कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

वस्त्रहीन सिर्जना

शरीरका कपडा उतार्नु मात्र नग्नता होइन । यसलाई अश्लीलता र महिलासँग मात्र जोडिनु गलत हो ।
सुशीला तामा‌ङ

काठमाडौँ — मान्छेका भीडमा गुप्तांगलाई मुखौटाले ढाकेर निःवस्त्र आए उनी । सुनौलो चम्किलो वस्तुले ढाकिएको मुहार, अनि हातमा रातो गुलाब । ढुंगा र केराले बनाएको घेराभित्र रहेका उनलाई दर्शकले पालैपालो सेतो रंगले रंगाए ।

वस्त्रहीन सिर्जना

बिहीबार पाटनढोका चाकुपाटस्थित एमक्यूब ग्यालरीमा ‘कोकोनट ब्यान्डेज’ शीर्षक दिएर कलाकार सुन्दर लामाले पर्फमेन्स आर्ट प्रस्तुति गरिरहँदा दर्शक निकै अनौठो मानेर हेरिरहेका थिए । केहीले भने संकोच मान्दै थिए ।


मानव शरीरलाई लाजले ढाकेको यथार्थतालाई कलाकार लामाले कविता, चित्र र पर्फमेन्स आर्टमार्फत देखाएका थिए । ‘मानवीय व्यवहारमा हुने लाजले गर्दा नै हामी हाम्रै शरीरबाट टाढा छौं’, उनले आफ्नो कला प्रयोजन खुलाए, ‘निःवश्त्र शरीरलाई लाजको रूपमा लिने परम्परागत मान्यतामा अडिएका छौं ।’ त्यसको ठिक विपरीत उनले भने शरीरलाई शुद्धतासँग तुलना गर्दै पुरुष अण्डकोषलाई प्रतिविम्बका रूपमा प्रस्तुत गरेका थिए । वस्त्रबिना नै पृथ्वीमा आउने मान्छे र सभ्यताको विकास क्रमलाई समेत आफ्नो प्रस्तुतिले जोडेको उनको ठहर छ ।


ग्यालरीमा ‘२० सेड्स अफ न्युड’ शीर्षकको प्रदर्शनीमा अन्य १९ जना चित्रकार तथा कलाकारहरूले न्युड आर्टकै माध्यममा मानव शरीरलाई एउटा महोत्सवकै रूपमा प्रस्तुत गरेका छन् । प्रदर्शनी कक्षमा रहेका चित्रकला, प्रतिस्थापन, स्कल्पचर, फोटोग्राफी, भिडियोजस्ता कलाकृतिमा सबैले मानव शरीरको अस्तित्व अर्थ्याउने जमर्को गरेका छन् । सबैजसो कलाकृति वस्त्रहीन नै छन् । अग्रज चित्रकार मुक्तिसिंह थापाले ‘सुन्दर संसार’ शीर्षकमा परम्परागत पौभा चित्रलाई न्युड आर्टका रूपमा ढालेका छन् । त्यस्तै चित्रकार संगीता थापाको निकै पुरानो न्युड चित्र प्रदर्शनीमा राखेकी छन् । लय मैनाली, विजय महर्जनजस्ता कलाकारहरूको कलाकृतिमा पनि वस्त्रविहीन शरीर देखाइएको छ ।


लामो समयदेखि न्युड आर्टलाई नै निरन्तरता दिइरहेका चित्रकार तथा प्रदर्शनीका क्युरेटर कपिलमणि दीक्षितले पुरुष शरीरलाई ‘न्युड’ शीर्षक दिएर चित्रका उतारेका छन् । कालो र सेतो रंगमा देखाइएको चित्रमा शिवको स्वरूपलाई झल्काइएको उनले बताए । वस्त्रहीन न्युड आर्ट भन्नेबित्तिकै महिला शरीरसँग तुलना गर्नै पर्ने आमविचारलाई तोड्न उक्त चित्रले सघाउ पुर्‍याउने दीक्षितको विश्वास छ । ‘मानिसको सर्वस्व र पहिलो सम्पत्ति भन्नु नै उसको आफ्नो शरीर हो,’ उनी थप्छन्, ‘लाज, समाजको विविध मान्यता र प्रतिष्ठाको नाममा हामी आफैंसँग टाढिँदै गइरहेका छौं ।’ उनका अनुसार शरीरका कपडा उतार्नु मात्र नग्नता होइन । यसलाई अश्लीलता र महिलासँग मात्र जोडिनु पनि गलत हो ।


