२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बाजा संरक्षक कँडेललाई निक्केई एसिया पुरस्कार

काठमाडौँ — लोकबाजा संरक्षण र संवर्द्धनका क्षेत्रमा अढाई दशकयता लागिपर्दै आएका रामप्रसाद कँडेललाई जापानको प्रतिष्ठित निक्केई एसिया पुरस्कार प्रदान गरिने भएको छ । झन्डै ३० लाख रुपैयाँको यो पुरस्कारलाई कला–संस्कृति र सम्पदा क्षेत्रमा प्रदान गरिने विशिष्ट सम्मानका रूपमा लिइन्छ ।

बाजा संरक्षक कँडेललाई निक्केई एसिया पुरस्कार

काठमाडौंमा स्थापित नेपाली लोकबाजा संग्रहालयमार्फत नेपाली बाजागाजा संरक्षण एवं लोकसंगीत र संस्कृति झल्काउने गतिविधि जारी राखेकोमा कँडेल पुरस्कृत हुन लागेका हुन् । ‘यो पुरस्कारले नेपाली लोकसंगीत, बाजागाजा र रैथाने चिनारीलाई संस्थागत रुपमा चिनाउँदै जाने अभिभारा थपिएको छ,’ कँडेलले कान्तिपुरसँग भने, ‘एउटा मुलुकको स्वपहिचान र आफ्नोपन बढाउने कुरामा लोकबाजा, लोकसंगीत र संस्कृतिको दह्रिलो स्थान हुन्छ भन्ने यथार्थलाई निक्केई सम्मानले फेरि सम्झाउने काम गरेको छ ।’

बाजागाजाका जानकार कँडेलले २०५४ सालमा औपचारिक रूपमा जिल्ला प्रशासन, काठमाडौंमा दर्ता भएपछि सुरुमा कालधारास्थित आफ्नै डेरामा बाजागाजा संग्रह गर्न थालेका थिए । २०५८ सालदेखि भद्रकालीमा नेपाल सम्पदा संघसँगै कोठा भाडामा लिएर ५ वर्षसम्म संग्रहालय विस्तारको काम जारी राखे । २०६४ सालदेखि भने त्रिपुरेश्वरस्थित गुठी संस्थानको सत्तलमा बस्ने गरी मन्त्रिस्तरीय बैठकबाटै अनुमोदन पाएर संग्रहालयले आफ्नो गतिविधि अघि बढाइरहेको छ ।

कँडेलका अनुसार अहिलेसम्म नेपालभर १३ सयभन्दा बढी बाजागाजा रहेको तथ्यांक छ । संग्रहालयमा ६ सय ५५ बाजागाजा राखिएका छन् । मल्लकालीन समयदेखि विभिन्न जातजाति, वर्ग, समुदाय र भूगोल विशेषका बाजागाजा संग्रहालयले जोगाइरहेको छ । ‘हामीले बाजाको संग्रह गर्दा पनि हरेक जातीय उद्गमका आधारमा जन्मदेखि मृत्युसम्मकै बाजागाजाको उपयोग र विविधतालाई समेट्ने काम गरेका छौं,’ संग्रहालयका अध्यक्ष कँडेलले भने, ‘बाजामा के काठ प्रयोग भएको छ, केको छाला राखिएको छ अथवा अन्य विशेषतासहित उल्लेख बाजागाजाको अर्काइभ बनाउने काम गरिएको छ ।’ त्यो अध्ययनपछि तोकिएको विशेषतासहितको बाजागाजा बनाएर पनि संग्रहमा राख्ने गरिएको कँडेलले जानकारी दिए । बजाउन छाडिएको र उपयोगहीन पुरानो बाजालाई पनि संग्रहमा राख्ने गरिएको हो ।

‘जात्रा, चाडपर्व र सांस्कृतिक महत्त्व रहेका विशेष अवसरको श्रव्यदृश्य रेकर्ड पनि राख्दै आएका छौं,’ ५४ वर्षीय कँडेल भन्छन्, ‘यसमा जात्राको विशेषता, बाजाको विविधता र कारणसमेत उल्लेख भएको हुन्छ । साथै बाजा बजाउनेहरूको जीवनी र अनुभव पनि श्रव्यदृश्यमा समेटिएको छ ।’ कँडेलका अनुसार सारंगी बनाउन खिर्रा काठ, मादल बनाउन छत्तिउन र वीणा बनाउन दार नै किन चाहियो भनेर समेत खोज्ने काम भइरहेको छ । यस्तो अडियो–भिजुअल रेकर्ड अहिलेसम्म १० हजार घण्टाजति भइसकेको छ ।

संग्रहालयबाट ‘बाजा’ नामको जर्नल पनि प्रकाशित हुँदै आएको छ । सन् २०११ यता हरेक वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय लोकसंगीत महोत्सव पनि सुचारु छ । इन्टरनेसनल काउन्सिल फर ट्रेडिसनल म्युजिकको सम्मेलनमा अन्तर्राष्ट्रिय रूपमा संग्रहालय सहभागी हुँदै आएको छ । संग्रहालयका लागि सरकारले वार्षिक १५ लाख रुपैयाँ सहयोग दिँदै आएको छ ।

कँडेलसँगै भारत, बेंग्लोरका थालाप्पिल प्रदीप र संयुक्त रूपमा मलेसियाका एन्थोनी ट्यान तथा ट्यान हुई लिङलाई पनि पुरस्कार प्रदान गरिने भएको छ । प्रदीपले पानी शुद्धीकरण प्रक्रियाको नवीन पद्धतिमार्फत प्रतिलिटर २ पैसामा उपलब्ध गराएबापत र एन्थोनी–हुईलाई मलेसियाको ट्याक्सी सेवासहित अरू बन्द–व्यापारमा प्रयोग गर्न मिल्ने ‘एप्स’ उत्पादन गरेबापत निक्केई पुरस्कार दिने निर्णय भएको हो । कोरोना संक्रमणका कारण निक्केई अवार्ड समारोहको तिथि तय नभए पनि सन् २०२० को अन्त्यमा टोकियोमा पुरस्कार दिइने जनाइएको छ ।

प्रकाशित : वैशाख २१, २०७७ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?