त्रासलाई गीतको धक्का- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रासलाई गीतको धक्का

कोरोनासँग समाज डराएका बेला पोखरेली कलाकर्मी आस जगाउने सिर्जना पस्कँदै छन् ।
दीपक परियार

पोखरा — सुरक्षित तरिकाले थोरै भेला भए रेकर्डिङ स्टुडियो खोल्दा हुन्छ । बेलाबखत फाट्टफुट्ट अलि गतिलो मोबाइलमै भिडियो रेकर्ड गरिराख्दा फुर्सदमा सम्पादन गरे हुन्छ । कतै होर्डिङबोर्ड लगाउने र प्रचार गर्ने झन्झट पनि छैन ।

इन्टरनेटको बढ्दो प्रयोगबीच समाज कोरोना भाइरसको संक्रमणसँग सतर्क भइरहँदा पोखरेली कलाकर्मी हिम्मत बढाउन लागिपरेका छन् । लकडाउनमा पोखरेली कलाकारहरूले भने आफूलाई संगीत साधनामा व्यस्त बनाए ।

यही अवधिमा कोरोनासँग सम्बन्धित सन्देशमूलक गीतहरू पस्किए । केही कलाकारको यही अवधिमा पुनरागमन भयो ।

लकडाउनमा फुर्सदिलो थिए गायक सोभित बस्याल । ९ वर्षयता सांगीतिकभन्दा बेग्लै व्यावसायिक क्षेत्रमा व्यस्त थिए । सांगीतिक क्षेत्रमा फर्कने रहर भए पनि केही गर्न भ्याएका थिएनन् । लकडाउनको अवधि उनका लागि अवसर बन्यो । डामाडोल भएको व्यापार, व्यवसाय, भोकभोकै भएका मजदुरको अवस्था देखेपछि गीत रचे– ‘खुसी फर्काइदेऊ ।’ गीतमार्फत पुनः सांगीतिक क्षेत्रमा ‘कमब्याक’ गरे । उनकै संगीतमा तयार भएको गीतमा प्राप्ति तुलाचनले साथ दिइन् ।

कोरोनाले पारेको नकारात्मक असर एक दिन हटेर संसारमा फेरि पहिलेको जस्तै खुसी फर्किने आशा गीतमा गरिएको छ । ‘कोरोना महामारीबाट विश्व आक्रान्त भएका बेला सकारात्मक भावना दर्शकश्रोतालाई सञ्चार गर्न यो गीत तयार भयो,’ उनले भने । गीतको भिडियोमा पोखराका सञ्चार तथा कलाकारिता क्षेत्रमा आबद्ध २५ जनालाई देख्न पाइन्छ । ‘मार्केट’ र ‘पाप’ चलचित्रमा अभिनयसमेत गरेका उनले २० म्युजिक भिडियोको निर्देशन पनि गरेका छन् ।

लकडाउनमै सञ्चारकर्मी सञ्जोक बस्याल र गायक विनोद बानियाँ ‘जित्छौं हामी...’ भन्दै आए ।

बस्यालको शब्द, बानियाँको स्वर र संगीतमा तयार भएको गीतमा कोरोनाले सिर्जना गरेको विषम परिस्थितिलाई जित्ने आशा गरिएको छ । ‘भूकम्प, नाकाबन्दी जितेर आउँदा नेपालीको स्वाभिमान डगमगाएन,’ गायक बानियाँले भने, ‘कोरोनालाई जित्न मनोबल उच्च राख्नुपर्छ भन्ने भाव गीतमा छ ।’

गीतको भिडियोमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद कोमल वली, कवि तीर्थ श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ, अनुप बराल, दिया मास्के, राजबल्लभ कोइराला, कवि सरस्वती प्रतीक्षा, फुटबल खेलाडी अनील गुरुङ, भलिबल खेलाडी सिपोरा गुरुङको अभिनय छ ।

गायक तथा संगीतकार जीवन सुनार लामो समयको अन्तरालमा कोरोना गीत लिएर झुल्किए । उनले ‘बिन्ती सुनिदेउन...’ गीतको भिडियो सार्वजनिक गरे ।

