२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रङको लक्ष्य

पुराना चित्रहरू सडकका धूलोले केही धुमिल हुँदै छन् भने नयाँ चित्रहरू थप्ने उनको प्रयास जारी छ । लामो लकडाउन र हाल जारी निषेधाज्ञामा पनि उनको कुची रोकिएको छैन ।
सुशीला तामा‌ङ

काठमाडौँ — जीवन र जगतका हर वस्तुमा रङ निहित छ । रङले सजिएका प्रकृतिका हरेक वस्तुमा खास अर्थ हुन्छ भन्ने मान्यता राख्छन् चित्रकारहरू । तिनै रंगीन चीजबिजमा जीवन्त आवाज खोज्दै छन्– चित्रकार लक्ष्मण श्रेष्ठ । कोरोनाले थलिएको काठमाडौंको मुहार र सुनसान बनेको सडकका भित्ताहरूमा अचेल रङले उत्साह थप्दै छन् ।

रङको लक्ष्य

मध्यबानेश्वरको बाटो भीमसेनगोलातर्फ थोरै अगाडि बढ्दा बायाँतर्फका भित्री सडकका भित्ताहरूमा श्रेष्ठले कोरेका चित्रहरू देखिन्छन् । पुराना चित्रहरू सडकका धूलोले केही धुमिल हुँदै छन् भने नयाँ चित्रहरू थप्ने उनको प्रयास जारी छ । लामो लकडाउन र हाल जारी निषेधाज्ञामा पनि उनको कुची रोकिएको छैन । खासमा चित्रकार श्रेष्ठलाई आगामी दुई वर्षभित्रमा भीमसेनगोलामा नै ‘इम्टी पकेट प्रोजेक्ट’ अन्तर्गत ‘खोज अभियान’ का लागि एक सय एक वटा भित्तेचित्रहरू बनाउनु छ । त्यसैका निम्ति उनी हरेक दिन उक्त स्थानका भित्ताहरूमा उनका कला सिर्जनाहरूले सजाइरहेका छन् । श्रेष्ठका अनुसार करिब दुई वर्षअघि सुरु भएको उनको प्रोजेक्टमा हालसम्ममा ३०/४० वटाको हाराहारीमा भित्तेचित्रहरू बनिसकेका छन् । लकडाउनयता मात्र उनले दुई दर्जनभन्दा बढी चित्रहरू कोरिसकेका छन् ।

समकालीन समाजको ऐनाका रूपमा चित्रकारहरूले दशकौंदेखि रङकै माध्यममा प्रकृति, पर्यावरण, मानव जनजीवन, संस्कृति, धर्म, सामाजिक, परम्परा, मानवीय संवेदनाका यावत् पक्षहरू खोतल्दै सशक्त सन्देश दिँदै आइरहेका छन् । चित्रकार र तिनका कला आम मानिस र राज्यको नजरमा अझै पर्न नसकेको विडम्बना छ । चित्र र चित्रकारहरूको संघर्षलाई समाजमा ल्याउन नै सडकमा आएको श्रेष्ठ बताउँछन् । ‘हामीले चित्रमा देखाउने समाज र मानवीय प्रवृत्तिलाई पहिले आम मानिसलाई बुझाउन जरुरी छ,’ उनी भन्छन्, ‘बन्द कोठाका ग्यालरी र प्रदर्शनी स्थलमा सीमित कलालाई खुला समाजमा ल्याउनु आजको आवश्यकता हो ।’ युवा पुस्ताले आफ्नो कला चिनाउने परम्परागत सोचलाई ब्रेक लगाउँदै नयाँ धारमा जानुपर्ने उनको मत छ । त्यसैले त उनी चित्रसँगै समाजका वृद्धदेखि बालक, साधुसन्तसम्मका जीवनलाई नियाल्दै त्यसलाई चित्रमा ढाल्दै छन् ।

त्यसो त भित्तेचित्र नौलो विधा भने होइन । मानव विकासको आदिम कालमा भाषा, लिपि र अन्य माध्यमहरूको विकासपूर्व विभिन्न गुफाका भित्ताहरूमा चित्रमार्फत नै मानिसले विचार आदानप्रदान गरेको इतिहासले बताउँछ । पछिल्लो समयमा भने नयाँ पुस्ताले पश्चिमा ग्राफिटी चित्रलाई पछ्याउँदै सूचनामूलक सन्देशसहित सडक र घरका भित्ताहरू रंगाउँदै आइरहेका छन् । चित्रकारहरूले यस्ताखाले चित्रहरू आफूखुसी सार्वजनिक खुला स्थान वा निजी घरका भित्ताहरूमा बनाइने गरिन्छ । चित्रकार श्रेष्ठ आफू बस्ने भीमसेनगोलाका स्थानीयलाई चित्रको महत्त्व बुझाएर नै भित्ता रंगाउँदै आएको सुनाउँछन् । उनले त्यही भित्तामा कोरेका चित्रहरूमा आफ्नो जीवनको खुसी र लक्ष्य देखेका छन् । ठूला–ठूला क्यानभासमा चित्र कोरेर उनलाई न कुनै प्रदर्शनी गर्नु छ, न त कुनै प्रतिस्पर्धा नै । चित्र बेचेर जीवन चलाउँला भन्ने पनि उनको सपना छैन । ‘रङको जोहो गरेर समाज, समय र सत्य कुरालाई चित्रमा देखाउने नै मेरो उद्देश्य हो । म सडकका प्रत्येक स्तरका मानिसलाई चित्रकला देखाउन चाहन्छु । मेरो सिर्जनाको कुनै आर्थिक मूल्य र ठूलो योजना छैन,’ उनी भन्छन् । सडकलाई साझा थलो मान्ने उनी जनतादेखि नेतासम्मको पहुँच रहने त्यसैमा रङ भर्न रुचाउँछन् । त्यसैले त उनले आफ्नै पुरानो थलो नेपालगन्जबाट नै सडकमै चित्र सुरु गरे । ‘सांसद भर्सेस जनता’, ‘भद्रगोल देशका व्यस्त नागरिक’, ‘म मस्त देश अस्तव्यस्त’ जस्ता उनका सिर्जनामा उनले राजनीतिक अवस्थाको चित्रणसँगै सचेतनाको काम गरे ।

