कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पौभाका ती दिग्गज

नक्कल गरेर कलाकर्मीको मौलिक पहिचान बनाउन सकिन्न भन्ने मान्यता राख्ने उनले पौभालाई जीवन दिए, आफ्नो छाप बलियो पारे
सुशीला तामा‌ङ

काठमाडौँ — हो उमेर छँदै

उकाली चढ्दाचढ्दै

साहसी आँटले 

सगरमाथाझैं माथि

न थकाइले नै

न थच्यायो मलाई

न आरामै लिएँ

मेरो इच्छा नै चुचुरो...।

पौभाका ती दिग्गज

करिब दुई वर्षअघि यिनै भावसहितको ‘कोसिस’ शीर्षकको कवितामा चित्रकार प्रेममान चित्रकारले समय हुँदै मानिसले साहस लिएर आफ्नो गन्तव्यतिर लाग्नुपर्छ भन्ने भाव अभिव्यक्त गरेका थिए । त्यस्तै साहस उनले रंगमा देखाए, कुचीमा चलाए अनि अनेक भावभंगीसहितका चित्रमा उतारे । शब्द र चित्रमा निरन्तर रूपमा दौडिरहेका तिनै चित्रकारले ७८ वर्षको उमेरमा साउन ३२ गते आइतबार सधैंका निम्ति विश्राम लिए । तर नेपाली पौभा कलामा उनको सिर्जना, देन र उनकै छायामा हुर्किरहेका थुप्रै चित्रकारहरूका कलाहरू जुन जीवितै रहनेछन् ।

समयका अनगिन्ती वसन्तले मानिसलाई बुढ्यौलीतिर ढल्काएर ज्यान जीर्ण बनाउँदै लगे पनि मनको धैर्य र साहसलाई त कहाँ पो छुन सक्थ्यो र । समय, समाज र मानव जीवनका अनेकौं कालखण्डलाई रंगले सजाउने कलाको मूल्यांकन राज्यबाट हुन नसकेको अहिले पनि थुप्रै चित्रकारहरूको गुनासो सुनिन्छ । प्रेममानले कलाका लागि संघर्ष त्यतिबेलादेखि गरेका थिए, जतिबेला चित्रको मूल्य नै तीन रुपैयाँदेखि पाँच रुपैयाँसम्म पाइन्थ्यो । ल्यान्डस्केप, पोट्रेट चित्र, मूर्तिकलामा समेत सिपालु प्रेममानले विशेषतः पौभा चित्रकलालाई नयाँ उचाइमा पुर्‍याएको परम्परागत विधाका चित्रकलामा नै निरन्तरता दिइरहेका लोक चित्रकार स्विकार्छन् । ‘पौभाकला र प्रेममानलाई पर्यायका रूपमै लिँदा हुन्छ,’ उनी भन्छन्, ‘पौभा कलाको एक कालखण्डमा प्रेममानजीको योगदान सदैव रहनेछ । उनका अनुसार विगत झन्डै चार दशकदेखि पौभा कला विधामा प्रेममानका शैलीमा बनेका चित्रकलाहरू र उत्पादन भएका चित्रकारहरूको नै दबदबा छ ।

६/७ वर्षअघिदेखि चित्रकार प्रेममान शारीरिक रूपमा अस्वस्थ बन्दै गइरहेका थिए । श्वासप्रश्वासमा समस्या देखिएसँगै कहिले घर त कहिले अस्पतालका कोठामा रात बिताए । र पनि, उनका हातका औंलाहरू रोकिएनन् । रंग र कुचीमा खेल्ने उनका औंलाहरू अस्पतालको बेडमा पनि पेन्सिल रंग र कागजमा खेल्दै विभिन्न स्केचहरूमा रम्न थालेका थिए । जब रंगसँगै खेल्दाखेल्दै जीवनको रंग नै धुमिल हुँदै गएका थिए, तिनै भावहरूलाई फेरि उनी शब्दमा पोखिदिन्थे । जीवन र आशाबाट कहिल्यै नथाक्ने चलायमान र आफ्नै व्यक्तित्व पहिचानलाई खोज्ने अथक साधकका रूपमा प्रेममानलाई सम्झन्छन्, चित्रकार समुन्द्रमान सिंह । सिंहका लागि प्रेममान पौभा कलाका धरोहर र सिद्धहस्त चित्रकार मात्र होइनन्, उनलाई पौभा कलाको ज्ञान दिने गुरु, चित्रकलामा उत्प्रेरित गर्ने मार्गदर्शक र प्रेरक अभिभावक हुन् । सिंहले औपचारिक रूपमा पौभा कलाको ज्ञान प्रेममानबाट नै लिएका थिए । परिवारमा एक पुस्तापछि अर्को पुस्तामा मात्र हस्तान्तरण भएरहेको पौभा कलालाई चित्रकार मात्र नभएर अन्य समुदाय र जातिमा पुर्‍याउने श्रेय प्रेममानलाई नै दिन्छन् सिंह । औपचारिक कक्षा हुँदै सुरु भएको सिंहको पौभाकला सिकाइको यात्रा प्रेममानको मूल पुर्ख्यौली थलो काठमाडौंको भीमसेनस्थानमा रहेको घरमा पुगेको थियो । प्रेममानसँगको संगतमा सिंहले उनलाई नजिकबाट नियाल्ने मौका पाएका थिए । आफ्नो गुरुसँगै भएका कैयौं यादगार पलहरू उनको स्मरणमा ताजै छन् । सिंहले पहिलोपल्ट प्रेममानलाई भेट्दा उनी सानो सियोजस्तै ब्रसले गौतमबुद्धको जीवनीसँग सम्बन्धित मायादेवी, बुद्ध र बुद्ध हिँडेका सात पाइलाहरू कोर्दै थिए । प्रेममानले पहिलो भेटमा नै सिंहलाई सोधेका थिए,‘यो चित्र बनाउन कति समय लाग्यो होला ?’ उनले अकमकाउँदै ५/६ महिना लाग्छ होला भनेका थिए । लगत्तै प्रेममानले तीन दिनमा उक्त चित्र बनाएको सुनाउँदा उनी अचम्मित भएको सुनाए ।

