कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काम चलाऔं पोहोरकै गीतले

बढेनन् तीजका गीत सिर्जना, दोहोरिँदै महिला मुद्दादेखि ‘नो व्रत प्लिज’ सम्म
रीना मोक्तान

काठमाडौँ — कोरोना संक्रमणको त्रासले सबैलाई घरघर खुम्च्याउँदा यसपटक तीजका पोहोर जति धेरै नयाँ भाका बजारमा आएका छैनन् । धेरै जना भेला भएर नाचगान र खानपान गर्नै नमिल्ने अवस्थाको असर तीज गीत सिर्जनामा परेको प्रस्ट छ ।

काम चलाऔं पोहोरकै गीतले

यसपालि तीजको माहोल कस्तो होला ? लकडाउनबीच पनि तीजका सिर्जनामा बल गरिरहेका कलाकर्मीलाई यो प्रश्न राख्दा उनीहरूको एउटै जवाफ थियो, ‘यसपालि पोहोरकै गीतले काम चलाउनुपर्ला ।’

बर्सेनि तीजका लागि वैशाख र जेठमा गीत तयार पारिन्छन् । विस्तारै चर्चा पाउँदै ती गीतले तीजमा नाच्ने/नचाउनेलाई रिझाउँथ्यो, सिजनमै लकडाउनले घरभित्र थुनिएर बस्दा यो वर्ष तीजमा कमै गीत रेकर्ड हुने आँकलन उनीहरू गर्थे । १ सय २० दिनपछि अन्त्य भएको लकडाउनले यसपटकको तयारी प्रभावित रह्यो तैपनि गायक र गायिका जुटे । सानो समूहमा काम गर्न मिल्ने भएपछि कतिपयले तीज गीत हतारहतार रेकर्ड गराए । तर गीतहरूले बज्दै प्रचार पाउने अवधि साँघुरियो । यो वर्ष धेरै गीत रेकर्ड भएको बताउँछन् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बीजी । ‘यसपालि तीजको गीत रेकर्ड नहोला भन्ठानेको, तर राम्रै संख्यामा भएका छन् । पोहोरको अनुपातमा अझ स्तरीय छन् यसपालि,’ उनले भने, ‘यो असहज परिस्थितिमा पनि कलाकारले गीतमा धेरै लगानी गर्नुभयो ।’

यसपटक डेढ सय वटाका हाराहारीमा गीत रेकर्ड भएको उनले बताए । पोहोर ५ सय तीज गीत रेकर्ड भएको थियो । संकटबीच सयभन्दा बढी गीत रेकर्ड हुनु पोहोरको अनुपातमा धेरै भएको उनको तर्क छ । कुनै बेला तीजमा ५० भन्दा बढी गीत गाउने गायिका राधिका हमाल भन्छिन्, ‘यसपालि त नहोला/नहोला भन्दाभन्दै धेरै पो तीज गीत आए ।’

८० प्रतिशत द्विअर्थी

यसपालि रेकर्ड भएका तीज गीतमध्ये ८० प्रतिशत द्विअर्थी र उच्छृंखल छन् । ‘उत्तानो परें म मकैबारीमा,’ ‘साइँली रोयो उत्तानो परेर’ र ‘बोको’ जस्ता द्विअर्थी शीर्षकका गीतहरू

युट्युबमा भ्युज बढाउने सोचले सार्वजनिक भए । अध्यक्ष बीजी यसपालि तीजका मौलिक भाका समेटेका गीत भने कम सार्वजनिक भएको बताउँछन् । ‘तीजका नाम पारेर धेरै गीत आए । तर तीजकै गीत कम आए,’ उनले भने, ‘कति तीज गीतको शीर्षकमै आपत्ति भयो । अपाच्य शब्दहरू । व्यापार गर्न, भ्युज बढाउने सोचले गरिएका ती हर्कतहरूलाई प्रतिष्ठानद्वारा परिवर्तन गरायौं ।’

शीर्षक परिवर्तन नगर्नेलाई भने प्रतिष्ठानको न्यूनतम सेवासुविधाबाट बहिष्कार गरेको उनी बताउँछन् । त्यस्ता गीतलाई सिफारिस नै नदिएको उनको भनाइ छ । ‘जसरी केटाहरूले साडी लाएर गीतलाई रत्यौली बनाए । त्योचाहिँ तीजको नाममा अत्यन्तै दुःखदायी कुरा भयो । वास्तवमा ती गीत तीज गीत होइनन् । भ्युज बढाएर व्यापार गर्न खोज्नेहरूको काम हो,’ बीजीले भने, ‘वास्तवमा फ्यानहरूले कलाकारलाई कहाँ भेटौं, कहाँ देखौं भन्ने हुन्थ्यो पहिला । तर आज तीनै फ्यानले थुक्ने बेला आयो यस्तो हर्कत देखेर ।’ दर्शकलाई आकर्षित गर्न उच्छृंखल शब्द समेटिएका गीतले तीजको मौलिकतामा प्रहार गरेको उनी बताउँछन् । गत वर्ष गायक दुर्गेश थापाले ल्याएको ‘बीच बीचमा’ ले तीजमा तहल्कै पिट्यो । यसपालि उनैलाई

