३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‘कलालाई जोडौं समुदायसित’

काठमाडौँ — राजधानीमा कलाकर्म गर्दै आएका चित्रकार कैलाश के श्रेष्ठ पाँच वर्षअघिको विनाशकारी भूकम्पसँगै दोलखास्थित आफ्नो गाउँ गैरीमुदी पुगे । त्यहाँ उनले ‘प्राण’ नामक सामुदायिक कला केन्द्र स्थापना गरे, कलामार्फत गाउँलेहरूलाई मनोपरामर्श उपलब्ध गराए ।

‘कलालाई जोडौं समुदायसित’

यतिबेला उनी सन् २०१० मा आफैंले स्थापना गरेको आर्टुडियोमार्फत समसामयिक कलाको प्रयोग, कला अभ्यास, पहल र दृश्यकला शिक्षालाई ग्रामीण तहका समुदाय, सार्वजनिक स्थल तथा आमदर्शकका बीचमा पुर्‍याउने काम गरिरहेका छन् ।

काठमाडौं विश्वविद्यालयबाट कला पढेका अर्का चित्रकार सुजन डंगोल विभिन्न स्थानमा भएका थुप्रै कला प्रदर्शनी, आवासीय कला कार्यशाला र सामुदायिक कला परियोजनाबारे अनुभवी छन् । काठमाडौंबाट विस्थापित मूलनिवासी र काठमाडौंका सहरी शरणार्थीहरूसँग सामुदायिक कलाकर्म गरिरहेका उनी कलाका माध्यमहरूलाई समुदाय र समाजसित अन्तरक्रियात्मक रूपमा जोड्नुपर्ने तर्क गर्छन् । हुन पनि सामान्यतः चित्रकार हुन् या मूर्तिकार, प्रायः एकान्तिक वातावरण रुचाउँछन् । समाजका पात्र, विषय, भूगोल या मनस्थितिलाई आफ्नो कलामा उर्ताछन् । समुदाय भित्रै पसेर उनीहरूको मनोदशालाई प्रत्यक्ष रूपमा अनुभव गरेर, उनीहरू स्वयंलाई सिर्जना प्रक्रियामा सामेल नगराउँदा समुदायबाट कलाको दूरी बढ्दै गइरहेको छ । यही निचोडका साथ गत बिहीबार तीन कलाकर्मीबीच संवाद आयोजना गरिएको थियो ।

‘समुदायमा कला : सहभागितामूलक अभ्यास र पर्यावरण’ भर्चुअल बहसमा उनीहरूले समुदाय आधारित कलाको अपरिहार्यतालाई बोध गरे । काठमाडौं विश्वविद्यालय केयू आर्ट एन्ड डिजाइन विभागका पूर्वविद्यार्थीको अल्मुनाई संस्था ओदानले गरेको बहसको सातौं शृंखलामा डंगोल र श्रेष्ठसँगै संगीतकर्मी राजन श्रेष्ठ पनि सहभागी भए ।

संवादमा डंगोलले स्थानीय कलालाई संरक्षण गर्नका लागि पनि सामुदायिक कलाको अभ्यास निकै प्रभावकारी रहेको बताए । उनले भने, ‘कलालाई अन्य वस्तु जसरी सहजै निर्माण गर्न सकिँदैन । सभ्यताको लामो अवधिदेखि सिक्दै, संवाद हुँदै विकास हुने हो । सम्पत्तिका रुपमा जगेर्ना गर्न नसक्दा समाज कलाविहीन बन्दै गइरहेको छ ।’ श्रेष्ठले चाहिँ कलाप्रति जागरण पैदा गराउन पनि सामुदायिक कलाको अवधारणाले काम गर्ने तर्क गरे ।

प्रकाशित : भाद्र ७, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?