अभिनेत्रीमाथि आक्रमण किन ?

महिला कलाकारमाथि बेतुकमा ‘साइबर बुलिङ’ तर सहकर्मीबाटै पाउँदैनन् साथ
गोकर्ण गौतम

काठमाडौँ — प्राइम टेलिभिजनको एक कार्यक्रममा अभिनेत्री पूजा शर्मालाई सोधिन्छ– ‘नेपालमा कति प्रदेश छन् ?’ उनी अक्मकाएपछि अर्को प्रश्न राखिन्छ– ‘जिल्ला कति छन् ?’ पूजाका दुवै उत्तर गलत हुन्छ । यिनै अभिनेत्रीले एक युट्युब च्यानलको अन्तर्वार्तामा नेपालको आदिकवि ‘भानु पन्त’ भनेकी थिइन् ।

अभिनेत्रीमाथि आक्रमण किन ?

यत्ति भएपछि सामाजिक सञ्जालमा उनीमाथि ‘ट्रोल’ गर्न के चाहियो ? लामो समयसम्म पूजा हसिमजाक र व्यंग्यको पात्र बनिरहिन् । त्यो तनाव सेलाउन नपाउँदै एपीवान टेलिभिजनको ‘रजतपट’ कार्यक्रमका प्रस्तोताले उनलाई नै लक्षित गर्दै ‘महानायिका बनाइदिनुपर्ने, त्यो पनि दाह्रा निस्किएको अनुहारलाई...’ भनिदिए । पूजाले आफूमाथि ‘बडी सेमिङ’ र दुर्व्यवहार गरिएको भन्दै न्यायका लागि चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थामा धाइन्, उजुरी दिइन् । यो प्रकरणले फिल्मवृत्त र सामाजिक सञ्जालमा हलचल ल्यायो । झन्डै दुई सातापछि बिहीबार पूजा र प्रस्तोता प्रकाश सुवेदीबीच सम्झौता भएको छ, त्यसअगावै सुवेदीले माफी मागिसकेका थिए ।

पूजाले त आफूमाथि गालीगलौज हुँदा फिल्मका सहकर्मीबाट साथ पाइन् तर साम्राज्ञी राज्यलक्ष्मी शाह लगभग एक्लै भएकी थिइन् । साम्राज्ञीले एक फिल्मको सुटिङका क्रममा आफूमाथि यौन दुर्व्यवहार हुन खोजेको र त्यसबारे निर्देशकले मजाक गरेको भोगाइ सुनाउँदै करिब एक महिनाअगाडि इन्स्ट्राग्राममा भिडियो पोस्ट गरेकी थिइन् । उनले फिल्म र निर्देशकको नाम लिएकी थिइनन् तर लगत्तै उनको डेब्यु फिल्मका निर्देशक भुवन केसी उनीमाथि खनिए ।

विवाद बढ्दै गएपछि भुवन नजिकका फिल्मकर्मीले साम्राज्ञीलाई तथानाम भन्न थाले । प्रोडक्सन म्यानेजर गणेश सापकोटाले त ‘सुटिङका दौरान साम्राज्ञीलाई रक्सी र नशालु पदार्थ खुवाएको’ अन्तर्वार्ता नै दिए, यसलाई भुवन केसीले फेसबुकमा सेयर गरे । यत्तिले नपुगेर उल्टै १० करोडको क्षतिपूर्ति माग्दै भुवनले साम्राज्ञीविरुद्ध अदालतमा गालीबेइजतीको मुद्दा हाले । तर, पनि साम्राज्ञीले फिल्मवृत्तबाट अपेक्षाकृत साथ पाइनन्, न त सामाजिक सञ्जालमै उनका समर्थनमा पर्याप्त पोस्टहरू भए । दुई वर्षअगाडि ट्याटु खोपेका तस्बिरहरू सार्वजनिक हुँदा पनि साम्राज्ञीले सामाजिक सञ्जालमा चर्को गाली सहनुपरेको थियो ।

