कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनमा चित्रकला : सिर्जना थपिए तर पारखीसम्म पुगेनन्

ग्यालरी सञ्चालकहरू भाडा तिर्नै मुस्किल परेको गुनासो गर्छन् । समीक्षकहरू लकडाउनपछि पनि चित्रकलालाई पुरानै लयमा फर्काउन सहज देख्दैनन् ।
सुशीला तामा‌ङ

काठमाडौँ — लकडाउन दुई महिना पूरा हुनै लाग्दा अधिकांश चित्रकारहरू सिर्जनामै व्यस्त छन् । चित्रकार तथा कला समीक्षक मुकेश मल्लले आधा दर्जन हाराहारी चित्र कोरिसके । लेखन–अनुसन्धान पनि सँगसँगै जारी छ । चित्र कोर्न छोडिसकेकाहरूले पनि अहिले सिर्जना गरिरहेको उनको अनुभव छ ।

लकडाउनमा चित्रकला : सिर्जना थपिए तर पारखीसम्म पुगेनन्

लकडाउनले सिर्जनामा बार लगाउन नसके पनि चित्र बिक्री भने शून्य छ । अन्य क्षेत्रजस्तै कलाविधाले पनि मार झेल्नुपरेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य बताउँछन् । उनी आफैं यसको उदाहरण हुन् । चित्र कोरेरै फुर्सदिलो समय काटिरहेका उनी अहिले रंग सकिएपछि अन्योलमा छन् । चित्र कोर्ने काम ठप्प छ । ‘चित्रकारहरूलाई बिक्रीको चिन्ता त छँदै छ, क्यानभास र रंगको जोहो गर्नसमेत अप्ठ्यारो अवस्था छ,’ उनले भने ।

अब लकडाउन खुलेपछि पनि कला–सिर्जनाको क्षेत्रलाई माथि उठ्न निकै कठिन पर्ने चित्रकारहरूको अनुमान छ । कलालाई व्यवसाय र पेसाकै रूपमा अगाडि बढाएकाहरूले अहिले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको चित्रकार तथा कला समीक्षक रमेश खनालको बुझाइ छ । ‘चित्र कोरेर समयको सदुपयोग त भयो नै, नयाँ सिर्जना हुनुलाई सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने, ‘चित्र बेचेर नै गुजारा गर्नेहरूलाई भने अहिले निकै गाह्रो छ ।’

चित्रकार बिके नरबहादुरको भनाइ पनि उस्तै छ । लकडाउनयता उनले सयभन्दा बढी चित्र बनाए । यसबीच मुस्किलले चारवटा चित्र विक्रीका लागि पठाए । विशेष गरी ल्यान्डस्केप विधाका चित्र बनाउने उनले आर्ट स्टुडियो र घरमा थुप्रिएका सिर्जना विक्री हुन लामै समय कुर्नुपर्ने देखिन्छ । ‘आर्ट ग्यालरी र स्टुडियोहरू किराना पसलजस्तो होइन,’ उनी भन्छन्, ‘आममानिसलाई अहिले खानाको जोहो गर्न गाह्रो भइरहेका बेला कता चित्र किन्ने सोख हुन्छ ?’ यस्तो माहोलमा चित्रकारहरूले जसरी पनि आर्थिक भार बोक्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

अर्का चित्रकार डी राम पाल्पाली पनि अहिले चित्र कोर्नुभन्दा अरू विकल्प नरहेको सुनाउँछन् । उनले डेढ दर्जनभन्दा बढी चित्र बनाइसके । राधेश्याम मुल्मी, एससी सुमन, एनबी गुरुङ, सविता डंगोल, ईशान परियार, सम्झना राजभण्डारी, सरिता डंगोल, एरिना ताम्राकार, आशा डंगोल, रवीन्द्र श्रेष्ठलगायत पनि घरमै चित्र कोरिरहेका छन् । स्वदेश तथा विदेशका ग्यालरीमा सजिले उनीहरूका चित्रले अहिले त्यो अवसर गुमाएका छन् । चित्रकार सरिता डंगोलको यसै वर्षको सुरुमा अस्ट्रेलियामा तय गरिएको एकल प्रदर्शनी र भारतमा हुने सामूहिक प्रदर्शनीको योजना त्यतिकै रोकिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय स्तरमा हुने प्रदर्शनी सबै स्थगित हुने उनको अनुमान छ ।

चित्रकलासम्बन्धी कार्यशाला, आर्ट कक्षासमेत बन्द नै छन् । कला–शिक्षण पेसामा आबद्ध हुने चित्रकारहरूलाई अहिले रोजगारी गुम्ने तनाब रहेको सविता डंगोल बताउँछिन् । कलालाई मनोरञ्जनका रूपमा लिइने भएकाले शिक्षण संस्थाहरूमा तत्काल कला अध्ययनका कक्षा सञ्चालन नहुने उनको बुझाइ छ ।