पौभा चित्रकला विधालाई आधुनिक चित्रकलाको दाँजोमा कठिन नै मानिन्छ । हिन्दु तथा बौद्धधर्म शास्त्रका विभिन्न धर्मशास्त्रका नियमहरू, देवदेवीका रूप, रंग, भावलाई नबिगारीकन चित्रमा उतार्नुपर्ने हुन्छ । यी यावत् पक्षहरूलाई ध्यानमा राख्दै छिटो, सरल र एउटै देवदेवीमा उत्कृष्ट भाव उतार्न सक्ने चित्रकारका रूपमा सिंह प्रेममानलाई सम्झन्छन् । ‘सिंगल कम्पोजिसमा भावप्रदान चित्रहरू नै उहाँको मुख्य विशेषता हो,’ उनी भन्छन्, ‘उहाँका मसिना थुप्रै देवीदेवता र वस्तुहरूभन्दा पनि एउटै वस्तुमा ल्याउने सम्पूर्णता, फेसियल एक्सप्रेसन, शरीरको अलंकार, ठूला चित्रहरूले पौभा विधामा नै नयाँ आयाम थप्ने काम गरेको छ ।’

धर्तीमा एउटै नाम थुप्रै मानिसको हुन सक्छ । तर उसको गुण र काम भने फरक हुन सक्छ । मानिसले नाम होइन कामको पहिचानले अमर बन्न सक्छ भन्ने विचार प्रेममानमा रहेको सिंह स्मरण गर्छन् । कलामा कसैको दुरुस्त कपी गरेर पहिचान बनाउन सकिँदैन भन्ने मान्यता राख्ने प्रेममानले कलामा आफ्नै पहिचान स्थापित गरेको सिंह सुनाउँछन् । आफैं पनि कलालाई परम्परागत पक्षलाई नबिगारी आधुनिकतातर्फ लैजानुपर्छ भन्ने विचार बोक्ने प्रेममानले आफ्नै चेलाहरूलाई पनि आफ्नो शैलीको कपी नगरी आफ्नै सिर्जनात्मक कलातर्फ अभिप्रेरित गर्थे । कलालाई एउटा समूह, जात र समुदायभन्दा पनि राज्यको गहनाका रूपमा मूल्यको आस नगरी पुस्तान्तरण गर्नुपर्ने उनकै विचारलाई शिरोधार्य गर्दै आफू पौभा चित्रकारका रूपमा खडा हुन सकेको सिंह सुनाउँछन् ।

पछिल्लो समय नाकमा अक्सिजन मास्कसहित हरेक दिन उनले कोरेका चित्रहरू अहिले स्युचाटारस्थित घरका कोठामा छन् । कैयौं चित्रहरू पूर्ण छन् भने कतिपय चित्रहरूमा केही थप्न या नौलौ शैली आउन बाँकी नै छ कि भन्ने आभास प्रेममानका छोरा किचामानलाई हुन्छ । कागजका कोरेका शब्द र चित्रका अनेक रंग र भावमा उनी आफ्नो पिता देखेको सुनाउँछन् । उनी पिताको कला कति वटा र कति भनेर मूल्यांकन गर्नै नसकिने बताउँछन् । ‘जीवनका हरेक समयमा मैलै बुवालाई चुप लागेर बसैकै देखेको छैन । उहाँले जीवनका अन्तिम घडीका प्रत्येक समयलाई पनि कलामय र सिर्जनात्मक बनाएर जानुभो,’ उनी भन्छन् ।

जन्मपछि अन्तिम सत्य नै मृत्यु हो । मृत्यु नजिक आउँदा पनि गुरु प्रेममानले देखाएको ऊर्जाशील शक्ति र कलाप्रतिको मोहले सिर्जनामा अझै बल थपिएको सिंहको बुझाइ छ । प्रेममानको शरीर नरहे पनि पौभा कला रहेसम्म उनी अमर रहने सिंहको दाबी छ । उनको शैली र कलालाई अन्य पुस्तामा पुस्तान्तरण गर्ने उनले प्रण गरे ।

प्रकाशित : भाद्र ७, २०७७ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?