जब लाइभ म्युजिक बन्द भयो...

सन्जु पौडेल

तिलोत्तमा — हरेक साँझ ४ बजेपछि गितार लिएर क्याफे पुग्ने गरेका स्थानीय बसन श्रेष्ठ गत फागुनयता घरमै छन् । ‘राति १० बजेसम्म दर्शकको भीडमा गाउने दिन कहिले फिर्लान् ?,’ उनले भने, ‘समयको टुंगो नभएकाले चिन्तित छु ।’ बुटवलका विभिन्न रेस्टुरेन्टमा गरिने प्रस्तुतिले एकातिर मनोरञ्जन हुन्थ्यो अर्कोतर्फ आम्दानी भइरहेको थियो । 

जब लाइभ म्युजिक बन्द भयो...

साताको ६ दिन उनले जिल्लाका विभिन्न क्याफे तथा रेस्टुराँमा सांगीतिक प्रस्तुति दिने गरेका थिए । त्यो रोकिएपछि आर्थिक रूपमा समेत मार परेको उनले गुनासो गरे । ‘अहिले बेरोजगार भएर बस्नुपरेको छ,’ उनले भने । मासिक ४० हजार रुपैयाँ हाराहारी कमाउने गरेका थिए । कोरोनाले अन्य व्यवसाय पनि सञ्चालन नहुँदा समस्या परेको उनले बताए ।

लाइभ म्युजिक ब्यान्डस्को प्रतिनिधित्व गर्ने संस्था बुटवल रक्सका अध्यक्ष श्रेष्ठले आफूलगायत यहाँका कलाकारले आर्थिक अभाव झेल्नुपरेको बताए । अन्य केही काम नगरी यसैमा लागिपरेका आफूजस्ता कलाकारलाई कहिलेसम्म कोरोनाको असरले आयआर्जनको बाटो बन्द रहन्छ भन्ने टुंगो नहुँदा मानसिक समस्या हुन थालेको उनले सुनाए । रुपन्देहीको सांगीतिक क्षेत्रमा क्रियाशील श्रेष्ठ पछिल्लोपटक यहाँका सबैजसो क्याफे र जिल्लाबाहिरका क्याफेमा समेत गीत गाउने कलाकार हुन् । लाइभ प्रस्तुति हुने भनी बिहानै सामाजिक सञ्जालमा पोस्ट आएपछि अरू दिन नजाने व्यक्तिसमेत उक्त क्याफेमा पुग्ने, रमाउने गरेको अनुभव उनले सुनाए ।

कतिपय क्याफे बन्दाबन्दी खुकुलो भएपछि खुलेको भए पनि लाइभ म्युजिक नभएर मान्छे नै नआउने गरेको आफूले सुनेको उनले बताए । लाइभ गाउने कलाकार भएकाले उनले २ महिनाभन्दा बढी फेसबुक लाइभबाट प्रस्तुति जारी राखेका थिए । यो अवधिमा नयाँ कलाकारले प्रतिभा प्रस्फुटनसमेत गर्न पाएको भन्दै उनले अहिले घरमा बसेर गरिरहेको अभ्यासमा त्यो भीड, आवाज र ऊर्जा कम हुने गरेको जनाए । गायनसँगै साउन्ड सिस्टमको समेत काम गरिरहेका उनले फागुनबाटै काम पनि ठप्प हुँदा थप मारमा परेको गुनासो उनले गरे । यहाँ आयोजना हुने गरेका इभेन्टस्, ठूला कार्यक्रमसमेत बन्दा हुँदा श्रेष्ठले व्यवसाय चलाउन पाएका छैनन् ।

बुटवल–११, देवीनगरका सुजनकुमार मानन्धर लाइभ गायनमा सक्रिय अर्का प्रतिभा हुन् । विगत ४ वर्षदेखि लाइभ म्युजिक गरिरहेका उनीसँगै अन्य २ साथी पनि अघि बढिरहेका छन् । इम्पल्स ब्यान्ड गठन गरी सुजन र उनका साथीले जिल्ला र बाहिरका क्याफेमा सांगीतिक प्रभाव पारिरहेका थिए । तर, चैत महिनाबाट भएको लकडाउनले उनीहरूको यो यात्रालाई रोकिदियो । ‘रेगुलर सेड्युल नै बिग्रियो,’ सुजनले भने, ‘अब स्टेज चढ्नुअघि एक हप्ता टिमसँगै बिताउनु जरुरी हुन्छ ।’ बन्दाबन्दीको सुरुवातमा घरमै प्रशिक्षण गर्दा रमाइलो लाग्ने गरेको भए पनि यति लामो समय भइसक्दा समेत नखुलेपछि प्रशिक्षण गर्न जाँगर नचल्ने मानन्धरले बताए ।

