क्यानभासमा मछिन्द्र 

प्रकाश बराल

(बागलुङ) — उनी सार्वजनिक कार्यक्रममा देखिँदैनन् । बजारका चोकमा पुगेर गफ गर्ने, चिया पिउने फुर्सद पनि छैन । बरु दैनिक क्यानभास र चित्र लेखनमा घोरिएको भेटिन्छन् । 

क्यानभासमा मछिन्द्र 

सदरमुकाम बागलुङ बजारका चित्रकार मछिन्द्र शाक्य एकान्त बास रुचाउँछन् । हरेक दिन केही न केही कोरिरहेको भेटिन्छन् । घरैमा आएकासँग पनि उनी उतिसारो बोल्दैनन् । बरु के काम गर्ने भन्ने सोचिरहन्छन् । व्यक्तिको चित्र ‘प्रोट्रेट’ र प्रकृतिको चित्र ‘ल्याण्ड स्केप’ कोर्न धेरै रुचाउँछन् ।


देखिरहेको मानिस भए सिधै र नदेखेको भए फोटो हेरेर चित्र कोर्छन । चित्र कोर्न थालेको ३० बर्ष भयो । सुरुसुरुमा अप्ठ्यारो लाग्ने उनलाई अहिले चित्र नकोरेको दिन निद्रै लाग्दैन । ‘पसल भएकाले ब्यानर लेखेर पनि पैसा कमाउँछु, मनग्ये पैसा हात परे पनि क्यानभास नभेटी सन्तुष्टि मिल्दैन’ उनले भने, ‘न पढें, न तालिम गरें, तर जीवन क्यानभासमै बिताउने चाहना छ ।’ मानविकीमा स्नातकोत्तर पढे पनि उनले कलाबाटै जीवन बुझ्न पाएको बताए ।


सरकारी तथा गैरसरकारी संस्थाले बोर्ड लेख्न लगाउँछन् । छोटो समयमै पैसा कमाउन त्यो काम सजिलो छ भन्छन् शाक्य । ‘दैनिक एक/दुई वटा बोर्ड लेखेपछि २ हजार कमाइ हुन्छ, त्यसले खान पुग्छ,’ उनले भने, ‘सन्तुष्टिका लागि क्यानभासमै रमाउनुपर्छ ।’ क्यानभासका चित्र कोरेको १० वर्षसम्म पनि नबिक्न सक्छ । ‘चित्रको महत्त्वबारे बुझेनन् भने पैसा लिएर होइन, सित्तैमा दिए पनि बिक्दैन,’ उनले भने, ‘ल्यान्डस्केप खोज्ने भने धेरै हुन्छन् ।’ तर ती चित्र तयार पार्न साता दिनसम्म पनि लाग्छ । धेरै घोरिनुपर्छ, ठूलो क्यानभास, धेरै दिन, धेरै रंगरोगनले महँगो पर्ने उनले बताए ।


महँगो भएकोले धेरैले क्यानभास किन्दैनन् । केहीले भने चित्रको मूल्य बुझ्छन् र भनेजति तिर्न तयार हुन्छन् । शाक्यले १५ हजारदेखि २० हजारसम्म पनि मूल्य पारेका छन् । तर ती एक/दुई वटामा मात्र हो । प्रोट्रेट भने उनले राष्ट्रिय विभूति र पूर्वराजाहरूको बनाउने गर्छन् । पूर्वराजाहरूको चित्र किन्ने आजकल भेटिँदैनन् । कतिपय उनको स्टोरमा थन्केका छन् । त्यसैले उनले देवीदेवताको चित्र कोर्न थालेका छन् । सरस्वती, कृष्ण, बुद्ध र शिवका चित्र धेरैले किन्न खोज्छन् । बीपी कोइरालाको चित्र धेरैले मन पराउँछन् । मदन भण्डारीको चित्र घरैमा आएर किन्ने र अर्डर गर्ने पनि धेरै भएको उनले बताए । ‘अरू धेरै नेताको चित्र बनाएर राखेको छैन, अर्डर आयो भने बनाउँछु,’ शाक्यले भने । उनले बागलुङ कालीका मन्दिर, पुरानो र नयाँ राधाकृष्ण मन्दिर, बौद्ध विहार, पशुपतिनाथ, मुक्तिनाथ, गलेश्वर, बागलुङ बजार, धौलागिरी र माछापुच्छ्रे हिमाल धेरै बनाउने गरेको बताए ।


एकपटक देखेको मानिस वा फोटो भेटेपछि उनले सजिलै चित्र बनाउन सक्छन् । उनले अधिकांश चित्रका लागि तेल रंग, पानी रंग, एक्रेलिकलगायत रंग प्रयोग गर्छन् । २०४६ मा राजा वीरेन्द्रको पश्चिमाञ्चल भ्रमण थियो । बागलुङमा पनि राजा आउँदै छन् भनेपछि ब्यानर बनाउने लहर चल्यो । ब्यानर लेख्न कपडामा इनामेल प्रयोग हुन्थ्यो । लेखन क्षमता भएका शाक्य जेठा मात्र थिए । ७१ वर्षे मुकुन्द शाक्यको साहित्यिक नाम शाक्य जेठा हो । जेठाले मात्र हरेक संघसंस्थाका ब्यानर र बोर्ड बनाउन भ्याएनन् । मछिन्द्रका बाबुले गरेको काम देखेर छोरालाई थाहा छ भन्दै धेरैले लेख्न लगाए । बाबु पदमप्रसाद शाक्यबाट उनले यसरी चित्र कोर्ने काम सिके ।

प्रकाशित : फाल्गुन २४, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?