कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

चार देशका कला एक ठाउँ

सुशीला तामा‌ङ

काठमाडौँ — ‘कला सिर्जनामा रमाउनेलाई कुन देशको कला उत्कृष्ट छ भन्ने भावना कहिल्यै पनि हुँदैन । हामीले आ–आफ्नै शैली, विषयवस्तु र माध्यममा समाज र मुलुकको विविध पक्ष उठान गरिरहेका हुन्छौं । तिनै कला र सिर्जना एकअर्कामा आदानप्रदान र अनुभव साटिरहेका हुन्छौं,’ बंलादेशकी चित्रकार तयेबा बेगम लिपिले यसरी वर्णन गरेजस्तै लाग्छ, बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनरत कलाकृति । 

चार देशका कला एक ठाउँ

ग्यालरीमा डेढ सातादेखि ‘नाउ देअर’ शीर्षकमा जारी चित्रकला प्रदर्शनीमा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका आधा दर्जनभन्दा बढी चित्रकारका तीन दर्जन चित्रमा विविध भाव र विषय समावेश छन् । चित्र, फोटोग्राफजस्ता कलाकृतिमा कतै मानव रूप चित्रण त कतै मानवीय संवेदना, कतै धार्मिक आस्था अभिव्यक्त छन् भने कतै प्राकृतिक विपत्तिका विषय उठाइएका छन् । यात्राकै क्रममा सिर्जित कलाकृति प्रदर्शन गर्ने यस समूहले नेपालमा दुई वर्ष अघिदेखि कोरेका चित्रलाई अहिले प्रदर्शनीमा ल्याएका हुन् । केही चित्रकारले परम्परागत पौभा र थाङ्का विधालाई आधार मानेर चित्रमा ढाल्ने जमर्को गरेका छन् ।


बेगमले ‘लस्ट इन क्लाउड’, ‘मेटल मास्क वयर्स’, ‘छिन्नामस्त’ जस्ता शीर्षकमा तयार गरिएका चित्रमा महिला विषय प्राथमिकता दिएकी छन् । महिला भएकै कारणले उनीहरूले भोगिरहेका सामाजिक भेदभाव, थिचोमिचो, मुस्लिम समुदायमा महिलाले मुहार ढाक्नुपर्ने परम्परालाई बेगमले पेन्सिल र अर्थ कलरको सहायताले पेपरमा उतारेकी छन् । उनले महिलालाई विभिन्न देवीका अवतारमा पनि प्रस्तुत गरेकी छन् । अहिले खुला बन्दै गइरहेको समाजमा पनि दमित रहेका महिलाको अवस्थालाई जस्ताको त्यस्तै चित्रमार्फत ल्याइएको उनले जनाइन् । बेगमले भिन्न देशको कलाकृति भए पनि यसले सबै मुलुकका महिलाका भावना समेट्ने दाबी गरिन् । नेपालबाट चित्रकार सौरगंगा दर्शनधारीले पौभा शैलीको प्रभाव ग्रहण गर्दै मान्छेका दैनिकी, उपत्यकाको परिवेश र अहिले बाँचिरहेको मानव समाजलाई देखाएकी छन् । दर्शनधारीले इचिङ र वाटर कलरमा तयार गरिएको चित्रमा प्रकृति, खाना र मानव सम्बन्धलाई खोतलेकी छन् । उनले चंगा, चरा, फूललाई प्रतिविम्बका रूपमा चित्रमा प्रस्तुत गरेकी छन् ।


त्यस्तै, चित्रकार पृथ्वी श्रेष्ठले वाटर कलरमा आफू र छायाको सम्बन्ध ‘विथ यु आई’ शीर्षकमा चित्रण गरेका छन् । प्रदर्शनीमा बंगलादेशका महबर रहमानले विश्वका चर्चित व्यक्तित्वका पोट्रेटलाई गोल्ड लिफ माध्यममा कोरेका छन् । भारतबाट एम प्रभातले डिजिटल प्रिन्ट र अर्काइभल पेपरका माध्यममा नेपालको भूकम्पको पीडादायी अवस्थालाई फोटोग्राफमाथि प्रस्तुत गरेका छन् भने सीमा कोहलीले पेन, इन्क र वाटर करलमा पौभाजस्तै देखिने देवी तथा महिला फिगरमा तयार गरेका चित्र मोहक छन् । पाकिस्तान वासिम महम्मद, मारिया वासिमलगायतका कलाकृति ग्यालरीमा प्रदर्शनरत छन् ।


कलाबाट नै एक आपसी सम्बन्ध विस्तार र विचारको आदानप्रदान गर्न लागिपरेको यो समूहले नेपालपछि भारत, पाकिस्तान, बंगलादेश, स्विट्जरल्यान्डमा पनि प्रदर्शनी गर्ने चित्रकार दर्शनधारीले बताइन् । चित्रका माध्यमबाट बहुदेशीय कलाकर्मी सिर्जना झनै नजिकिने चित्रकार रहमानको विश्वास छ । प्रदर्शनी मंगलबारसम्म चल्नेछ ।


प्रकाशित : फाल्गुन २७, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?