मासिक २५ देखि ३५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेको पेसा रोकिएपछि आर्थिक रूपमा पनि समस्या परेको उनले सुनाए । संगीत साधनाले आनन्द मिल्ने र आफ्नो प्रतिभा देखाउन पाइने भएकाले पनि यसप्रति लगाव बढेको र यही यात्रामा अघि बढेको उनले सुनाए । हप्ताको ६ दिन नै यहाँका क्याफेमा गीत गाउँदै मनोरञ्जन प्रदान गर्ने गरेको दिनचर्या ठप्प हुँदा साँझको समय खेर गएको महसुस भएको उनको भनाइ छ । ‘दिनभरि अरू काम गरिने भए पनि साँझमा उही सांगीतिक माहोलको बानी परेकाले अहिले केही छुटेझैं लाग्छ,’ उनले भने, ‘त्यो स्टेज र फ्यानको साथ मिस भइरहेको छ ।’

सामाजिक सञ्जालमार्फत आफ्नो आवाज रुचाउने साथीभाइलाई गीत गाएर पठाइदिने, भिडियो कलबाटै सुनाएर पठाउने गरेको मानन्धरले बताए । फेसबुक लाइभमा पनि १५/१६ हजारले हेर्दा खुसी लाग्ने उनको भनाइ छ । मासमा रहेर गीत गाई साथी कमाउने माध्यम बनेको लाइभ म्युजिक नै गर्न नपाउँदा चिन्ता लागेको गायक विशाल आत्रेयले बताए । नाद ब्यान्डमार्फत क्याफे तथा रेस्टुराँमा गीत गाउने उनलाई भर्चुअल गायनले त्यति रमाइलो गराउन सकिन्छ जस्तो लाग्दैन । आफ्ना प्रशंसकले पनि पटकपटक कहिलेबाट हुन्छ स्टेज लाइभ र कहिले गाउनुहुन्छ भनेर सोधिरहने गरेको आत्रेयले बताए । फ्यानसँग जोड्न सामाजिक सञ्जाललाई प्रयोग गरिएको भए पनि उक्त माहोलको मज्जा बेग्लै रहने उनले बताए । बीचमा रेस्टुराँ खोल्न अनुमति पाउँदासमेत भीड हुने डरले लाइभ म्युजिक नभएपछि आफूहरू खुल्ने दिनको पर्खाइमा रहेको आत्रेयको भनाइ छ ।

जिल्लाका युवाको जमघट हुने प्रायः क्याफेमा हप्ताको २ दिन लाइभ म्युजिक बज्ने गर्थ्यो । तर, कोरोना महामारीले रेस्टुराँ धेरै समय खोल्न नपाएको र खुले पनि मानिसको भीड गराउन नपाउँदा यी कलाकार मारमा परेका हुन् । आम्दानीका हिसाबले मात्र नभई धेरै वर्षको मिहिनेतले कमाएका शुभेच्छुक बचाइराख्न जुन माध्यमबाट जोडिएका थिए, त्यही माध्यम उपयुक्त हुने कलाकारको भनाइ छ । केही क्याफेले खाजाका परिकारलाई जोड दिएर ग्राहक तानेका थिए भने केहीमा लाइभ म्युजिकलाई नै बढी महत्त्व दिइएको थियो । त्यस्ता क्याफेमा दिनभरि काम, व्यवसायमा तनाव झेलेका मानिस संगीतको आनन्दमा झुम्न आउने गर्थे ।

यस्ता क्याफे लाइभ म्युजिकबिना खुला गरिए पनि मानिसको आवागमन नहुने र ती धरासायी हुने डर रहेको लाइम एन्ड लेमनका सञ्चालक सागर पौड्यालले बताए । ‘लाइभ म्युजिक ग्राहक आकर्षणको महरूवपूर्ण माध्यम हो,’ उनले भने, ‘खानेकुरामा मात्र जोड दिने जमात त होटल तथा सामान्य रेस्टुराँमा पनि गइरहेका हुन्छन् ।’ युवापुस्ता र संगीतप्रेमी लक्षित क्याफेमा कोरोना महामारीले ठूलो असर पारेको उनको भनाइ छ । अन्य दिनभन्दा लाइभ म्युजिक भएको दिन मानिसको भीड बढ्ने र व्यवसायी पनि बढ्ने गरेको उनले बताए ।

प्रकाशित : भाद्र ३, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?