चित्रकार सरिता डंगाेलकाे सिर्जना

बन्द छन् ग्यालरी

उपत्यकाका नेपाल आर्ट काउन्सिल, सिद्धार्थ आर्ट ग्यालरी, तारागाउँ म्युजियम, पार्क आर्ट ग्यालरी, क्लासिक आर्ट ग्यालरी, मिथिला येन आर्ट ग्यालरी, एम क्युब ग्यालरीलगायतमा प्रायः चित्रकला प्रदर्शनी टुट्दैनथ्यो । तर लकडाउनयता सुनसान छन् । ग्यालरी सञ्चालकहरू भाडा तिर्न नसकिएको भन्दै चिन्तित छन् । लाजिम्पाटमा ‘बिके आर्ट ग्यालरी’ चलाउँदै आएका चित्रकार नरबहादुर भाडासमेत थपिँदा आर्थिक भार बढेको बताउँछन् । चाकुपाटमा ‘क्लासिक आर्ट ग्यालरी’ चलाउने सरिता डंगोल पनि उही चिन्तामा छिन् । ग्यालरीको भाडा, कर्मचारी खर्च जोहो गर्न कठिन रहेको उनी बताउँछिन् ।

यो अवस्था लम्बिँदा कला विधालाई आय आर्जनको बाटो बनाउँदै ग्यालरी खोलेर बसेकाहरूको उत्साह सेलाउने समीक्षक खनालको धारणा छ ।

अनलाइन प्रदर्शनी प्रभावकारी होला ?

लकडाउनमा चित्रहरू घरबाटै अनलाइन प्रदर्शनी गर्ने लहर पनि छ अहिले । समीक्षक मल्ल पहिले फेसबुकमा चित्रकारहरूले आफ्ना सिर्जना राख्ने गरे पनि त्यसलाई औपचारिक रूपमा प्रदर्शन गर्ने परिपाटी नरहेको बताउँछन् । पश्चिमा मुलुकमा अभ्यासमा रहेको अनलाइन कला प्रदर्शनी नेपालका लागि नौलो नै रहेको उनको बुझाइ छ ।

ई–आर्ट नेपालमा अहिले चित्रकारहरूले आ–आफ्ना कला प्रदर्शन गरिरहेका छन् । नेपाल जलरंग समाजका अध्यक्ष एनबी गुरुङले जेठ पहिलो साता ‘भर्चुअल साउन्ड’ शीर्षकमा प्रदर्शनी गर्दै छन् । गुरुङका अनुसार मुलुकभरिबाट ८२ वटा चित्र आए पनि ६२ वटा मात्र प्रदर्शनीका लागि छनोट गरिएका छन् । कुलपति कर्माचार्यदेखि चित्रकारहरू मल्ल, खनाल, आलोक गुरुङ, राधेश्याम मुल्मीसम्मले चित्र पठाएका छन् । प्रदर्शनी व्यापक र प्रभावकारी बनाउन तीव्र तयारी भइरहेको गुरुङले बताए ।

त्यस्तै म्युजियम अफ नेपाली आर्ट (मोना) ले गरेको अनलाइन प्रदर्शनीमा डेढ दर्जनभन्दा बढी चित्रकार सहभागी छन् । विश्व नै प्रविधितिर लम्किरहेको समयमा अनलाइन प्रदर्शनीबाट नेपालको कलाले पनि अन्तर्राष्ट्रिय पहिचान पाउने कुलपति कर्माचार्यको दाबी छ । ‘ग्यालरीमा सीमित कला सबैको घरघरमा पुग्न सक्छ,’ उनी भन्छन्, ‘यसले नेपाली कलालाई फराकिलो बनाउँदै बजारसमेत विस्तार गर्न सघाउ पुग्न सक्छ ।’ चित्रकार नरबहादुर भने प्रदर्शनीले उत्साह थपे पनि तत्काल विक्री गराउन बल नपुग्ने ठहर गर्छन् ।

अनलाइनमा भएका प्रदर्शनीलाई सकारात्मक रूपमा लिँदै यो चुनौतीलाई अवसरका रूपमा आत्मसात् गर्नुपर्ने चित्रकार एससी सुमनको तर्क छ । ‘सिर्जना आफैंमा एक किसिमको दस्तावेज हो,’ उनी भन्छन्, ‘यही बेला सिर्जनासँगै विभिन्न आर्ट कक्षा, अन्तरक्रिया अनलाइनबाटै भइरहेका छन् । यो हाम्रा लागि नौलो काम र नयाँ मोड बन्न सक्छ ।’ प्रदर्शनीलाई आर्थिक समस्याको समाधानभन्दा पनि नौलो शैलीको रूपमा स्विकार्न मल्ल सुझाउँछन् । भन्छन्, ‘हामीलाई यो परिस्थितिको प्रभाव हो भने नयाँ थालनी र समयको माग हो ।’

प्रकाशित : जेष्ठ २, २०७७ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?