मुहार हेर्दै चित्र
काठमाडौँ — दौरा–सुरुवाल, कालो कोट, ढाका टोपी, रातो–सेतो रंग मिश्रित गलबन्दी पहिरनमा देखिएका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती शनिबार एक दर्जनभन्दा बढी चित्रकारहरू माझ घेरिएका थिए ।
उप्रेतीको हँसिलो, उत्साहित मुहार, भेषभूषा र अनुहारको बनावटलाई दुरुस्तै उतार्न चित्रकारहरू व्यस्त देखिन्थे ।
इन्टरनेसनल वाटर कलर सोसाइटी (आईडब्लूएस) नेपालले गरेको ‘कोरौं मुहार चित्र’ कार्यक्रमअन्तर्गत स्रष्टाहरूसँगको साप्ताहिक प्रत्यक्ष मुहार चित्र अभियानमा यो साता कुलपति उप्रेतीलाई जल रंगका माध्यममा उतारिँदै थियो ।
मुहार चित्रलाई प्राथमिकतामा राखेर चित्र सिर्जना गरिरहेका सोसाइटीका अध्यक्ष एनबी गुरुङसहित डी राम पाल्पाली, दीपेन्द्रमान बनेपाली, चन्द्र ताम्राकार, लालकाजी लामा, डीबी गुरुङ, शैलेश गुरुङ, भीम श्रेष्ठ, पकबहादुर थापालगायत चित्रकार कुची र रंगको सहायताले उप्रेतीलाई क्यानभासमा उतार्दै थिए । पाल्पालीले उप्रेतीको स्केचसँगै उनको मुहार र भेषभूषालाई मिलाउँदै गर्दा चित्रले सुन्दर रूप लिइरहेको थियो । चित्रकार श्रेष्ठ, गुरुङलगायतले पनि उप्रेतीको स्केचलाई दुरुस्तै उतार्ने कोसिस गरिरहेका थिए । चित्रकार शैलेश गुरुङले भने उप्रेतीको मुहारको रंग र टोपीको रंगसहितको पोट्रेट सबैभन्दा अगाडि तयार पारिसकेका थिए । आफ्नो मुहार प्रत्यक्ष उतारिँदै गर्दा उप्रेती मख्ख थिए । उनको हेराइ, अनुहारको अभिव्यक्तिलाई समेत चित्रमा उतार्न निकै चनाखो रूपमा चित्रकारहरू घरी आफ्नो कलाकृति र घरी उप्रेतीतिर नै आँखा पुर्यइरहेका थिए ।
राजधानीको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यको प्रत्यक्ष मुहार चित्र सिर्जनासँगै दुई हप्ताअघि यस अभियानलाई सुरु गरिएको थियो । यो समूहले अघिल्लो शनिबार नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) को मुहार चित्र बनाएका थिए । मुलुकका प्रतिष्ठित व्यक्तिहरूको मुहार चित्रसँगै यसलाई विस्तार र जनस्तरसम्म पुर्याउन अभियान सुरु गरिएको अध्यक्ष गुरुङ बताए । मुहार चित्र अन्य चित्रभन्दा केही कठिन रहेको गुरुङको अनुभव छ । पछिल्लो समय जलरंग माध्यममा बनाइएका मुहार चित्रमा केही कमी देखिएकोले अभियानबाट नै यसलाई जगाउने समूहको उद्देश्य रहेको उनले खुलाए ।
