१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

गायक परियार सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ...’, ‘क्या दामी भो...’, लगायतका चर्चित गीत/गजलका गायक शिव परियार सम्मानित भएका छन् । शनिबार कुञ्ज थिएटरले गरेको ‘गीत, गजल र शीतल’ को १३ औं शृंखलामा उनी सम्मानित भएका हुन् । यसअघिको शृंखलामा गायिका मीना निरौला सम्मानित भएकी थिइन् । 

गायक परियार सम्मानित

नेपाल टेलिभिजनका निर्देशक टंक पन्त र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले परियारलाई खादा, माला र दोसल्ला ओढाई अभिनन्दन–पत्र प्रदान गरे । सम्मानित गायकले केही भारी जिम्मेवारी थपिएको बताउँदै नेपाली गीतसंगीतको श्रीवृद्धिमा निरन्तर लाग्ने प्रण गरे । राजामहाराजाको महलमा गाउने गजल गायनको परम्परालाई तोड्दै अन्य सामान्य गीतजस्तै गाउन सकिन्छ भन्ने मान्यतामा आफू केही अगाडि बढेको उनले सुनाए । नेपाली संगीत विकृत बन्दै गइरहेको प्रसंग जोड्दै उनले भने, ‘हाम्रो गीतसंगीत अझै पनि जात, धर्म, भाषाजस्ता पक्षमा अडिएको छ ।’


उनले कार्यक्रममा ‘कहाँ थियौ तिमी...’, ‘संगी...’, ‘पिलायो साथीले...’ लगायतका गजल गायन प्रस्तुत गरे । कार्यक्रममा कवि तथा गीतकार विप्लव प्रतीक र गजलकार शीलत कादम्बिनीले गीत, कविता तथा गजल वाचन गरे । प्रतीकले माया, प्रेमभावका ‘एक्लै गयौं पर...’, ‘फरक यात्रा हामी दुईको...’, ‘फूलको चर्चामा सहर...’ लगायतका मन छुने आधा दर्जनभन्दा बढी गीत सुनाउँदा हलमा शून्यता छाएको थियो । प्रस्तुति सकेलगत्तै हरेकपल्ट उनले गर्ने रमाइला कुराले दर्शक हौसिएका थिए । कादम्बिनीको उस्तै उत्कृष्ट गजल र गीत वाचनबाट दर्शक मग्न बने ।


प्रकाशित : फाल्गुन २५, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?