१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

रुसमा उत्कृष्ट बन्यो ‘सहायक श्रीमान्’

काठमाडौँ — घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा पाइन्छ । चार वर्षअघि यही संस्कार खोतल्दै डकुमेन्ट्री निर्देशक गणेश पाण्डे कर्णालीको हुम्ला पुगे । कतै हिउँसित चिप्लिए, कतै स्थानीय जात्रा र पर्वहरूमा रम्दै बहुपति प्रथाका वास्तविक पात्रहरू खोजी गरे ।

रुसमा उत्कृष्ट बन्यो ‘सहायक श्रीमान्’

यसरी तयार पारिएको डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले शनिबार रुसमा सम्पन्न इन्टरनेसनल कान्स्क भिडियो फेस्टिभलको १९ औं संस्करणमा उत्कृष्ट बन्दा उनी बेहद खुसी भए ।

३५ मिनेटको यो डकुमेन्ट्री फिल्मले प्रथम पुरस्कारस्वरूप ग्रान्ड पिक्स अवार्ड पाएको हो । विभिन्न देशका फिल्महरू प्रतिस्पर्धामा रहेका यस महोत्सवमा बेलायतको फिल्म दोस्रो र पोर्चुगलको फिल्म तेस्रो भएको थियो । कोभिड–१९ को महामारीका कारण प्राय: चलचित्रकर्मीहरूले भर्चुअल रूपमै फेस्टिभलमा भाग लिएका थिए । आफ्नो फिल्म फेस्टिभलमै उत्कृष्ट भएको खबर आयोजकले दिएपछि ‘सहायक श्रीमान्’ का निर्देशक पाण्डेले काठमाडौंबाटै जुममार्फत अवार्ड समारोहलाई सम्बोधन गरे । ‘यो मेरा लागि मात्र नभई नेपाल र युवा चलचित्रकर्मीहरूका लागि ठूलो सम्मान हो,’ उनले भने ।

पाँच वर्षअघि महाभूकम्पमा परी रहस्यमय ढंगले बाँचेकाहरूमाथि ‘भाग्यले बाँचेकाहरू’ नामक डकुमेन्ट्री बनाएका पाण्डेको ‘सहायक श्रीमान्’ नयाँ डकुमेन्ट्री फिल्म हो । गत डिसेम्बरमा काठमान्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा रिलिज गरिएको यो डकुमेन्ट्री फिल्मले यसअघि नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा पनि उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल भएको थियो ।

‘बाहिरी दुनियाँका लागि बहुपति प्रथाको विषयवस्तु आफैंमा अनौठो हो,’ निर्देशक पाण्डेले भने, ‘फेरि मैले हतार नगरी झन्डै चार वर्ष अनुसन्धान र छायांकनपछि बनाएको हुँ । यो प्रथामाथि धेरै चर्चा/परिचर्चा भए पनि डकुमेन्ट्रीमा उतारिएको पहिलोपटक हो ।’

हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । डकुमेन्ट्रीमा उनले वास्तविक पात्रहरूको कथा व्यथासँगै हुम्लाको संस्कृति, तिब्बतसँगको भेडा र चौंरी आधारित व्यापार, पालैपालो पतिहरूलाई काममा लगाउने परम्परागत कृषि प्रणालीजस्ता रोचक विषयसमेत समेटेका छन् । साइन मिडिया प्रालिले निर्माण गरेको यो डकुमेन्ट्रीको लेखनसमेत निर्देशक पाण्डेले नै गरेका हुन् ।

प्रकाशित : भाद्र १५, २०७७ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?