कहाँ हराए ती नाच ?

माधव अर्याल

(पाल्पा) — रैनादेवी छहरा गाउँपालिका–७ जुठापौवाका ८४ वर्षीय इन्द्रबहादुर खाम्चा मगर सानोछँदा मारुनी, सोरठी, झाम्रे, कडुवालगायत नाच खुबै नाच्थे । अहिले कहींकतै मात्र भेटिन्छन् । पोसाक पनि परिवर्तन हुँदै गएको छ । ‘पहिला चाडपर्वमा, धान भित्र्याउने, लाहुरे घर फर्किंदा पनि नाच्ने चलन थियो,’ उनले भने, ‘अहिले यस्ता नाच कमै देखिन्छ ।’ गाउँकै ज्येष्ठ नागरिक रुद्रबहादुर सारुसँग पनि पुराना नाचको सुन्दर सम्झनाहरू छन् ।


अचेल मेला, पर्व र उत्सवमा बाध्यकारी भए मात्र यस्ता नाच देख्न पाइने भएको छ । ‘कतिपय युवा पुस्तालाई त यी नाचबारे जानकारीसमेत छैन,’ उनले भने ।


मगर समुदायको हराउँदै गएको कला र संस्कृतिबारे हालै यहाँ बहस चल्यो । नेपाल मगर संघ र पाल्पा साहित्य समाजले गरेको ‘मगरको कला र संस्कृति’ विषयक छलफलमा धेरैले पुरानो संस्कृति हराएको प्रति चिन्ता जनाए । ‘मगर समुदायले जोगाएको नेपाली संस्कृति अहिले देशकै सम्पत्ति बनेको छ,’ मगर संस्कृतिका ज्ञाता एवं अध्येता डा. कुसुमाखर न्यौपानेले भने, ‘पश्चिमाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोकगीत अध्ययन गर्ने विषय बनेको छ । त्यसमा पनि मगरको कला र संस्कृति नै पहिलो रोजाइ हुन्छ ।’ मगरको घाँटो नाच, सालैजो, सोरठीजस्ता लोकसंगीत तथा लोक नाच निकै शक्तिशाली रहेको उनले बताए । बागलुङका मगरले बचाएको गोपीचन लोकनाटक संसारकै उदाहरणीय रहेको समेत उनको दाबी छ । उति बेलाका मगरहरूले नपढेका भए पनि नेपाली संस्कृतिको रक्षा र यथार्थताको प्रतीक लोकगाथामा उतारेको उनको बुझाइ छ ।


‘मैले त पीएचडी मात्रै गरेको हुँ, खासमा त्यो भोगाइ र अनुभवले खारिएका मगर समुदायको अनुभवको हो,’ उनले भने, ‘गोपीचन लोकनाटक मगरकै कला र संस्कृतिको बेजोड प्रस्तुति हुन आउँछ ।’ गोपीचनको विषयमा सोधखोज गर्दा अमेरिकाबाट उनले सम्मानसमेत पाए । गोपीचनमा त्यसबेलामा राजा र प्रजाबीचको सम्बन्धलाई समेटेको छ । यो लोकगाथा अहिले नेपालका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीले पढ्नुपर्ने विषय बनेको छ । ‘त्यसैले मैले भन्ने गरेको छु, मगरले बचाएको संस्कृति नेपालकै संस्कृति हो,’ उनले भने । उनका अनुसार संगीतमा मगर शैली, बाजा, नाचहरू निकै फरक हुन्छन् । मगर समुदायकै अध्येता डा. मुकुन्द शर्माले सांस्कृतिक हिसाबले अहिलेसम्म मगरहरूको खोजबिन नभएकोमा चिन्ता व्यक्त गरे । मगरको सांस्कृतिक अध्ययन हुनु जरुरी छ,’ उनले भने, ‘मेरो अध्ययनमा मगर नेपालमा सुरुदेखि नै बसोबास गर्ने जाति हुन् ।’ चालचलन, भाषा, संस्कृति र रहनसहन मगरको अलग्गै छ । अब मगरको कला र संस्कृतिको इतिहास खोज्नुपर्ने बेला आएको उनले बताए ।


