रंगमञ्चमा ‘कालो पर्दा’

रंगकर्मीको साझा दुखेसो : ‘पहिले नाटक गरेर आम्दानी गर्न सकिन्न्थ्यो, अब नाटक नै गर्न नसकिने भयो’
गोकर्ण गौतम

काठमाडौँ — रंगमञ्चमा पर्दा खुल्न र बन्द हुनु स्वाभाविक हो । पर्दा खुल्दा र बन्द हुँदा पात्रहरु चलायमान हुन्थे । ती पात्रहरुको गतिमा उनीहरुको आम्दानी पनि जोडिएको थियो । कोरोना भाइरसको त्रासले यतिबेला रंगमञ्चमा कालो पर्दा खसेको छ । पात्रहरु पनि चलायमान छैनन् अर्थात् लकडाउनमा छन् । रंगमञ्चको आम्दानी पनि ‘लक्ड’ छ ।

रंगमञ्चमा ‘कालो पर्दा’

शैली नाट्य समूह स्थापना भयो, २०६४ सालमा । आफ्नै नाटकघर खोल्ने सपना साकार पार्न समूहका सदस्यले ११ वर्ष संघर्ष गर्नुपर्‍यो । मंसिर २०७५ मा रातोपुलमा नाटकघर खोल्न सफल भए । तर, नयाँ ठाउँमा नयाँ नाटकघर भएकाले दर्शक तान्नै धौ–धौ । तैपनि नियमित नाटक गरिरहे । बल्ल दर्शक बाक्लिँदै थिए, त्यहीबेला कोरोनाको कहर सुरु भयो । नयाँ नाटकको रिहर्सल बिचैमा रोक्नुपर्‍यो । आफ्नै नाटकघरमा सिर्जनशील कर्म गर्न आतुर समूहका सदस्यको उत्साह निराशामा बदलिएको छ । बिजुली, पानी, नाटकघरको भाडा, कर्मचारीको खर्चको चिन्ता त छँदै छ । शैलीका अध्यक्ष नवराज बुढाथोकी भन्छन्, ‘बल्लतल्ल नाटकघर खोल्यौं, खोल्नासाथ यस्तो बज्रपात आइलाग्यो । बिलखबन्दमा परेका छौं । के गर्ने, सोच्नै सकेका छैनौं ।’

कला नगरी पोखराको पोखरा थिएटरको हालत उस्तै छ । पोखरामा रंगकर्मी र रंगप्रेमी बढ्दै थिए तर नाटक गर्ने व्यवस्थित हल थिएन । यही अभाव पूर्ति गरेका थिए, केही जुझारु रंगकर्मीले । नाटकसहित अन्य कलात्मक गतिविधि गर्दै २ वर्ष बित्यो । थिएटरका अध्यक्ष तथा कला निर्देशक परिवर्तन कार्कीका अनुसार स्थानीय स्कुलसँगको सहकार्यले नाटकघर चलाउन सहज भएको थियो, तलब दिएर फुलटाइम कलाकार राख्ने योजना बन्दै थियो । तर, लकडाउनले सबै डामाडोल भयो । ‘अब टिमलाई जोगाउनै हम्मेहम्मे पर्ने भयो,’ बुढाथोकी दुखेसो पोख्छन्, ‘पहिलेभन्दा अब उठ्न सकस पर्छ ।’ उनीहरुले रिहर्सल भएको नाटक ‘कोही किन बर्बाद होस्’ समेत मञ्चन गर्न पाएनन् ।

रंगकर्मी मात्र होइन, नाटकलाई माया गर्ने जोकोहीलाई थाहा छ– नेपालमा नाटक गरेर जीवन धान्ने अवस्था बनिसकेको छैन । नाटकघर बढेका छन् तर सोही अनुपातमा नाटकको व्यावसायिक पाटो मजबुत हुन सकेको छैन । यद्यपि पछिल्लो प्रहरमा केही सुखद लक्षण देखा पर्दै थिए । नयाँ पुस्ताको आकर्षण थपिएको थियो, नाटक हेर्न संस्कारको विकास हुँदै थियो, राष्ट्रिय अन्तर्राष्ट्रिय महोत्सव भइरहेका थिए, नाटकमा नवीन प्रयोग हुन थालेको थियो । महाव्याधि कोभिड–१९ ले नेपाली रंगमञ्चलाई थिलथिलो बनाएको छ । रंगकर्मीको साझा दुखेसो छ– ‘पहिले नाटक गरेर आम्दानी गर्न सकिन्थ्यो, अब नाटक नै गर्न नसकिने भयो ।’