राजधानीकै सडकका भित्ताहरूमा उनका ‘नालायक म’, ‘डेड सरकार’, ‘घण्टा सरकार’ सिरिजका चित्रहरूले तरंग नै पैदा गरेको थियो । महानगरपालिकाले ती चित्रहरूलाई मेटाइ नै दिएका थिए । कला विस्तारकै नाममा काठमाडौं बसाइमा उनले घाम, पानी, रात, दिनका हरेक अभावहरू भोगेका छन् । धनाढ्यदेखि सडकमा बस्ने आम मानिसको यथार्थलाई चित्रमा व्यक्त गरेको उनी बताउँछन् । ‘मेरो सिर्जना सरकारका लागि विरोध होइन,’ उनी खुलाउँछन्, ‘समाजमा जे छ, त्यही नै मैले प्रतिकात्मक रूपमा देखाएको मात्र हो ।’ उनका अनुसार सरकार भन्नेबित्तिकै शासन सत्ताको संकेत मात्र होइन । हामी स्वयं प्रत्येक मानिस आफ्नो शरीर र विचारका लागि सरकार हो । उनी भन्छन्, ‘समाज र जीवनलाई कता डोर्‍याउने भन्ने जिम्मा हामी आफैंमा छ । हाम्रो मन र इच्छाको शासक हामी हौं । आजको समय र सपना हाम्रै हातमा छ ।’

उनी सबैलाई आजको विषम समयलाई सकारात्मक रूपमा स्वीकार गर्न सुझाउँछन् । उनको त्यही भाव र सोच नै चित्रहरूमा देख्न सकिन्छ । भीमसेनगोलाकै भित्ताहरूमा उनले कोरेका गतिशील, घोडा, चरा, कमिला, सेता बाघका चित्रहरूमा पवित्र भावसँगै निरन्तर दौडेका उनका साहसहरू झल्कन्छन् । भित्तामै देखिने सिधा औंला, औंलाहरूबीचमा देखिने सुन्दर आँखाका चित्रहरूले समाजको नकारात्मक दृष्टि, दबाब र कठिन परिस्थितिमा पनि आफ्नो लक्ष्यको गन्तव्यतिर लाग्नुपर्ने सन्देश दिन्छन् ।

अहिले कला क्षेत्रमा दिग्गजहरूले नयाँ पुस्तामा गर्नुपर्ने समन्वय र सहकार्य नै उनी देख्दैनन् । नयाँ पुस्ताले दिग्गजहरूलाई सम्मान गर्दै कलालाई नयाँ आयाम दिन अग्रसर हुनुपर्ने उनी बताउँछन् । ‘चित्रकारहरूबीच नै एकले अरूको कामलाई प्रोत्साहन गर्ने परिपाटी छैन,’ उनी भन्छन्, ‘म आफैंले नै आफ्नो कामको मूल्यांकन गर्छु । कलालाई यदि साँच्चै नै नयाँ धारमा लैजाने हो भने नयाँ पुस्ताले जोखिम मोलेर भए पनि अगाडि बढ्नुपर्छ ।’

तीबाहेक उनले ‘जलाएकी म’ जस्ता चित्रमार्फत महिला हिंसाका पक्षलाई पनि उजागर गरेका छन् । ढुंगेधारा (हिटी), थोपा–थोपा चुहिएको धारामा सकसपूर्ण तरिकाले पानी पिइरहेको चराको चित्रमा उनले उपत्यकाका विलिन हुँदै गएका परम्परागत पानीका मुहान र बढ्दो खानेपानीको समस्यालाई औंल्याएका छन् । यसलाई सांकेतिक संकेत र खबरदारीका रूपमा लिन्छन् श्रेष्ठ । सुरुवाती चरणमा समूहमा काम गरे पनि हाल उनी एक्लै चित्र कोर्दै छन् । शिवकुमार शर्माले भने उनका प्रत्येक योजनालाई अक्षरमा ढाल्दै छन् । अभावका बाबजुद पनि पूर्ण सन्तुष्टिमा अघि बढेका उनका कला सिर्जना, कलालाई हेर्ने अहिलेको समाज र हालको कला जगत्जस्ता विविध पक्षलाई पुस्तकका रूपमा भावी पुस्तासमक्ष पुर्‍याउने उनको योजना छ ।

प्रकाशित : भाद्र २१, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?