महिला कलाकारमाथि हुने ‘साइबर बुलिङ’ यतिमै सीमित छैन । राजेश हमाललाई महानायक मान्न अस्वीकार गरेकै कारण निर्देशक तथा कलाकार दीपाश्री निरौलामाथि सामाजिक सञ्जालका प्रयोगकर्ता जाइलागेको दुई महिना बित्दै छ । हमालका फ्यान भनिएकाहरूले दीपाश्रीको चरित्रहत्या हुने गरी अनेकौं पोस्ट गरे, ‘ट्रोल’ गरे । आफ्नो विचार राखेकै कारण उनी सामूहिक आक्रमणको सिकार भइन् । हमालले ‘माफी दिनू’ भनेपछि बल्ल उनका फ्यानहरू संयमित भए । यो घटनाले दीपाश्री मानसिक तनावमै फसेको खबरहरू बाहिरिए ।

फिल्मलाई ‘शो–बिज’ भन्ने गरिन्छ, फिल्म क्षेत्रमध्ये पनि हिरोइनहरूप्रति आममान्छेको चासो ज्यादा हुन्छ । के खाइन्, के लाइन्, कोसँग सम्बन्ध जोडिएको/तोडिएको छ, खुब ख्याल गर्ने गरेको पाइन्छ । कतिपयले यसैलाई सेलिब्रिटी हुनुको फाइदा वा परिणाम मान्छन्, रमाउँछन् पनि । तर, पछिल्लो समय सामाजिक सञ्जालमार्फत आफूमाथि गालीगलौज गर्ने प्रवृत्ति ह्वात्तै बढेको समकालीन अभिनेत्रीहरूले दुखेसो पोख्न थालेका छन् । नितान्त व्यक्तिगत जीवन, रोजाइ र सामान्य ढंगले आफ्नो विचार अभिव्यक्त गर्दा पनि हिरोइनमाथि निशाना साँध्ने र समाजको ठूलो तप्का यसमै रमाउने प्रवृत्ति बढेको छ । माथि उल्लेखित तीन हिरोइनको भोगाइले त्यही पुष्टि हुन्छ ।

अभिनेत्री वर्षा राउत यसमा हाम्रो हुर्काइ पद्धतिको दोष देख्छिन् । ‘सानैदेखि छोरी मान्छेमाथि अनेक बन्धन हुन्छन् । चुप बस्नुपर्छ, बाहिरफेर हिँड्नु हुन्न भनेर सिकाइन्छ । अहिले थोरै परिवर्तन भएको छ तर सोच उही छ,’ आक्रोशमय भावमा वर्षा भन्छिन्, ‘केटीका नाममा अनेक गाली र अपशब्द हुन्छन्, मान्छेहरू यसमै रमाउँछन् । अभिनेत्रीहरू यही सामाजिक सोच/व्यवहारको सिकार हुनुपरेको छ ।’

वर्षासँग ‘साइबर बुलिङ’ को दुई नमिठा भोगाइ छन् । बिहेलगत्तै गत वर्ष जेठमा ‘जात्रै जात्रा’ को प्रिमियरका लागि अस्ट्रेलिया पुगेकी थिइन्, प्रिमियर शोमा उनले लगाएको पहिरन एकाएक भाइरल भयो । उनले सेतो र कालो रंगको लामो गाउन लगाएकी थिइन् तर बिहेपछि ‘छाती शो गरेको’ भन्दै भद्दा मजाक गरियो । जबकि फेसन डिजाइनहरूले उनको पहिरन र लवाइमा कुनै भद्दापना नभएको बताएका थिए । तर, उनले लामो समयसम्म सामाजिक सञ्जालमा अपमानजनक शब्दहरू सामना गर्नुपर्‍यो ।

लकडाउनयता वर्षा फेरि विवादमा तानिइन् । नेपाल र भारतको सीमा विवाद चर्किरहेका बेला एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा वार्ताबाट समस्या सुल्झाउनुपर्ने माग गर्दै भनेकी थिइन्– ‘अब मेरा भारतीय साथीहरूसँग मैले कसरी फेस गर्ने अनि उनीहरूले मसँग कसरी फेस गर्ने भइरहेको छ ।’ विषयवस्तुको अध्ययन र शब्दचयनमा केहि कमजोरी देखिन्थ्यो तर यसकै निहुँमा उनीमाथि गालीको वर्षा भयो, दुर्व्यवहार र चरित्रहत्या भयो । ‘तेरो मुखमा एसिड फ्याँकिदिन्छु, ग्याङ रेप गरिदिन्छु भनेरसमेत धम्की आयो,’ भावुक हुँदै वर्षाले सुनाइन्, ‘एकदमै गाह्रो भयो, जबकि मेरो नियत गलत छँदै थिएन ।’ उनले माफी मागेपछि पनि गाली रोकिएको थिएन । मोटी भनेर आफूलाई ‘बडी सेमिङ’ हुने गरेको दुःखेसो पनि पोखिन् ।