चित्र उतार्दे गरेका चित्रकार पाल्पालीले जलरंगमा प्रत्यक्ष मुहार चित्र बनाउनु कठिन नै रहेको ठहर गरे । ‘मुहार चित्रमा व्यक्तिगत चरित्र चित्रण भएको हुनुपर्छ,’ उनले भने, ‘जलरंगसँग खेल्दै मुहार चित्र बनाउँदा कुन रंग कति मात्रामा र कुन स्पेसमा प्रयोग गर्नेबारे पहिले नै थाहा हुनुपर्छ ।’ चित्रमा हुने पात्र र परिवेशलाई समेत ख्याल गर्दै रंगको उचित प्रयोग र संयोजन हुनुपर्ने उनले उल्लेख गरे । उनको कुरामा सहमति जनाउँदै गुरुङले कठिनाइसँगै चित्र बिग्रिने सम्भावना भएकोले हाल मुहार चित्र र जलरंगको प्रयोग कमैले मात्र गर्ने सुनाए । अभियानबाट चित्रकारको सहभागिताले यो अभावलाई टार्ने गुरुङको विश्वास छ ।
नेपालमा मुहार चित्र
नेपालमा परम्परागत चित्रकलाको शैलीलाई छोडेर पश्चिमा शैलीका चित्रहरू सिर्जना गर्ने क्रममा नै मुहार चित्रको सुरुवात भएको पाइन्छ । कला समीक्षक तथा चित्रकार रमेश खनालका अनुसार बेलायती रेजिडेन्ट ब्रायन हड्सनले अध्ययन/अनुसन्धान गर्ने क्रममा नेपालबाट चित्रकारहरू राजमानसिंह चित्रकार, भाजुमान चित्रकारलगायतका समूहले मठमन्दिर, पशुपक्षी, नेपाली जनजीवन र मुहार चित्रहरू बनाएका थिए ।
१९०७ सालमा राणा प्रधानमन्त्री जंगबहादुरको बेलायत भ्रमण पछि दरबारभित्र नै मुहार चित्रले तीव्रता पाएको थियो । उनीसँगै गएका चित्रकार भाजुमानले त्यहाँको पश्चिमा शैलीको चित्रकला अवलोकनपछि नेपालमा फर्केपछि दरबारका सदस्यहरूको मुहार चित्रहरू बनाए ।
तिनताक भीमनारायण चित्रकार, पूर्णमान चित्रकार, बखतमान चित्रकार, दीर्घमान चित्रकार लगायतले दरबारभित्र नै सीमित रहेर थुप्रै मुहार चित्रहरू बनाएका थिए । १९८० को दशकपछि चित्रकारहरूद्वय चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकारले पहिलोपल्ट भारतमा गई औपचारिक रूपमा नै कलासम्बन्धी अध्ययन गरे ।
उनीहरूले यथार्थवादी र वस्तुवादी चित्रहरूअन्तर्गत दृश्य चित्रहरू र मुहार चित्रलाई निरन्तरता दिएका थिए । त्यसपश्चात् बालकृष्ण समसँगैका समकालीन चित्रकारले अगाडि बढाएको यस चित्रले डेढ शताब्दीभन्दा अघिदेखिको इतिहास बोकेको छ ।
कुलपति कर्माचार्य र पोखराका चित्रकार आलोक गुरुङदेखि नयाँ पुस्ता हुँदै हालसम्मको अवस्थामा पनि यस विधाले खासै गति लिन सकेको छैन । कलासम्बन्धी ज्ञानको अभावले नै अन्य चित्रभन्दा मुहार चित्रले फड्को मार्न नसकेको खनाल स्विकार्छन् ।
खनाल पोखराका चित्रकार आलोक गुरुङलाई राम्रो मुहार चित्रकार मान्छन् । युवापुस्ताका रूपमा मानिने चित्रकारहरूको समूह आईडब्लूएस नेपालले जलरंग र मुहार चित्रलाई निकै सशक्त रूपमा अगाडि बढाएर कलाक्षेत्रलाई माथि उठाएको उनको दाबी छ ।
साप्ताहिक अभियान कार्यक्रमबाट नै मुहार चित्रलाई व्यापक बनाउने सोच अध्यक्ष गुरुङको छ । यसबाट नै व्यक्तिगत चित्रहरू बनाउने हुटहुटीसँगै चित्रकारहरूको आर्थिक आयआर्जनसमेत हुने कुरामा उनी ढुक्क छन् ।