रंगकर्मी त कामविहिन भएकै छन्, नाटकघर सञ्चालन गरिरहेकालाई आर्थिक बोझ थपिएको छ । देशभर नियमित नाटक हुने १० नाटकघर छन् । सिनेमा हलजस्तो व्यावसायिक कम्पनी वा व्यक्तिले लगानी गरेको नभइ रंगकर्मीकै प्रयासमा नाटकघर खुल्ने र चल्ने गरेका छन् । कीर्तिपुरस्थित थिएटर मलका कला निर्देशक केदार श्रेष्ठ भन्छन्, ‘हामीलाई पहिले पनि टिक्न समस्या थियो, अब झन् पछाडि धकेलिएका छौं । नाटकघर र नाट्यकर्मी बचाईराख्नु मुख्य चुनौती हो ।’

श्रेष्ठको समूहले २०७१ सालमा सुन्धारास्थित काठमाडौं मलमा नाटकघर खोल्यो । तीन वर्ष जसोतसो चलाएपछि बन्द गर्नुपर्‍यो । १८ महिना भौंतारिएपछि फागुन २०७५ मा कीर्तिपुरको छुँगाउमा नाटकघर पुन: सञ्चालन गर्न सफल भए । तर, कीर्तिपुरका लागि नाटकघर नौलो थियो, दर्शक जुटाउनै मुस्किल । नाटकसँगै महोत्सव, कार्यशाला र अन्य कलात्मक गतिविधि गरेर त्यहाँका स्थानीयलाई नाटकघरसम्म आउने बानी पार्दै थिए, थिएटर मलका रंगकर्मीहरु । ‘अब नाटक गर्दाचाहिँ दर्शकको अभाव हुन्न भन्ने आत्मविश्वास आएको थियो,’ श्रेष्ठले दु:ख पोखे, ‘अब फेरि हामी शून्य अवस्थामै पुग्यौं । जीविकोपार्जनकै चिन्ता छ ।’ थिएटर मलमा २१ रंगकर्मी जोडिएका छन् । नाटक देखाएरै आम्दानी नभए पनि कार्यशालाबाट आर्थिक राहत हुने गथ्र्यो ।

चैत ११ बाट सुरु भएको लकडाउन सरकारले निरन्तर लम्ब्याउँदै जेठ ३२ पुर्‍याएको छ । लकडाउन खुलिहाले पनि नाट्य गतिविधि तत्काल भइहाल्ने सम्भावना छैन । नाटक समूहमा मिलेर उत्पादन गर्नुपर्ने र समूहमै बसेर हेर्नुपर्ने कलाको विधा हो । यसमा ‘भौतिक दूरी’ को गुन्जायस छैन । त्यसमाथि नाटक अहिलेसम्म मनोरञ्जन उद्योगमै राखिएको छ । त्यसैले लकडाउनपछि पनि यसले कम प्राथमिकता पाउँछ । यही स्थिति देखेर हुनुपर्छ, रंगकर्मीहरुले दसैंसम्म कुनै नाटक गर्न पाइएला भनेर आस मारिसकेका छन् । अनामनगरस्थित मण्डला थिएटरका संस्थापकमध्ये सोमनाथ खनाल भन्छन्, ‘दसैंसम्म केही गर्न मिल्दैन भनेर मानसिक रूपमा तयार छौं । त्यतिबेलासम्म धान्नै संकट पर्छ, त्यसपछि पनि के गर्ने, पत्तो छैन ।’ मण्डलामा पूर्वनिर्धारित तीन नाटक र कर्णालीको कार्यशाला रोकिएको छ ।