कोरोना महामारीपछि गरिएको लकडाउनले समाजमा परेको प्रभावलाई एक पात्रमार्फत भिडियोमा देखाउन खोजिएको छ । भिडियोमा भरियाका रूपमा कलाकार प्रकाश घिमिरेको जीवन्त अभिनय छ । नेत्र गुरुङले म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।

गायिका तुलसा क्षेत्रीले लकडाउनमै ‘कोरोनाले बिचल्ली बनायो...’ बोलको गीत सार्वजनिक गरिन् । सुमन श्रापितको रचनामा तयार भएको गीतमा समाजले भोग्नुपरेको आर्थिकदेखि अन्य संकटको विषयवस्तु समेटिएका छन् । सुमन श्रापितकै रचना, सन्तोष बस्याल र प्राप्ति तुलाचनको स्वर र मनोज विक ‘भावुक’को संगीतमा ‘कोरोनासँग युद्ध...’ बोलको गीत पनि लकडाउनकै अवधिमा सार्वजनिक भएको थियो ।

पोखराका आधा दर्जन कलाकारको आवाजमा ‘कोरोनालाई जितौं’ गीत लकडाउनकै अवधिमा सार्वजनिक भयो ।

गीतमा सविना सुनाम, रितु लामा, विक्रम बराल, मुस्कान रानाभाट, मिलन गुरुङ र ममता गुरुङको आवाज छ । विश्वराज रसाइलीको शब्द रहेको गीतमा सुभाष गुरुङको संगीत छ ।

‘झ्याम्म झ्याम्म’ बाट चर्चित पप ब्यान्ड डिमर्चाले ‘रोगले भन्दा भोकले मरिएला कि कसो साथी’ बोलको गीतको म्युजिक भिडियो तयार गर्‍यो । कोरोनाका कारण भएको लकडाउन र समाजमा उत्पन्न अवस्थालाई गीतमार्फत चित्रण गर्न खोजिएको ब्यान्डका गायक भाष्करध्वज श्रेष्ठ बताउँछन् । गीतले श्रमिकको कथालाई उठान गर्दै पीडादायी दिनको अन्त्य छिट्टै हुने भएकाले निराश नहुन आग्रह गरेको छ । भिडियोको निर्देशक सन्जय मल्लले लकडाउनका कारण सबैभन्दा पीडित बनेका मजदुर र विपन्न परिवारको कथालाई उन्ने प्रयास गरेको बताए ।

कोरोनासँग सम्बन्धितबाहेकका गीत तथा म्युजिक भिडियो पनि पोखरेली कलाकारले लकडाउनको अवधिमा सार्वजनिक गरे । गायक विनोद बानियाँले आधुनिक गीत ‘मान्छे...’ लकडाउनमै सार्वजनिक गरे । उनी आफ्नै स्वर, संगीत र शब्दमा ‘शंका’ बोलको गीत सार्वजनिक गर्ने तयारीमा छन् । निर्देशक तथा गायक नेत्र गुरुङले ‘म तिम्रै हुँ माया’ बोलको गीत तथा भिडियो ल्याए ।

नेपाल आइडल तेस्रो संस्करणमा पोखरा प्रतिनिधित्व गर्दै उत्कृष्ट ९ मा पर्न सफल गायिका ममता गुरुङको आवाजमा ‘फेरि भेट नहोला’ गीत सार्वजनिक भयो । गायक सन्तोष कोन्मे एक दशकपछि ‘बिन्ती..’ बोलको गीतका साथ कमब्याक गरे । डिमर्चाले नै राजनीतिप्रति व्यंग्य गर्दै अर्को गीत सार्वजनिक गर्‍यो । गायिका सविना सुनामले हालै आधुनिक गीत ‘एकै जुनी..’ लिएर आइन् । विश्वराज रसाइलीको शब्द र मनोज विक ‘भावुक’ को संगीतमा गीत तयार भएको हो ।

