कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

८४ वर्षमा एल्बम

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘माया लुकाई लुक्दैन...’, ‘कोइलीले सम्झाइदियो...’ जस्ता गीतका अग्रज स्रष्टा संगीतकार तथा गायक जगतमर्दन थापाले ८४ वर्षको उमेरमा गीति एल्बम ‘म मक्किएको धुरी खाँबो’ ल्याएका छन् ।

गायक थापाको ८४ औं जन्मोत्सवको अवसरमा बिहीबार राजधानीमा अग्रज संगीतकार प्रेमध्वज प्रधान, गीतकार यादव खरेल, चलचित्रकर्मी प्रकाश सायमी, थापाका छोरा मोहित मर्दन लगायतले लोकार्पण गरे । एल्बमको शीर्ष गीत र ‘फेरि साथ मेरै...’ को म्युजिक भिडियो पनि समारोहमा सार्वजनिक गरियो ।


कार्यक्रममा निकै जोसिला देखिएका गायक थापाले आधा दर्जन गीत प्रस्तुत गरे । भारतीय गायिका लिली सिंहको स्मरण गर्दै उनले विसं. २०१९ सालतिर नै भारतमा रेकर्ड भएका उनका गीत ‘भन लौ नढाँटी...’, ‘जुनेली रातमा कति बसूँ...’ जस्ता गीत पनि सुनाए । एल्बममा नै समावेश रत्नशमशेर थापाको शब्द तथा शक्ति वल्लभको संगीत रहेको ‘आली आली हरियाली...’, सहदेव ढुंगानाको शब्द र मनोहर सुनामको संगीत रहेको ‘दैव संजोग...’ लगायतका गीत प्रस्तुत गर्दा हल नै तालीले गुन्जायमान भएको थियो ।


उनलाई गायिका सरिता शाही र जिना रसाइलीले गायनमा साथ दिएका थिए । गायक थापासँगै बालगायक आयुष्मान विष्टले पनि प्रधानको स्वर रहेको ‘तारा मात्र होइन...’ लगायतका गीत गाएका थिए । गीतसंगीत सिर्जनामा आफ्नो उत्तिकै लगाव रहेको खुलाउँदै थापाले साथ दिने सबैप्रति आभार व्यक्त गर्दै छैटौं एल्बमका लागि पनि तयारी सुरु भएको जनाए ।


गायक प्रधान र सायमीले थापाको संगीतप्रतिको साधनाको खुलेरै प्रशंसा गरे । गायक थापालाई संगीतले झन स्वस्थ बनाएको बताउँदै प्रधानले ‘जो पायो त्यसले थापाको उमेरमा गाउन नसक्ने’ जिकिर गरे । भने, ‘यो उमेरमा गायन निकै कठिन छ । जगतमर्दन थापाको प्रयास निकै प्रशंनीय छ ।’


गीतकार हर्क साउदको शब्द तथा कल्याण सिंहको संगीत रहेको शीर्ष गीतमा गायक थापालाई स्वरमा दिपेशकिशोर भट्टराईले साथ दिएका छन् । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा विकास धमलाको सम्पादन र बुद्ध थापाको छायांकन छ । भिडियोमा टीका पहाडी, विक्रम श्रेष्ठ, नवीन पौडेलको अभिनय रहेको छ ।


प्रकाशित : फाल्गुन ९, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?