बिहेलगत्तै पतिसँग अन्तर्वार्ता दिएपछि आँचल शर्मामाथि पनि सामाजिक सञ्जालमा ‘ट्रोल’ गरियो । उनको व्यक्तिगत जीवनमाथि अनेक असभ्य टीकाटिप्पणी भयो । नक्कली यौन भिडियो सार्वजनिक भएपछि प्रहरीकहाँ उजुरीसमेत गर्नुपर्‍यो । अर्की प्रतिभाशाली अभिनेत्री स्वस्तिमा खड्का पनि ‘साइबर बुलिङ’ बाट बच्न सकेकी छैनन् । अघिल्लो वर्ष एउटा फिल्मको प्रेस मिटमा उनले निकै शालीन ढंगले भनिन्, ‘पारिश्रमिक लिने कुरामा हामी कलाकार गर्व गर्छौं तर हामीले फिल्ममा कति योगदान दिएका छौं, त्यो पनि ख्याल गर्नुपर्छ ।’ कलाकारले चर्को पारिश्रमिक लिइरहेको खबरले फिल्मवृत्त तातेको समय थियो यो । केही अनलाइन मिडियाले स्वस्तिमाले अभिनेत्री पूजा शर्मालाई व्यंग्य गरेको भनेर समाचार बनाइदिए, त्यसपछि थेग्नै नसक्ने गरी गाली आयो ।

‘अत्ति भएपछि मैले प्रतिवाद गरें, त्यसपछि बुलिङ झन् बढ्यो । तर, मैले पनि नडराई बोलिरहे । सामाजिक सञ्जालमा आएका नकारात्मक कमेन्टलाई सक्दो बेवास्ता गरेँ,’ बुलबुलबाट राष्ट्रिय अवार्ड जितेकी यी अभिनेत्री भन्छिन्, ‘तर, मलाई आम मान्छेभन्दा मिडियासँग बढी चित्त दुखाइ छ । किनभने, विवादको बीउ मिडियाले नै रोपिदिने गर्छन् ।’ खासगरी अनलाइन मिडियाले जबर्जस्ती हिरोइनबीच ‘क्याट फाइट’ गराइदिने आरोप छ उनको । ‘हिरोइनको समाचारमा धेरै भ्युज बटुल्ने लोभ लुकेको हुन सक्छ । पुरुष कलाकार विवादमा आए भने छिट्टै सकिन्छ । कम गाली खानुपर्छ । तर हाम्रो सकारात्मक समाचार आए पनि चरित्रहत्या गर्ने खालका कमेन्ट गरिन्छ,’ सामाजिक सञ्जालमा सक्रिय स्वस्तिमा भन्छिन्, ‘ब्रेकअप र डिभोर्स भएका हिरोइनलाई त बिनाप्रसंग तुच्छ गाली गरिन्छ । पहिले मिडियाले अपव्याख्या गरेर समाचार दिन्छ, दर्शकले त्यसैमा टेकेर तथानाम गाली गर्छन् ।’

बिहेअगाडि प्रियंका कार्की ‘ब्याचलर्स पार्टी’ मनाउन साथीहरूसँगै बैंकक पुगेकी थिइन्, त्यहाँ उनी गएदेखि उनले लगाएको पहिरनसम्मलाई लिएर सामाजिक सञ्जालमा अनावश्यक प्रतिक्रिया पोखिए, ‘डिभोर्स गरेको मान्छेले कसरी ब्याचलर्स पार्टी मनाउन मिल्छ ?’ भन्ने आशयमा केही अनलाइन पोर्टलहरूमा समाचारसमेत बनाइयो, फेसबुक पेजहरूमा उनलाई उडाइएको ‘मिम’ हरू देखिए, जबकि यो उनको विल्कुल व्यक्तिगत रोजाइको कुरा थियो । कहिलेकाहीं फिल्मभित्रबाटै हिरोइनले आक्रमण सामना गर्नुपर्छ । दुई वर्ष अगाडि स्वस्तिमा, वर्षा, दीपाश्री, प्रियंका र दीपकराज गिरीको समूहले फेसबुकमा अभिनेत्री ऋचा शर्मामाथि रोष पोखेको थियो । कारण, उनले ‘छक्का–पञ्जा’ मा महिलापात्रको चरित्रकरणप्रति आलोचना गरेकी थिइन् । ‘छक्का–पञ्जा हेरिरहँदा मान्छेहरू हाँसिरहेका थिए तर त्यतिबेला मैले आफूलाई मूर्ख ठानें,’ भन्ने ऋचाको अभिव्यक्ति सार्वजनिक भएपछि उनीहरूले एकैसाथ ‘गेट वेल सुन’ लेखेका थिए ।