आरोहण गुरुकुल बन्द भएपछि ‘मृतप्राय:’ बनेको नेपाली रंगमञ्च मण्डलाको उदयसँगै जुर्मुरायो । दयाहाङ राई, राजन खतिवडा, बुद्धि तामाङ, सिर्जना सुब्बा, विजय बरालजस्ता गिनेचुनेका प्रतिभाहरुको संक्रियताले मण्डला नाट्यकर्मको केन्द्र बन्यो । दर्शकको चाप हुने नाटकघर यही हो, मण्डलाबाट प्रशिक्षित धेरै कलाकार नेपाली सिनेमामा चम्किएका छन्, नाटकबाहेक अन्य कलात्मक क्रियाकलापका लागि पनि मण्डला चिनिएको छ । तर, स्थापनाको आठ वर्षसम्म ऋणमुक्त हुन नसकेको खनालले दुखेसो पोखे । ‘हाम्रो यहाँ (अनामनगर) अब दुई वर्षको सम्झौता बाँकी छ, यहाँबाट सर्नुपरे पनि कसैको टाउकोमा ऋण नहोस् भनेर आयमूलक काम गर्ने योजना बनाएका थियौं,’ उनी भन्छन्, ‘तर, अब चौपट भइहाल्यो । धान्न सकिएला जस्तो छैन ।’ नाटक मञ्चन नहुँदा पनि मासिक २ लाख खर्च हुने खनालले बताए । सबैभन्दा व्यस्त नाटकघरकै यो हालत छ, अरुकाको के होला ? कोरोनाकै कारण सिनामंगलमा नयाँ नाटकघर ‘पुरानो घर’ सुचारु हुन सकेको छैन ।

नाटक खर्चिलो विधा हो । अपवादलाई छाड्ने भने दर्शकलाई टिकट बेचेर नाटकको लगानी उठ्दैन । एउटा नाटक तयार पार्न निर्देशकले घटीमा तीन महिना समय दिनुपर्छ, कलाकार र प्राविधिकले दुई महिना । रिहर्सलमै एक महिना लाग्छ । मञ्चमा ४–५ कलाकार मात्र देखिएका छन् भने पनि पृष्ठभूमिमा कम्तीमा १५ जनाले काम गरिरहेका हुन्छन् । भिन्न नाट्य समूहका सदस्यसँगको कुराकानीमा आधारमा एउटा नाटक बनाउन औसत ६ लाख रुपैयाँ खर्च हुने गर्छ । यो रकममा कलाकारको पारिश्रमिक जोडिएको छैन । दुई महिना नाटकमा खटेको कलाकारले १५ हजार पाउँदा दंग हुनुपर्ने अवस्था छ । कति त खाजाकै भरमा अभिनय गर्न बाध्य हुन्छन् ।

कालिकास्थानस्थित सर्वनाम थिएटरका कला–निर्देशक राज शाह भन्छन्, ‘कोरोनाले नाट्यकर्मीको घाउमा नुनचुक छर्केको छ । हिजोसम्म दत्तचित्त भएर रंगकर्ममा लाग्नेहरुसमेत अन्तै ‘डाइभर्ट’ हुने भय छ ।’ लकडाउन लगत्तै नाटक बनाउन थाले पनि चार महिनापछि मात्र देखाउन सकिने उनले बताए । कोरोनाकै कारण सर्वनामको अन्तर्राष्ट्रिय वर्कसप रोकियो । फ्रान्स र जर्मनीबाट आएका रंगकर्मीलाई बिचमै फर्किए । नयाँ नाटक ‘कस्तुरी’ पनि मञ्चन हुन सकेन ।

