३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

संस्कृतिकर्मी सभामुख

अमृता अनमोल

बुटवल — विद्यार्थी राजनीतिबाट सुरु भएको पूर्णबहादुर घर्तीमगरको राजनीतिक यात्रा प्रदेश पाँचको सभामुखसम्म पुगेको छ । जनतामाझ भने संस्कृतिकर्मीका रूपमा परिचित छन् । हालैको दिन प्रदेशसभाको स्थापना दिवस कार्यक्रममा उनको भिन्न छवि देखियो । संगीतमय बनेको कार्यक्रममा सभामुख घर्तीमगर सँगसँगै बगे ।

संस्कृतिकर्मी सभामुख

कतिबेला हात त कतिबेला खुट्टा हल्लाउँथे । कतिबेला गुनगुनाएर कलाकारलाई सघाउँथे । ‘उहाँ आफैं गीतकार–संगीतकार हुनुहुन्छ,’ प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले भने, ‘उहाँकै कारणले कार्यक्रम संगीतमय बनेको हो ।’


साविक रूकुमको चुनवा–६, लाखर खोलामा जन्मिएका घर्तीमगर १७ वर्षको उमेरबाटै राजनीतिमा लागे, तर उनको यो यात्रा सांस्कृतिक क्षेत्रसित पनि उत्तिकै जोडियो । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा उनी सुरुदेखि नै सामेल भए । त्यसमा पनि उनको प्रमुख भूमिका संगीतकर्मीकै रह्यो । ‘मुख्य उद्देश्य राजनीतिक परिवर्तन थियो,’ उनले भने, ‘त्यही उद्देश्य पूरा गर्न संगीतकर्मीको भूमिका गरेको थिएँ ।’


५२ बर्षे घर्तीले करिब तीन दर्जन गीत लेखेका छन् । तर, सबै गीत रेकर्ड भएका छैनन् । रेकर्ड नभए पनि अधिकांश गीत जनजिब्रोमा झुन्डिएका छन् । युद्धताका उनी क्रान्तिभावका गीत लेख्थे । संगीत भर्थे र त्यसलाई पस्किन्थे । उनी अवस्थालाई टपक्क टिप्थे । चित्र बनाउँथे र गीत पस्कन्थे । बिसं २०५२ मा सरकारबाट रोल्पामा ‘अप्रेसन रोमियो’ चलाउँदा त सुरक्षाकर्मीबाट निकै ज्यादती भयो । नागरिक मात्र होइन, कतिपय माओवादी कार्यकर्तासमेत विचलित भए । त्यसबेला घर्तीले ‘ढल्दैन त्यो बन्दुकले...’ बोलको गीत लेखे । त्यसलाई माइला लामा, सीता आचार्यलगायतले गाए ।


माओवादीले सशस्त्र द्वन्द्वको घोषणा गरेको बेला रोल्पाली मात्र होइन, सिंगो मुलुक नै प्रभावित भयो । त्यस अवस्थाको विश्लेषण गरेर घर्तीले अर्को उत्साहपूर्वक गीत लेख । ‘एकै रातमा धरती हल्लियो, संघर्षको आँधीबेहरीले, गाउँबस्ती ब्युँझी उठ्यो माओवादी जनयुद्धले ...’ गीत लेखे । गायनमा उनलाई सीता आचार्यले साथ दिइन् ।


यसपछिका दुई वर्ष उनले लेखेका र गाएका ‘जोसिलो अभिवादन...’, ‘यात्रा हाम्रो...’ लगायतले चर्चा पाए । जब सशस्त्र द्वन्द्व सफलतातर्फ उन्मुख हुन्थ्यो, घर्ती उत्साहका गीत लेख्थे र गाउँथे । जब युद्ध कमजोर बन्थ्यो, उनी आशा र भरोसाका गीत सुनाउँथे । उनी युद्धभूमिदेखि रंगभूमिसम्म गएर त्यसलाई पस्कन्थे ।


०५९ तिर पार्टीभित्र देखिएको सन्नाटा र निराशा चिर्न घर्तीले ‘कसले भन्छ, क्रान्ति यहाँ सफल हुँदैन...’ बोलको गीत लेखे । उनीसहित र मोहित श्रेष्ठको संगीत र स्वरमा यो गीत रेकर्ड भएको छ । उक्त गीत माओवादी कार्यकर्ताका लागि निकै ऊर्जावान् बन्यो । ‘रुकुमको खारा युद्धमा माओवादीले ठूलो क्षति बेहोर्नुपर्‍यो भने कालिकोटको मालकोट र रोल्पाको थबाङमा दर्जनौं घर जलाइएका थिए,’ उनले भने, ‘यस्तो सन्नाटा चिर्न गीत गाएको हुँ ।’