अभिनेत्री रेखा थापा सामाजिक सञ्जाल र मिडियाबाट आफूमाथि गलत तरिकाले हमला र दुर्व्यवहार हुँदा प्रतिवाद गर्नुपर्ने बताउँछिन् । ‘प्रविधिले मान्छेलाई गाली गर्न सहज माध्यम उपलब्ध गराइदिएको छ तर आफूमाथि दुर्व्यवहार भयो भने सहनुहुन्न । साइबर क्राइमको उजुरी गर्नुपर्छ,’ फिल्म निर्देशक र निर्माणमा पनि सक्रिय रेखा भन्छिन्, ‘तर, कलाकार भएपछि आलोचनाचाहिँ पचाउनुपर्छ । आलोचना, गाली वा दुव्यर्वहारको प्रकृति बुझेर अगाडि बढ्नुपर्छ ।’ उनले घरभित्रै छोरा र छोरीबीचको अन्तर नमेटिएसम्म सिने क्षेत्रसँगै समाज र राज्यका हरेक तहमा महिलाले विभेद र दुर्व्यवहार भोग्नुपर्ने बताइन् । ‘सिनेमा मात्र होइन, समाजमै महिलालाई शृंगारिक वस्तुकै रूपमा हेरिएको छ । जबसम्म हामी यसमै लालायित हुन्छौं, हामीमाथिको आक्रमण रोकिन्न । हामी पनि शृंगारको चौघेराभन्दा माथि उठ्नुपर्छ,’ राजनीतिमा समेत संक्रिय रेखाले भनिन् ।

मिल्दैन साथ

एकातिर हिरोइनमाथि सार्वजनिक रूपमा हुने दुर्व्यवहार र गालीगलौज बढिरहेको छ, अर्कातिर उनीहरूले फिल्मवृत्तबाटै साथ पाउँदैनन्, अझ पुरुष कलाकार त मौन बसिदिन्छन् । त्यसमाथि मान्छे हेरेर साथ दिने/नदिने प्रवृत्ति देखिन्छ । ताजा उदाहरण पूजा शर्मा र साम्राज्ञीको छ ।

‘रजतपट’ प्रकरणमा फिल्मकर्मी मात्र होइन, फिल्मसँग सम्बन्धित संघसंस्थाले प्रभावकारी प्रतिवाद गरे, पूजालाई आत्मबल बढाउन सक्रिय देखिए, जुन आवश्यक पनि थियो । तर, यही साथ साम्राज्ञीले पाएकी थिइनन्, जबकि उनको केस अझ गम्भीर थियो । यसले फिल्मभित्रै ‘सेलेक्टिभ एक्टिभिज्म’ हुनेगर्छ भन्ने देखायो । साथ नपाएको सम्बन्धमा साम्राज्ञीले कान्तिपुरसँग भनेकी थिइन्, ‘यहाँ खुट्टा तान्ने प्रवृत्ति ज्यादा हुँदो रहेछ । फेरि मेरो साथ दिँदा काम नपाउला भन्ने डरले पनि बोल्न गाह्रो भएको होला । सबैलाई डर होला । कतिपयले बोल्नुपरे पनि बोल्छु भन्नुभएको छ तर म किन बोल्न लगाउने ? यो मेरो लडाइँ हो । आफैं प्रतिवाद गर्छु ।’ सामाजिक सञ्जालमा ‘पूजाझैं साम्राज्ञीको पक्षमा किन आवाज उठाइएन ?’ भन्ने सवाल उठेपछि केही अभिनेत्रीले ‘फेस सेभिङ’ का लागि ढिलो गरी साम्राज्ञीको साथ दिएझैं गरेका थिए । छविराज ओझाले हातपात गरेको भन्दै प्रहरी कार्यालय पुगेका बेला पनि अभिनेत्री शिल्पा पोखरेलले बाहुल्य फिल्मकर्मीबाट सान्त्वनासमेत पाएकी थिइनन् । बरु उल्टै सम्पत्तिका लागि छविसँग बिहे गरेको भनेर उनलाई उडाइयो ।