टेकुस्थित कौसी थिएटरकी संस्थापक आकांक्षा कार्की पनि नाटक देखाएर आम्दानी गर्ने सम्भावना पटक्कै देख्दिनन् । उनको बुझाइमा नाटकघर र नाट्यकर्मीलाई कोरोनाले थप कमजोर बनाएको छ । उनले आफ्नै घरमा नाटकघर चलाएकी छन् । खासगरी महिला अधिकारसँग जोडिएका नाटकहरु मञ्चन गर्न चिनिएको छ, कौसी । उनीहरु नयाँ नाटक ‘एनिमल फार्म’ को रिहर्सल गर्दै थिए, नाटकमा चाहिने ‘प्रब्स’ बनाउन पैसा दिइसकेको थियो तर लकडाउनको दुई दिन अगाडि नै रिहर्सल रोक्नुपर्‍यो । कार्की भन्छिन्, ‘मलाई त अब एक वर्षसम्म नाटकघरमा दर्शक बोलाएर नाटक देखाउन सकिन्छजस्तो लाग्दैन । दर्शक पनि मनोवैज्ञानिक रूपमा तयार भएका हुँदैनन्, भाइरसको अन्त्य नभएसम्म हामी पनि जिम्मेवार बन्नुपर्छ ।’

विकल्पको खोजी

लकडाउनपछि थिएटर मलका श्रेष्ठको अगुवाइमा क्वारेन्टाइन अभियान नाट्य उत्सव सम्पन्न भयो । पहिल्यै मञ्चन भइसकेका नाटकको भिडियोलाई फेसबुकमा लाइभ स्ट्रिमिङ गरियो । १६ दिनमा नेपालसहित भारत र डेनमार्कका २० नाटक देखाइएको थियो । यसको औचित्यबारे श्रेष्ठ भन्छन्, ‘नाटक भर्चुअल मिडियम होइन तर अहिले स्टेजमा नाटक देखाउन सकिन्न, नाटक सधैं आममान्छेको साथमा हुने इतिहास छ । त्यसैले घरको बसाइ सहज होस् भनेर भर्चुअल उत्सव गरिएको हो ।’ नाटक देखाउने क्रममा भएका अन्तरक्रियाले भोलि स्टेज सोमा पनि फाइदा पुग्ने उनको विश्वास छ ।

अब केही समय नाटक हेर्न दर्शकलाई नाटकघरसम्म बोलाउने होइन की नाटक लिएरै दर्शक भएसम्म पुग्नुपर्ने आवश्यकता देख्छन्, मण्डलाका सोमनाथ खनाल पनि । यसका लागि उनले भूकम्पपछिको अनुभव सुनाए । त्यतिबेला ‘मनचिन्ते फिरन्ते’ नाटक लिएर मण्डलाको टिम गाउँगाउँ पुगेको थियो । ‘अब रंगकर्मी आफैं समुदायमा जानुपर्छ, मान्छेहरुसँग कुरा गरेर कथा बनाउनुपर्छ,’ खनाल भन्छन्, ‘संकटपछि भौतिक आवश्यकता मात्र पूरा गरेर हुन्न, भावनात्मक रूपमा मान्छेहरुलाई जोड्नुपर्छ । आत्मबल बढाउनुपर्छ । त्यसका लागि नाटक प्रभावकारी बन्न सक्छ ।’ यस्तो कार्यक्रममा राज्यको साथ चाहिने र त्यसका लागि रंगकर्मीले संयुक्त दबाब दिनुपर्ने उनको भनाइ छ । कौसीकी कार्कीले अन्त नाटकघर जोगाइराखेको बताइन् । उनले आफ्नै अनुभव सुनाइन्, ‘म सुशीला आर्ट एकेडेमीमा पढाउँछु, त्यहाँको कमाइले नाटकघरको खर्च धान्छु ।’

संसारमा त्यस्तो देश छैन, जहाँ सरकारको प्रत्यक्ष लगानी र सहभागीताबिना रंगमञ्चको विकास भएको होस् । विडम्बना ! हामीकहाँ अहिलेसम्म सरकारी बेवास्ताको सिकार भएको छ, रंगमञ्च । कोरोनाका कारण थङथिलो हुने रंगमञ्चलाई पुनर्जीवन दिन राज्यले केही गर्ला भन्ने आश रंगकर्मीलाई छैन । यही कारण हुनुपर्छ, फेसबुकमा प्राय: आक्रोश नपोख्ने रंगकर्मी/अभिनेता दयाहाङ राईले लेखे:

पानी जहाजभन्दा देशमा गतिलो नाटकघर चाहियो सरकार

जहाँभित्र हामीले हामीलाई खोज्न, बुझ्न र देख्न पाऊ

प्रकाशित : जेष्ठ २०, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?