पछ्याउँदै दर्जनभन्दा बढी गीत सार्वजनिक भए । दुर्गेशकै शैली पछ्याउँदै ‘नाच्ने हो छेउछेउमा,’ ‘घरको छतमा,’ ‘हाम्रो तीजमा नआऊ बीचमा,’ ‘बारीको पाटामा’ र ‘सुन केटा हो’ जस्ता गीतहरू सार्वजनिक भए । यी गीतहरू मूलतः ‘बीच बीचमा’ को जवाफमा दिन बनेको देखिन्छ । यी गीतहरूमा गितार, ड्रमसेट अनि माइक छुटेका छैनन् । गायक प्रकाश सपूत तीजका गीतमा महिलाका पीडा, दुःख अनि खुसीका कुरा समेटिनुपर्ने बताउँछन् । तर, यी गीतहरूमा महिलाका पीडा कम तीजमा कहाँ नाच्ने भन्ने खालका कुरा समावेश छन् ।

कमै बने तीजका मौलिक गीत

यसपालि तीजका राम्रा गीत रेकर्ड नभएका होइनन् । २० प्रतिशत गीतले तीजको मौलिकता बोकेको पाइयो । गायिका शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने र हरिदेवी कोइरालालगायतले सार्वजनिक गरेका एकल गीतलाई यस्तै द्विअर्थी गीतले ओझेलमा पारिदियो । उनीहरूका गीतमा महिला पीडा, दुःख समेटिएका छन् ।

गायिका शर्मिलाले सार्वजनिक गरेको ‘जलुका’ बोलको गीतमा माइतीले तीजमा नबोलाएको पीर पोखिएको छ । माइती जाने बाटोको खोला बगेर तीजमा आमा भेट्न नपाएकी एक महिलाको पीडा समेट्ने गीत ल्याएकी छन्– गायिका लक्ष्मीले । ‘मै माग्थें बालापन’ बोलको गीतसँगै ‘झल्को माइतीको’ तीज गीत पनि दर्शकबीच ल्याएकी छन् उनले । गायिका हरिदेवी, शान्ति गुरुङ, दुर्गा गुरुङको ‘कस्ता दिन गए बरै’ गीतमा आफ्नो माइती गाउँको सम्झना गरिएको पाइन्छ । प्रतिष्ठानका अध्यक्ष बीजी यस किसिमको तीजका मौलिक गीत कमै बनेको स्विकार्छन् । ‘यस्ता गीतहरू राम्रा छन् । भाका पनि राम्रा । विषयवस्तु पनि तीजको छ ।

अरू गीतचाहिँ तीजको नाममा गरिएको बबन्डर मात्रै हुन्,’ उनले भने । गायिका राधिकाको आवाजमा सार्वजनिक भएको ‘दिदीभाइ’ बोलको गीतमा बजारमा आइरहेका तडकभडक पाराका भाकाभन्दा फरक स्वाद पाइन्छ । विदेशबाट आएको भाइ क्वारेन्टाइनमा बस्दा दिदीले भेट्न नपाउँदाको छटपटी यो गीतमा सुनिन्छ । गीतमा निर्मला सुवेदीको शब्द रचना छ । त्यस्तै, गायिका अञ्जु श्रेष्ठको ‘रंगियो तीजले’ बोलको तीज गीतमा माइती जान पाउँदाको उमंग समेटिएको छ । दर्जनभन्दा बढी तीज गीत रेकर्ड गराएकी गायिका हमाल तीजको मौलिक गीत बन्ने क्रम जारी रहेको बताउँछिन् । तर, द्विअर्थी शब्दका गीत तीजका मौलिक गीतमाथि हाबी भएको उनको तर्क छ ।