वर्षाले आफूमाथि ‘बुलिङ’ हुँदा पुरुष सहकर्मीले साथ नदिएको तीतो अनुभव सुनाइन् । अभिनेताहरूलाई ‘बडी सेमिङ’ नहुने, अन्य खालका दुर्व्यवहार पनि असाध्यै कम हुने र आफूहरूलाई पर्दा उनीहरूले ढाडस नदिने उनको भनाई छ । ‘बरु केही निर्देशक र अभिनेत्रीहरूले ‘केही परे, हामी छौं, नआत्तिनू’ भन्नुभयो तर पुरुष सहकर्मीहरूबाट कुनै साथ पाइनँ,’ वर्षाले खिन्नता प्रकट गरिन् । अन्य अभिनेत्रीको भोगाइ पनि योभन्दा खास भिन्न हुन्न ।

अभिनेत्रीमाथि अन्याय हुँदा पुरुष कलाकारहरू मौन बस्ने प्रवृत्तिमाथि प्रश्न राख्दा अभिनेता दयाहाङ राईले कान्तिपुरसँग भनेका थिए– ‘लोकप्रिय भएपछि सुरक्षित अवतरण खोजिँदो रहेछ ।’

‘आत्मसमीक्षा पनि जरुरी’

सामाजिक सञ्जालमा अभिनेत्रीमाथि गाली बर्सिनुमा स्त्रीद्वेषी मानसिकताले त काम गरेकै छ, सँगै सार्वजनिक मञ्चमा प्रस्तुत हुने कलाकारको शैलीमा पनि कमजोर देखिने गर्छ यदाकदा । त्यसैले प्रस्तुति शैली, समाज अध्ययन र बुझाइमा पनि ध्यान दिनुपर्ने अभिनेत्री रेखा थापा बताउँछिन् । ‘महिला कलाकारलाई हेर्ने दृष्टिकोण अझ फराकिलो छैन । कलाकारको पनि व्यक्तिगत जीवन हुन्छ भनेर धेरैले बुझ्दैनन् । तथापि सार्वजनिक जीवन बिताएपछि आममान्छेको ध्यान तानिन्छ । हामीले बोल्ने, खाने, हिँड्ने तरिका मान्छेले नियालिरहेका हुन्छन्, त्यसैले सजग हुनुपर्छ,’ रेखा भन्छिन्, ‘तर, दुर्व्यवहार भयो भनेचाहिँ सहनुहुन्न, डटेर प्रतिवाद गर्नुपर्छ ।’

पुस्ता परिवर्तन हुँदा कलाकारमा सोहीअनुरूप बौद्धिक परिवर्तन नआएको रेखाको भनाइ छ । कति चाहिँ हिरोइन मात्र बनेर आत्मरतीमा रमाइरहेका हुन्छन्, सामाजिक घटनाक्रमबारे जानकार हुँदैनन्, तर हरेक विषयमा बोल्न खोज्छन् । ‘कुनै विषयमा बोल्नुपहिले प्रशस्त ज्ञान हुनुपर्छ,’ रेखा भन्छिन्, ‘समाजमा हामीले अर्कै दर्जामा राख्यौं कि, समाजकै प्रतिनिधित्व गर्न सकेनौं कि, दायित्व पूरा गरेनौं कि भनेर पनि समीक्षा गर्नैपर्छ ।’ रेखाको यो भनाइ नयाँ छिमलका अभिनेत्रीप्रति लक्षित छ ।

अभिनेत्री वर्षा भने सेलिब्रेटी भनिएकाहरूबाट पनि गल्ती हुने तर दर्शकहरूले त्यसलाई नबुझिदिने गुनासो गर्छिन् । यद्यपि उनले पनि सामाजिक सञ्जाल र मिडियामा प्रस्तुत हुने तरिकामा समस्या रहेको स्विकारिन् । भन्छिन्, ‘कलाकार भएपछि सबथोक आउनुपर्छ भन्ने छैन तर हामीले सार्वजनिक रूपमा प्रस्तुत हुने तरिका समीक्षा गर्नुपर्छ, सजग हुनुपर्छ ।’

तस्बिरहरु : महेश प्रधान

प्रकाशित : भाद्र ५, २०७७ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?