१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सिर्जनामा देशप्रेम

कान्तिपुर संवाददाता

काठमाडौँ — परदेश पुगेपछि मात्रै धेरैलाई महसुस हुन्छ कि, स्वेदशमा सुन फल्ने धान खेत बाँझै छ । खाडीको रापले पोलेपछि मात्रै मुलुककै हिमाल, हरियाली डाँडापाखा र कन्दराको याद आउँछ ।

सिर्जनामा देशप्रेम

आमाको न्यानो काख, बिदाइमा झरेका आँसु, जन्मेको थातथलो अनि सँगै हाँसखेल गर्ने दौंतरी । सपना बोकेर प्रवास पुगेका कैयौं युवाको आममनोविज्ञान हो यो । यही मनोभाव पकडेर अर्घाखाँचीका युवा कवि किशोर आचार्यले सुनाएको कविता ‘देशबाहिरबाट देश’ शीर्षकको कविताले ३१ कविलाई पछाडि पार्दै पहिलो स्थान हासिल गर्‍यो ।


आइतबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा न्हुजः पुस्तकालय र टोखा नगरपालिकाले गरेको ‘राष्ट्रिय युवा कविता प्रतियोगिता–२०७६’मा आचार्यले सबैभन्दा बढी तालीसमेत पाए । देशभित्रै बसेर मुलुकको नवनिर्माणमा जुट्न सकिने भाव समातेर झापाका कवि केशव भट्टराईले कोरेको ‘देशभित्रै देश छ’ शीर्षकको कविताले दोस्रो हुँदा रसुवाका जीवन आरोहीको ‘पाठशाला र नानीहरू’ शीर्षकको कविता तेस्रो क्रममा पर्‍यो । कास्कीका प्रकाश आचार्यको ‘संकल्प’, काभ्रेका सुनिता भेटवालको ‘चन्द्र सूर्यको स्वाधीन रङ’ र रौतहटका मनोजकुमार विश्वकर्माको ‘सम्बोधन’ शीर्षकका कविताले सान्त्वना पुरस्कार पाए । पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान पाएका कविले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ पाए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले पुरस्कार हस्तान्तरण गरे । कार्यक्रममा स्रष्टा पूर्ण वैद्यलाई ५० हजार रुपैयाँसहितको ‘न्हुज प्रगतिशील साहित्य पुरस्कार’ समेत प्रदान गरियो ।


समृद्ध र समुन्नत मुलुकका लागि युवालाई सकारात्मक सोच र देशभक्तिको भावना जागृत गर्ने उद्देश्यले प्रतियोगिता गरिएको न्हुजः पुस्तकालयका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । उनका अनुसार मुलुकभरका १ सय ६० जना कविका कविता प्राप्त भए पनि उत्कृष्ट सय हुँदै ३१ का कविता मात्रै वाचनमा छानिएका हुन् ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?