यही बीचमा अर्को गीत गाए । ‘यात्रा हाम्रो लामो छ है हिँडौं साथी नथाकेर, नझुक्ने ती हिमालजस्तै हिँडौं साथी नथाकेर ...’ गाए । जुन गीत माओवादी मात्र होइन, अन्य सांस्कृतिक कार्यक्रममा पनि सुनिए । ‘द्वन्द्व राजनीतिक परिवर्तनका लागि भयो । यसमा शंका छैन,’ उनले भने, ‘तर, हामीले गाउने गीतले सर्वसाधारणको विचार फेर्न र स्वयं माओवादी कार्यकर्तालाई ऊर्जावान् बनेर युद्धमा लाग्न प्रेरित गर्थे । सायद यसले पनि परिवर्तन छिटो भएको हो ।’


घर्ती ०४७ देखि १७ वर्ष अखिल नेपाल जनसांस्कृतिक संघको केन्द्रीय समितिमा रहे । राप्तीस्तरीय सांस्कृतिक अभियानको नेतृत्व गरे । ०५८ देखि २ वर्ष माओवादी निकट केन्द्रीय सांस्कृतिक टोली संयोजक, केन्द्रीय श्रव्यदृश्य प्रमुख एवं केन्द्रीय सांस्कृतिक विभाग सदस्य भए । त्यसपछिका समय राजनीतिक रूपमा अन्य भूमिकामा रहे । तीन वर्ष भने रुकुम जिल्ला सेक्रेटरी बनेका उनी ०५७ मा रुकुमको पहिलो ‘जनसरकार प्रमुख’ मा निवाचित भए । ‘पार्टीले राजनीतिक भूमिका दिए पनि गीतमा कलम चलाउन र स्वर दिन भने छोडिनँ,’ उनले भने, ‘किनभने, मेरो नसा–नसामा संगीत छ । संगीतले सहज परिवर्तन सम्भव छ ।’

गायनकै क्रममा उनको सीता आचार्यसँग चिनजान भयो । चिनजान सहकार्य हुँदै प्रेममा परिणत भयो । त्यसपछि ०५१ मा उनैसित विवाह भयो । जसले संगीतयात्रा अझ गाढा बनायो । सीता अहिले पनि नेकपा केन्द्रीय सदस्य छन् । सामना परिवारमा सांस्कृतिक फाँटमै क्रियाशील छन् ।


०६३ सालमा बृहत् शान्तिसम्झौता भएर माओवादी शान्तिप्रक्रियामा आयो । घर्तीमा पार्टीको विभिन्न पद र जिम्मेवारी आयो । त्यसबेला पनि घर्तीको संगीत यात्रा चलिरह्यो । कहिले देखेका र सुनेका गीत गाए । धेरै आफैंले भोगेका लेखेर गाए । गीतबाटै नागरिकलाई सुसूचित गर्ने काम गरे । ‘गीत संगीतकै कारण हरेक खाले जनताको बीचमा जाने मौका पाएँ । उनीहरूमा परिवर्तनको इच्छा जगाउन र उत्साह भर्न सकें,’ उनले भने, ‘संस्कृतिकर्मीकै रूपमा आफूले गरेको काममा गौरव छ ।’ ०७४ मंसिरमा भएको प्रदेशसभाको निर्वाचनमा घर्ती रुकुम पूर्व २ बाट निर्वाचित भए ।


०७४ माघ २१ देखि प्रदेश ५ को सभामुखको भूमिकामा रहेका छन् । सभामुख बनेपछि उनी व्यस्त छन् । गीत लेखन र गायनमा समय दिन पाउँदैनन् । तर, गीत सुन्दा गुनगुनाउन छोडेका छैनन् । संगीत बज्दा हात चलाउन बिर्सेका छैनन् । बिर्सुन् पनि कसरी ! लामो समय राजनीति गरे पनि उनलाई चिनाउने अवयव नै गीत–संगीत हुन् । ‘नियमित गाउने अभ्यास गर्न मिल्दैन । तर, यसप्रतिको चासो र रुचि मरेको छैन,’ उनले भने, ‘गीत–संगीत सुन्दा हात चल्छन्न् । मन गुनगुनाउँछ । यसमै आनन्द लाग्छ ।’

प्रकाशित : चैत्र ६, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?