प्रकाशित : श्रावण २८, २०७७ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

उदयश्रीलाई जिग्मे मेमोरियल कप

घनश्याम खड्का

म्याग्दी — उपल्लो मुस्ताङको लोमन्थाङमा सम्पन्न दोस्रो ‘छ्योग्याल जिग्मे मेमोरियल’ फुटबल र भलिबल प्रतियोगिताको दुवै कप उदयश्री युथ क्लबले जितेको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घिलिङको उदयश्रीले स्नोल्यान्ड युवा क्लब फुर्वालाई पराजित गरी ट्रफी उचालेको हो । निर्धारित ९० मिनेटमा गोलरहित बराबरीपछि अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि उदयश्रीले टाइब्रेकरमा ८–६ गोलले हराएर ७५ हजार रुपैयाँसहित कप, पदक र प्रमाणपत्र जितेको हो । स्नोल्यान्डले ५० हजार रुपैयाँसहित दोस्रो स्थान हात पार्‍यो ।

जनैपूर्णिमा (यार्तोङ चाड) को अवसरमा ४ हजार ५० मिटर उचाइको लोमन्थाङ गाउँपालिका–३ थिंकर गाउँमा माउन्टेन पासाङ युवा क्लबको आयोजना गरेको प्रतियोगितामा लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाभित्रका १४ युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो ।

‘यो वर्षको फुटबल प्रतियोगिता विगतभन्दा बढी रोमाञ्चक रह्यो । लकडाउनले गर्दा सहरका सबै स्कुल कलेज बन्द भएकाले युवा विद्यार्थी गाउँमै रहेको हुँदा प्रतियोगिता बढी परिस्कृत रह्यो,’ आयोजक क्लबका कप्तान ढेण्डुक छिरिङ गुरुङले भने, ‘प्रतियोगिताको आर्कषण बढाउन प्रतिस्पर्धी टिमले दर्शकलाई आकर्षित गर्न खाना र खाजाको व्यवस्थासमेत गरेका थिए ।’

त्यस्तै भलिबल प्रतियोगितातर्फ पनि उदयश्री युथ क्लबले नै विजेता बन्यो । सोही गाउँपालिकाको चराङलाई पाँचौं सेटमा ३–२ सेटले पराजित गरी कप हात पारेको हो ।

उदयश्रीले ५० हजार र चराङ युवा क्लबले २५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा विजयी खेलाडीलाई जिल्ला समन्वय प्रमुख छिरिङ ल्हामो गुरुङले नगद, कप, पदक र प्रमाणपत्र प्रदान गरिन् । पुरस्कार वितरण कार्याक्रममा ‘छ्योग्यल जिग्मे फाउन्डेसन’ का पदाधिकारीसमेत रहेका लोमन्थाङका अध्यक्ष सुवर्ण विष्ट र लोघेकर दामोदरकुण्डका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट सहभागी भए ।

‘कोरोना महामारीको बीचमा पनि संक्रमणमुक्त क्षेत्र भएकाले हामीले उपल्लो मुस्ताङको प्रतिष्ठित फुटबल र भलिबल प्रतियोगिता सम्पन्न गराएका छौं,’ आयोजक क्लबका सचिव म्युच्योर गुरुङले भने ।

परम्परादेखि नै घोडादौड र सांस्कृतिक मेला लगाउने गरिएकोमा १४ वर्षदेखि उपल्लो मुस्ताङका घिलिङ, घमी, ढाकमार, चराङ, मराङ, धी, सुर्खाङ, घारा, ताडग्या, ध्ये, लोमन्थाङ, नेन्योल, छोस्यार, न्याम्डो, किम्लिङ, थिंकर, फुवा, नाम्ग्याल समेतका गाँउमा पालैपालो फुटबल र भलिबल खेल समावेश गरी प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

पछिल्लो दुई वर्षदेखि लोमन्थाङका अन्तिम राजा जिग्मे परवल विष्टको सम्झनामा छ्योग्याल जिग्मे मेमोरियल खेल प्रतियोगिता नामकरण गरिएको हो ।

प्रकाशित : श्रावण २८, २०७७ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×