कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लकडाउनमा कोरोना-कला

सर्जक भन्छन्, 'लकडाउनले घरभित्र थुनिएको अनुभूति भएको छैन । शान्त र मनोरम वातावरणले कला र सिर्जना खुलेको छ ।'
अमृता अनमोल

बुटवल — कोरोना भाइरसको सन्त्रास र लकडाउनले विश्व ठप्प छ । तर, सर्जकहरुले यसलाई अवसरको रुपमा लिएर सिर्जना गरिरहेका छन् । चित्रकार विक्रम तरामु मगरले लकडाउबीचमा निकै चित्र र मूर्ति बनाए । ‘लकडाउनले घरभित्र थुनिएको अनुभूति नै छैन,’ उनले भने, ‘शान्त र मनोरम वातावरण छ । निरन्तर कला र सिर्जना खुलेको छ ।’ 

लकडाउनमा कोरोना-कला

दुई महिनाबीचमा उनले ३० वटा चित्र कोरे । कोरोना सन्त्रास, ठप्प विश्व, कोरोना रोकथामका लागि सुरक्षा लगायतका सचेतनामूलक चित्र त्यसमा छन् । यसबाहेक आमाको माया, आफूले पढेको स्कुल, गाउँको शान्त दृश्य, वातावरण संरक्षण लगायतका सन्देशलाई उनले चित्रमा उतारेका छन् । ‘मूर्त र अमूर्त दुवै शैलीका चित्र बनाएको छु,’ उनले भने, ‘लकडाउनमा प्रेमभाव र रोमाञ्चक बनाउने चित्र र चेतना जगाउने दुवै चित्र कोरेँ ।’ गुल्मीका विक्रम केही वर्षयता रुपन्देहीमा चित्रकला र मूर्तिकलामा रमाएका छन् ।

चित्र बनाउँदै हरि थापा र उनले बनाएको स्वयम्भू र दियो सहितको मास्क ।

लकडाउनले घरभित्रै खुम्चँदा पनि रुपन्देहीका हरि थापा पनि चित्रकलामै रमाए । कोरोना सन्त्रासबाट बच्न अहिले मास्क अनिवार्य गरिएको छ । त्यही मास्कमा उनले स्वयम्भू र शान्ति दीप समेटेका छन् । बुद्धभूमिमा कोरोना संक्रमण रोक्ने सन्देशका लागि यसो गरेको उनले बताए ।

चित्र बनाउँदै सुमित्रा राना र उनले बनाएका चरा ।

सुमित्रा राना रुपन्देहीकी अर्की चित्रकार हुन् । ‘कलामा रमाउनेलाई लकडाउनले काम खोसिए जस्तो लाग्दैन । आफैमा रमाएकी छु,’ उनले भनिन् । सुमित्राले यसबीच प्रकृति प्रदूषित भएको, द्वन्द्वले समाज विखण्डन भएको, सामाजिक भेदभावले वर्गीय शोषण भएको र प्राकृतिक प्रकोपले मानवीय बस्ती उजाडिएको चित्र बनाएकी छन् ।

चित्र बनाउदै जिया थापा र उनले बनाएकाे चित्र ।

लकडाउनलाई राम्रोसित सदुपयोग गर्नेमा जिया थापा पनि अगाडि छन् । उनले यस समयमा धेरै प्रकृति र प्रेमलाई चित्रमा उतारिन् । फूल, चरा, जंगल, नदी, पहाड, हिमाल र तिनको स्वच्छतालाई चित्रमा उतारिन् । प्रेमरस जनाउने फूल, लालीगुराँस र युगल जोडीलाई पनि उनले चित्रमा ढालेकी छन् । ‘अरुबेला घर व्यवसाय बढी व्यस्त भइन्थ्यो,’ उनले भनिन्, ‘लकडाउनले बाहिरी सम्बन्ध टुटेपछि मजाले कला खुलेको छ । समय दिन सकिएको छ ।’

विक्रम तरामु मगर र उनका ढुंगेचित्रहरु । (तल)

प्रकाशित : जेष्ठ २१, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?