तस्बिरबाटै संस्कृति साटासाट

लक्ष्मी लम्साल

बेइजिङ — आधा दर्जन नेपाली फोटोग्राफरहरूले खिचेका फोटोहरू नवौं चीन–दक्षिण एसिया अन्तर्राष्ट्रिय संस्कृति मञ्चमा सहभागी भएका छन् ।

तस्बिरबाटै संस्कृति साटासाट

यस वर्षको मध्य अगस्टदेखि डिसेम्बरसम्म चल्ने फोटो प्रदर्शनी वैदेशिक मित्रताका लागि चिनियाँ जनमैत्री संघ र युन्नान प्रान्त सरकारले आयोजना गरेका हुन् भने दक्षिण एसियाली संघसंस्थाहरूले फोटोको संयोजन गरेका हुन् ।

नेपालका तर्फबाट फोटोको संयोजन गरेको वर्ल्ड कल्चरनेटले हरिवंश किराँतसहित ६ जना फोटोग्राफरका सिर्जना चीन पुर्‍याएको हो । अनिशा न्यौपाने, असीम श्रेष्ठ, पुनम लिम्बू, रूजन रञ्जितकार र सन्नी बरेले खिचेका तस्बिरहरूमा नेपालको परम्परा तथा अमूर्त संस्कृति झल्काइएको छ ।

अमूर्त सांस्कृतिक सम्पदाको थिम बनाएर यस क्षेत्रमा ‘लेन्स’ चलाइरहेका अध्ययनकर्ता फोटोग्राफरका सिर्जना छनोट गरिएको वर्ल्ड कल्चरनेटका अध्यक्ष दीपक सरकारले बताए । ‘पहिला–पहिला स्थलगत फोटो प्रदर्शनी मात्रै गरे पनि यस पटक कोभिड महामारीका कारण अनलाइनबाट समेत अन्तरआयोजना गरिएको छ । यसको सबल पक्ष भनेको बढीभन्दा बढी दर्शकसमक्ष पुग्नेछ र नेपालको कला संस्कृति पर्यटनमा विश्वको ध्यानाकर्षण गर्नेछ ।’

चिनियाँ जनमैत्री संघ र युन्नान प्रान्तको जनसरकारले संयुक्त रूपमा गरेको यस पटकको फोटो प्रदर्शनीमाचीन र दक्षिण एसियाली मुलुकका ८५ जना फोटोग्राफरले खिचेका १ सय ११ वटा फोटोहरू प्रदर्शनीमा राखिएको छ । चीन र दक्षिण एसियाका विभिन्न मुलुकको प्राकृतिक दृश्य, रंगीविरंगी जीवन, रीतिरिवाज फोटोमा देख्न सकिनेछ ।

चिनियाँ जनमैत्री संघका प्रमुख लीन सुङ थ्येनले चीन र दक्षिण एसियाली मुलुकबीच हार्दिक मित्रता रहेको बताउँदै कोरोना महामारीका कारण एकता र सहकार्य आवश्यक परेको अवस्थामा नवौं चीन–दक्षिण एसिया अन्तर्राष्ट्रिय संस्कृति मञ्चले अझै नजिक्याउने बताए । उनले भने, ‘फोटो प्रदर्शनीका कार्यक्रमहरूले दक्षिण एसियाको सौन्दर्य र हार्दिकता झल्किनेछ, महामारीविरुद्ध लड्न देश–देशबीचको हातेमालोलाई अझै प्रेरित गर्नेछ ।’ प्रदर्शनीका लागि नेपाली फोटोहरू संकलन गरेर कल्चरनेटकी संयोजक बबिता रानाभाटले युन्नान सदरमुकाम खुन्मिङ पुर्‍याएकी थिइन् । प्रदर्शनीको फोटो प्रायोजन नेपालको कल्चरनेट र श्रीलंकाली संस्थाले गरेका हुन् ।

प्रकाशित : भाद्र ५, २०७७ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?