अर्का चित्रकार रोशन वज्राचार्यले ‘न्युडिटी अफ ब्रेस्ट’ शीर्षकमा महिला स्तनको महत्त्व दर्साएका छन् । स्तनमा सानो बच्चा, ठूलो र डाक्टरको हातले छोएको जस्तो देखिने एक्रेलिक माध्यममा बनाइएका तीनवटा चित्र हेर्दा अश्लीलजस्तो देखिए पनि वज्राचार्यले स्तनलाई महिलाको आफ्नो अंगभन्दा पनि बच्चा, कुनै माया गर्ने पुरुषका लागि मात्र सौन्दर्यको रूपमा हेरिने परिपाटीलाई तोड्न खोजेका छन् । लाजकै रूपमा हेरिने मान्यताले गर्दा आज बढ्दै गइरहेको स्तन क्यान्सर जस्तो जटिल समस्या समेत उनले कलामार्फत उठान गरेका छन् ।


त्यस्तै चित्रकार मुकेश श्रेष्ठले मोटो शरीरलाई लिएर गर्ने टिप्पणीलाई केन्द्रित गर्दै अरूले जे भने पनि पहिले हामीले आफ्नो शरीरलाई बुझौं र माया गरौं भन्ने सन्देश दिएका छन् । चित्रकार भाइराजा महर्जनले शरीरलाई प्रकृतिको आकारसँग तुलना गरेका छन् ।


उनले थाइल्यान्डको प्रकृति र समुद्री सतहमा देखिएका रूपहरूजस्तै शरीरलाई विभिन्न आशनमा प्रस्तुत गरेका छन् । चित्रकार तथा क्युरेटर मनीषलाल श्रेष्ठले शरीरका भिन्नभिन्न अंगलाई नै प्राथमिकतामा राखेर चित्रमा परिभाषित गरेका छन् ।


प्रदर्शनीमा एन्जिला मानन्धरले शरीरका खुट्टाका भागलाई न्युड कलाका रूपमा देखाइएकी छन् भने उमा विष्टले फोटोग्राफीमार्फत पितृसत्तात्मक समाजमा महिला शरीरको पीडालाई पुरुष शरीरमा रूपान्तरण गर्न खोजेकी छन् । त्यस्तै रोशन मिश्रले पहेँलो र गुलाबी रंगको भित्री वस्त्रलाई लैंगिकता जनाउने विभिन्न शब्दहरूको बक्समा राखेर शरीर र यसको औचित्य बुझाउने लैंगिक मान्यता माथि नै व्यंग्य गरेका छन् । विश्वम्बर बस्नेतले मेटल तारका माध्यमबाट बनाइएको स्कप्चरमा फेसबुकजस्ता सामाजिक सञ्जाल बोकेको निःवश्त्र पुरुष शरीरमार्फत दिनानुदिन मानिस प्रविधिको दुनियाँमा नग्न हुँदै गएको यथार्थ उजागर गरेका छन् ।


प्रदर्शनीले आफ्नै शरीरको सुन्दरतालाई नजिकबाट नियाल्नुपर्छ भन्ने मान्यता विकास गर्ने चित्रकार दीक्षितले बताए । प्रदर्शनीमा आशा डंगोल, जुपिटर प्रधान, आदित्य अर्याललगायतका कलाकृति पनि प्रदर्शनरत छन् ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?