‘तीजको मौलिक गीत बन्न छोडेको छैन । लक्ष्मी न्यौपाने, हरिदेवी कोइरालाले तीजका गीतहरू ल्याउनुभएको छ,’ उनले भनिन्, ‘तर, त्यही हो नराम्रा गीत अहिले हाबी भएको छ । उहाँहरू युवा हुनुहुन्छ । उहाँहरूले मौलिक गीत गाउनुभएको भए पनि दर्शकले रुचाइदिनुहुन्थ्यो । तर त्यस्ता शीर्षकमा गीत रेकर्ड हुँदा दर्शकले त्यस्तै सुनिदिनुभएको हो ।’

गीतमा महिला मुद्दा

गायिका सोफिया थापाको ‘अबको तीज नो व्रत प्लिज’ बोलको गीतले त यो वर्ष बहस नै सिर्जना गर्‍यो । उनले आफ्नो गीतमार्फत गोडाको पानी खाने प्रचलन परिस्कृत गर्नुपर्ने खालका सन्देश राखेकी थिइन् । तीजमा हुने फजुल खर्चलाई ‘नो’ भन्दै गीत गाएपछि राष्ट्रिय सभा सदस्य गायिका कोमल वलीले सोफियाको गीत तीज–गीत नभएको अभिव्यक्ति दिइन् । सार्वजनिक भएको एक दिनमै धार्मिक संगठनको प्रहारमा पर्‍यो सोफियाको गीत । उनको गीतले धार्मिक आस्थालाई आघात पुर्‍याएको भन्दै हिन्दु संगठनका व्यक्तिले गीतलाई युट्युबबाट हटाएरै छाडे ।

गीत युट्युबबाट हटाएपछि गायिका वलीले भनेकी थिइन्, ‘गीत त किन हटाउनुपर्थ्यो र ? तीजसँग व्याख्या नगरेको भने भइहाल्यो । गीत हटाउनुपर्थ्योजस्तो मलाई लाग्दैन । गीत ब्यान्ड गर्नुपर्छजस्तो लाग्दैन ।’ उनले लोकतन्त्रमा जस्तो विषयमा गीत गाउन पाउने धारणा राखिन् । तर, सोफियाको अभिव्यक्ति स्वतन्त्रतामाथि भने धार्मिक संगठनले हस्तक्षेप गरे ।

‘नो’ भनेपछिका परिणाम भयानक रहेको सोफिया लेख्छिन्– ‘नो’ भन्न कठिन छ । ‘नो’ पछिका परिणाम पनि भयानक छन् । ‘यस’ भन्नुमा जुन सहजता छ ‘नो’ भन्नुमा छैन । आफू दबिएर पीडित भएर ‘यस’ भनिरहँदा आश्रय त पाइएला तर त्यसले गर्ने मानव जातिमाथिको दमन, मानव सार्वभौमिकतामाथिको अपमान र नयाँ पुस्ताको भविष्यमाथि अन्यायपूर्ण सम्झौता हुन जान्छ, जसको क्षतिपूर्ति कहिल्यै तिर्न सकिँदैन । ‘नो’ भन्दा स्वार्थ र नाफा कमाउने भीड आइलाग्न सक्छन्, जसले डर, धम्की र भौतिक कारबाहीको चेतावनी दिन्छन् । तर, स्वाधीनता, स्वाभिमान र स्वतन्त्रताको संरक्षण गर्न त्यो एउटा अर्थपूर्ण पाइला अवश्य बन्नेछ ।

चर्चाको शिखरमा रहेको ‘बदला बरिलै’ पनि तीज गीत हो । गायक प्रकाश सपूतको शब्दमा गायिका देवी घर्तीले गाएको यस गीतमा महिला हिंसाको विषय उठाइएको छ । बलात्कारका विषय उठाएको यो गीतको भिडियो पनि सशक्त छ । गायिका बन्ने सपना बोकेकी युवती कसरी बलात्कारको सिकार हुन्छिन् भन्ने देखाइएको छ । गीतमा युवतीको भूमिकामा देखिएकी छन्– अभिनेत्री केकी अधिकारी ।

यो गीतले धेरैलाई निर्मला पन्तको सम्झना गराएको पनि चर्चा छ । बलात्कारीसँग बदला लिएको देखाउने यो गीतमा कानुन पनि कति कमजोर छ भन्ने व्यंग्य गरिएको छ । ‘एउटा घटना भयो । कानुन त छ तर अझै प्रभावकारी भएको छैन भन्ने व्यंग्यात्मक चेतना पनि भिडियोले दिन खोजेको हो । त्यो खालको घटना घटाउने व्यक्तिलाई यो भिडियो हेरिहाल्यो भने हीनताबोध हुन्छ होला,’ प्रकाश भन्छन् ।

प्रकाशित : श्रावण ३०, २०७७ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?