१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कलाकृति बनायो, थन्क्यायो

लकडाउन र निषेधाज्ञाले घरैमा थुनिएका चित्रकारहरु अवस्था सहज हुने दिन पर्खिरहेका छन् । भन्छन्– ‘छोएर हेरेर परख गरिने कलाकृति भर्चुअल माध्यमबाट देखाउन–बेच्न जानिएन’
सुशीला तामा‌ङ

काठमाडौँ — चित्रकार भीम शर्माले विश्व पानी दिवसका अवसरमा ‘सेकेन्ड इन्टरनेसनल नेचर आर्ट फेस्टिभल’ शीर्षकमा झन्डै एक महिना अवधिको चित्रकला महोत्सवको योजना बनाएका थिए । हाल गैंडाकोटमा चित्र सिर्जना गर्दै आएका शर्माको उक्त महोत्सव चैत महिनाको दोस्रो हप्तापछि नै सुरु हुने योजना बने पनि लकडाउनले रोकियो ।

कलाकृति बनायो, थन्क्यायो

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चित्रकारहरू सहभागी हुने उक्त फेस्टिभलका लागि ३८ लाख रुपैयाँको हाराहारीमा लगानी अनुमान गरिएको थियो । फेस्टिभल नै रोकिएपछि सुर्खेत तथा काठमाडौंमा गरिने कला प्रदर्शनी तथा टीकापुर र बर्दियामा सुरु गर्ने योजना रहेको एक हप्ते चित्रकला कार्यशालासमेत अब कहिले हुने भन्ने अन्योल रहेको शर्माले सुनाए ।

कोरोना महाव्याधिले बितेका पाँच महिनायता अधिकांश चित्रकारहरूमा यस्तै अन्योल छ । बेला–बेलामा विभिन्न कलाकृतिहरूले सजिने ग्यालरीहरूको ढोका बन्द नै छन् । तथापि बन्दाबन्दीमा भौतिक दूरीलाई कायम गर्दै चित्रकारहरूले घरमै क्यानभासमा रङ पोतिरहेका छन् । कतिपयले वरपर उपलब्ध माटो, काठजस्ता वस्तुहरूमा कला सिर्जना गर्दै छन् । प्रत्यक्ष प्रदर्शनीको विकल्पका रूपमा सिर्जना भएका चित्रकारहरूको कलाकृतिलाई कला पारखीसम्म पुर्‍याउन चित्रकारहरूले भर्चुअल माध्यमलाई समेत आधार बनाउँदै अनलाइन प्रदर्शनीसमेत गरिरहेकै छन् । यद्यपि सिर्जना भएका कलाकृतिहरूको बिक्री भने ठप्प नै छ । कलाकृति बजारसम्म जाने वातावरण नभएपछि त्यसै थुप्रिएका छन् । यही स्थिति बढ्दै गएमा बनेका कलाकृति कता व्यवस्थापन गर्ने, चित्रकलालाई निरन्तरता कसरी दिने, रङ तथा क्यानभासजस्ता चाहिने सामग्रीको जोहो नै कसरी गर्ने भन्ने कुरामा चित्रकारहरूमा चिन्ता छ ।


अहिलेको अवस्थामा चित्रकला क्षेत्रलाई अगाडि बढाउन कठिन रहेको शर्मा बताउँछन् । बजार ठप्प रहेकाले सिर्जना मात्र गरेर थेग्ने अवस्था नरहेको उनको भनाइ छ । लकडाउनयता मात्र शर्माले अहिलेको समय, आम मानिसको भोगाइ, जीविकोपार्जनजस्ता पक्षलाई समेटेर ‘कोभिड–१९’ र ‘कर्म’ जस्ता सिरिजका लागि चित्रहरू बनाएका छन् । ग्यालरीहरू खोलेलगत्तै प्रदर्शनी गर्ने उनको योजना छ ।

ग्यालरीकै विकल्पका रूपमा अहिले अनलाइन प्रदर्शनीहरू भइरहेका छन् । ‘म्युजियम अफ नेपाली आर्ट (मोना)’, अन्तर्राष्ट्रिय जल रङ समाज नेपाल र क्लासिक आर्ट ग्यालरीलगायतले निरन्तर रूपमा भर्चुअल माध्यममा नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका चित्रकारहरूलाई समेटेर प्रदर्शनी गरिरहेका छन् । कलाकृति बिक्रीमा ठप्प भएको यो कठिन परिस्थितिमा यसले चित्रकारहरूलाई केही मात्रामा राहतसँगै कला प्रचारमा सहायता पुगे पनि बिक्रीमा खासै प्रभाव नपारेको चित्रकारहरूको दाबी छ ।

