जेसुममा कोरोना कविता

काठमाडौँ — महाराजगन्जको व्यस्त सडकबाट थोरै भित्र पसेपछि भेटिन्छ– गाउँ सम्झाउने एउटा पीपल चौतारा । छेवैमा छ चिटिक्कको टुसाल पार्क । कोलाहल र प्रदूषण बिर्सेर मानिस घाम तापिरहेका हुन्छन् ।

जेसुममा कोरोना कविता

७ महिनाअघि मात्रै बनेको यही पार्कमा सोमबार कवि र चित्रकारले सिर्जना कर्म गरे । कला, साहित्य र रंगमञ्चमार्फत स्थानीय संस्कृति र विषयवस्तु खोजी गर्ने ‘जेसुम यात्रा’ को १२ औं शृंखलामा थिए स्रष्टाहरू ।


कोरोनाले सर्वत्र त्रास फिजाइरहेको बेला सिर्जनामा यसको असर नदेखिने कुरै भएन । कवि वासुदेव अधिकारीले ‘सिम्पल कोरोना’ शीर्षकको कविताबाट शृंखलाको सिर्जनात्मक उद्घाटन गरे । छिमेकी मुलुक चीन हुँदै १ सय ४६ मुलुक संक्रमण फैलिसक्दा हामीले गरेको हेलचेक्र्याइँप्रति उनको यसरी व्यंग्य कसे–


जब कोरोना नाच्दै थियो चीनमा

हिमाली खर्कमा बाख्रा चराउन जान

म बेसारपानीमा रमाउँदै थिएँ

जब कोरोना सल्किँदै थियो इटालीमा

कोसीको काँस काट्न जान

म जिम्मुको झोल पिउँदै थिएँ


पार्कमा गोलाकार बसेका कवि र चित्रकारमाझ यसपछि स्रष्टा स्नेह सायमीले अर्का कवि अनिता लामाको व्यक्तित्व चित्रलाई शब्दमा उतारे । गणेश बूढाले ‘मेरी दिदी’, र ‘डियर जिन्दगी’ कविता सुनाए । जेसुम संयोजक कवि अनिताले प्रवासी ‘पसिना’ को मूल्य शब्दमा उतारिन् । रंगकर्मी सोनाम लामाले गीत गाउँदा सगरमाथा आरोही रोजिता बुद्धाचार्य र देउराली चाम्लिङ, कवि नवराज खतिवडा र कलाकार शान्ति वाइबाले कम्मर मर्काए । लेखक तथा संस्कृतिविद् अजितमान तामाङले पार्कमा भेटिएका ३ जडीबुटीको आयुर्वेदिक संस्कृतिसित जोडेर व्याख्या गरे ।


यसपछि चित्रकलाको सेसन रह्यो । कवि अनिता लामाको जन्मदिनको संयोग जुरेको यात्रामा चित्रकार डिराम पाल्पालीले लामाकै मुहारचित्रमा कुची चलाए । सेलो थिएटरले केक काट्यो । चित्रकार दीपेन्द्रमान बनेपालीले भावी नेपालको परिकल्पना गरे । चित्रमा धरहरा सग्लो देखिन्थ्यो, मन्दिरहरू मजबुत । सिर्जना यात्रामा साथ दिन प्रदेश सांसद नारायण सिलवाल र काठमाडौं महानगर पालिका वडा नं. ४ का वडा अध्यक्ष मोहन विष्ट पनि आइपुगे । लामो समयदेखि व्यक्तिले हडपिरहेको सार्वजनिक जग्गामा वृद्ध, युवा र बालबालिका लक्षित गरी बनाइएको पार्कमा स्रष्टालाई स्वागत गर्न पाउँदा दुवै जना खुसी थिए ।

प्रकाशित : चैत्र ४, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?