपाउँदा उनलाई अप्ठ्यारो अनुभव भयो । 'काम गरिरहेको बेला कति जनालाई आर्थिक सहयोग गर्न सकिन्थ्यो । त्यो नसक्दाखेरि कस्तो लाचार अनुभव हुँदो रहेछ । अरुलाई काम दिन सकिएन भन्नेजस्तो अनुभव भयो,' उनी सुनाउँछिन् ।

महामारीबीच कथा घेराले भर्चुअल सो सुरु गरेको छ । चार महिनादेखि यो सो जुममार्फत आयोजना भइरहेको छ । सोको नाम हो, शून्य घेरा । आकांक्षा नाटक खुल्न अझै १ वर्ष लाग्ने बताउँछिन् ।

त्यस्तै ३ पहिलो चरणको लकडाउनको अन्तिमतिर 'मण्डला' नाटकघरले ‘जुनकिरी घुम्ती रंगमञ्च बस’ लिएर सात प्रदेशमा टुर गर्ने योजना बनाइएको थियो । नाटकघरका टिमलाई लागेको थियो, अब अवस्था सामान्य हुन्छ । तर, सोचेजस्तो भएन । अवस्था बिग्रिँदै गएपछि यो कार्यक्रम पनि पछाडि धकेलिएको बताउँछिन् मण्डला नाटकघरकी अध्यक्ष सिर्जना सुब्बा ।

'सम्भव भएसम्म २/३ दिन यतै नाटक मञ्चन गरेर सात प्रदेशमा टुर जाने तयारी थियो । आन्तरिक तयारीहरु भइरहेको छ । तर परिस्थिति नहेरी केही भन्न सकिन्न,' उनले सुनाइन् ।

महामारीले गर्दा नाटक घरदेखि कलाकारलाई प्रत्यक्ष असर परेको बताउँछिन् सिर्जना । 'असर धेरै नै गर्‍यो । ऋणमा डुबेका छौं, भाडा तिर्नै पर्‍यो । योजनाहरु चौपट भयो । ५ वर्ष पछाडि धकेलियौं हामी । थियटरमा अहिले गाह्रो छ,' उनले समस्याहरु खुलाउँदै गइन्, 'घाटाको हिसाब त गरेर नै सकिन्न । घर भाडामा छुट पनि पाएको छैन । हामी कलाकार कामविहीन छौं ।'

आगामी वैशाखसम्म पनि नाटकघर खोल्ने अवस्था देख्दिनन् उनी । 'परिस्थिति राम्रो भयो भने खोल्छौं । अवस्था झन गम्भीर छ । एक वर्षसम्म त गाह्रै पर्छ होला काम गर्नलाई । सामाजिक दूरी कायम गरेर नाटक मञ्चन गर्न भएन । सायद चैत/वैशाखसम्म पनि खोल्न सकिँदैन,' उनले सुनाइन् ।

कोरोनाकै कारण कुञ्ज नाटकघरका अधिकांश कार्यक्रमलाई पनि असर गर्‍यो । क्रियटिभ राइटिङका कक्षाहरु बन्द छन् । वैशाखमा गर्ने भनिएको भरत नाट्यम पनि पछाडि धकेलियो । म्यानेजर राजु सिंखडा भन्छन्, 'सरकारले थिएटर खुल्न दिएको छैन । सरकारको नीति नियम अनुसार नै चलिरहेका छौं । उहाँहरुले खोल्ने नीति ल्याउनुहुन्छ भने हामी खोल्छौं ।'

प्रकाशित : आश्विन ३, २०७७ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?