विदेशी लेखकहरूले अहिलेका ठकुरी पनि मगर रहेको प्रमाण पेस गरेको उनले सुनाए । ‘छुट्टै ठाउँ पाएपछि राजा शाह भएको र उनीहरू पछि ठकुरी बनेका हुन्,’ उनले भने । मगरहरूको घाँटो नाचबाटै पछि गुरुङहरूले सिको गरेर घाँटु नामकरण गरिदिएको उनको दाबी छ । इतिहासकार निर्मल श्रेष्ठले मगर भाषा, कला, संस्कृति र इतिहासको रक्षा गर्न जरुरी रहेको बताए । ‘यसमा पहिला मगर समुदाय नै अघि सर्नुपर्ने हुन्छ,’ उनले भने, ‘आन्तरिक र बाह्य पर्यटक लोभ्याउन पनि मगर कला र संस्कृतिको रक्षा गर्नुपर्छ भन्ने बुझाउन सक्नुपर्छ ।’


पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मीले मगर समुदाय कला, संस्कृतिमा धनी भए पनि यसलाई विस्तारै छाड्दै गएकामा चिन्ता व्यक्त गरे । नेपाल मगर संघका जिल्ला अध्यक्ष तेजबहादुर घर्तीमगरले मगर कला र संस्कृतिको धनी भईकन यसलाई जगेर्ना गर्नेतर्फ सबैको ध्यान नपुगेको बताए । अगुवा मगर महिला प्रतीक्षा सिञ्जालीले महोत्सव, मेला, दिवसमा कला र संस्कृतिको कुरा गर्ने तर अन्य समयमा बिर्सिने बानीले पनि जगेर्ना हुन नसकेको बताइन् ।


पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंहले आफ्नै जातिबाट नै संरक्षणको पहल हुनुपर्नेमा जोड दिए । राष्ट्रिय जनगणनाअनुसार पाल्पामा मगर समुदायको जनसंख्या ५२.२९ प्रतिशत छ । जिल्लाको कुल जनसंख्या १ लाख ३६ हजार ५ सय ८८ रहेको छ । प्रकाशित : फाल्गुन २५, २०७६ १०:२५

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दयाहाङसँगै भुटानी अभिनेत्री

कान्तिपुर संवाददाता

काठमाडौँ — दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘२ नम्बरी’ मा भुटानी अभिनेत्री उगेन छोदेन अनुबन्धित भएकी छन् । फिल्ममा अभिनेता दयाहाङ राईको जोडीका रूपमा उगेनको अभिनय रहने निर्देशक लामाले बताए । यसअघि फिल्ममा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउत अनुबन्धित भइसकेका छन् ।

फिल्म फागनु २८ गतेबाट छायांकनमा जानेछ । अभिनेत्री उगेनले नेपाली फिल्मलाई करिअरकै उपलब्धि भएको बताएकी छन् । यसअघि उगेनले अभिनेता शाहसँग रोशन फ्युबाको म्युजिक भिडियो ‘गोरी गोरी...’ मा
अभिनय गरेकी थिइन् ।

फिल्ममा उगेनको भुटानी लवज प्रयोग हुने बताइएको छ । झन्डै दुई वर्षअघि उगेनको फिल्म ‘दाङफू दिङफू’ (उहिले उहिले) नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार फिल्म फेस्टिभलमा छानिएको थियो । यही फिल्म देखाउने क्रममा आइपुगेकी उगेनसित निर्देशक लामाको भेट भएको थियो । आधा दर्जनभन्दा बढी भुटानी फिल्ममा अभिनय गरेकी उगेनले त्यतिबेलै नेपाली फिल्ममा काम गर्न चाहेको बताएकी थिइन् । ‘अहिले हामीले पटकथाकै आधारमा उनको छनोट गरेका हौं,’ निदेर्शक लामाले भने ।

अभिनेत्री उगेनले लामो समयदेखिको नेपाली फिल्म खेल्ने इच्छा पुरा हुन लागेको बताइन् । ‘दयाहाङजीको भुटानमा पनि थुप्रै फ्यानहरू छन्’, उनले भनिन्, ‘उहाँसँगै खेल्न पाउनु खुशीको कुरा हो ।’ दयाले पनि उगेनको बारेमा सुनेको बताउँदै ‘२ नम्बरी’मा सहकार्य गर्ने अवसर जुटेकोमा खुसी प्रकट गरे ।

प्रकाशित : फाल्गुन २५, २०७६ १०:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×