लामो समयदेखि मिथिला कला सिर्जनामा लागिपरेका लक्ष्मण मण्डल र सरिता मण्डल लकडाउनयता जम्मा भएका ५ सयको हारहारीमा रहेका कलाकृतिहरू हेरेर नै चित्त बुझाइरहेका छन् । मण्डल दम्पतीका अनुसार उक्त कलाकृतिलाई बिक्री मूल्यमा हेर्ने हो भने १० लाख रुपैयाँभन्दा माथि पर्न आउँछ । थिमि र ठमेलमा ‘मिथिला नारी हस्तकला सेन्टर’ नै सञ्चालन गरेर बसेका मण्डलले स्टुडियोको मासिक भाडा मात्र ६० हजार हाराहारी छ । बजार ठप्प भएसँगै अन्य चित्र सिर्जना गर्नै चित्रकारहरूलाई पनि उनले बोलाउन सकेका छैनन् । अहिले उनलाई स्टुडियोमा तिर्नुपर्ने भाडाको चिन्ता त छँदै छ, बजार खुलेपछि सामान्य अवस्थामा कसरी फर्कने भन्ने चिन्ता छ । अझ पनि उनी भोलिको आशा राख्दै सिर्जना गरी नै राखेका छन् ।


‘छोएर वा प्रत्यक्ष हेरेर मात्र चित्र बिक्री हुने हाम्रो बजारमा अनलाइन प्रदर्शनीको बानी परेको छैन,’ शर्मा भन्छन्, ‘यसले सिर्जना भएका कलालाई भने प्रचार र सास भरिदिने काम भने पक्कै गरेको छ ।’ चित्रकला सिर्जनामा नै रहेकी चित्रकार अरुणा हिङमाङ पनि शर्माकै विचारमा सहमत छिन् । विश्वमा धेरै समय अघिदेखि नै अभ्यासमा रहे पनि नेपालमा भर्चुअल माध्यमको प्रयोग भर्खरै भएकाले बजार विस्तार अहिले नै गर्न नसकिने उनको मत छ । भारतमा हुने एकल प्रदर्शनीका लागि सबै व्यवस्थापन गरिसकेकी उनी अब सामान्य अवस्थाको पर्खाइमा छिन् ।

कला क्षेत्रलाई मुख्य आधार बनाएर अघि बढेका कैयौं चित्रकारहरूलाई अहिले बजार बन्द हुँदा मानसिक दबाब उत्तिकै छ । लकडाउनयता घरपरिवारसँगै समय बिताउँदै चित्र बनाउँदै आएकी चित्रकार प्रमिला परियारले अचेल त्यति सिर्जनामा ध्यान दिन सकेकी छैनन् । उनी जस्तै अर्का चित्रकार प्रमिला वज्राचार्यको दिनचर्या पनि उस्तै छ । महिला फिगरलाई केन्द्रमा राखेर चित्र सिर्जना गर्ने वज्रचार्यले लकडाउन, स्वास्थ्य, डाक्टर, नर्स र मानवीय संवेदनाका पक्षलाई चित्रमा उतार्दै छिन् । बाहिरी वातावरणको प्रभाव मनमा परेपछि सिर्जनामा उस्तै छाप पर्ने उनको अनुभवले बताउँछ ।


त्यस्तै खुर्सानीलाई प्रकृति र मानव जीवनलाई बिम्ब बनाएर चित्रमा चित्रण गर्ने सरिता डंगोलले अहिलेकै अवस्थालाई चित्रमा उतारेकी छन् । बोत्तलभित्र कोचिएर पनि बाहिर आउन खोज्ने खुर्सानीका चित्र, वरपर बाह्य भागमा डोरीले बाँधिएको प्रतीकात्मक बिम्बमा अहिलेको मानिस र प्रकृतिको चित्रण आएको डंगोलले खुलाइन् । मानसिक प्रभाव सिर्जनामा आउने कुरा खुलाउँदै उनी भन्छिन्, ‘चित्रमा अरू नै पक्ष खुलाउँछु भन्दा पनि अहिलेको अवस्था आउने कुरा थाहा नै नहुने रहेछ । चित्र पूरा हुँदा आफूले भोगेको र देखेको कुरा देख्दा मात्र वातावरणको प्रभावको फिल हुँदो रहेछ ।’ सिर्जना गरेर मात्र अब के गर्ने विकल्प के त ?

ग्यालरीहरू खोलेर प्रत्यक्ष प्रदर्शनी गर्ने समय अब निश्चित छैन । ग्यालरीमा भर पर्नुभन्दा अब प्रविधितिरै जोड दिएर कलाको बजार प्रवर्द्धन गर्नुपर्ने चित्रकारहरू बताउँछन् । अनलाइनतिरै जोड दिएर कलालाई त्यतै विस्तार गर्ने हो भने बजार पाउने डंगोलले सोचेकी छन् । उनकै आफ्नै आर्ट ग्यालरी भए पनि अहिले विशेष गरी भर्चुअल माध्यमलाई प्राथमिकता दिएकी छन् । कलाकृति बिक्रीका लागि परम्परागतभन्दा केही भिन्न गर्न सकेमा बजार विस्तार गर्न सकिने उनको धारणा छ ।


कलाको सही मूल्यांकन भौतिक रूपमा नै भए पनि अहिलेको विकल्प प्रविधिलाई नै लिनुपर्ने चित्रकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यको भनाइ छ । सबै क्षेत्र ठप्प भएको अहिलेको परिस्थितिलाई सबैले स्वीकार गर्दै सिर्जनालाई निरन्तरता दिन उनको सुझाव छ ।

प्रकाशित : भाद्र २३, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?