तस्बिरमा कर्णाली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली भाषाको पहिलो अभिलेख भएको जिल्लाको हो दैलेख । यो अभिलेख सुरक्षित छ दुल्लुमा । श्रीस्थान, नाभिस्थान, पादुका र कोटिकाजस्ता मल्लकालीन पञ्चतीर्थ स्थल यहीँ छन् । नाभी स्थानको कहिल्यै ननिभ्ने ज्वाला दैलेखको अर्को परिचय हो । मारुनी, गर्रा, हुड्के, पैसरीजस्ता लोकनाच त छँदै छन् । 

तस्बिरमा कर्णाली

सुर्खेतको काँक्रेविहार दोस्रो लुम्बिनीको रूपमा परिचित छ । देउती बज्यै, बुलबुले ताल, सुर्खेत गढीजस्ता प्राकृतिक सांस्कृतिक सम्पदाको सुर्खेतको अर्को परिचय हो । रुक्मेणी देवीको मन्दिर रहेको थलोको नाम हो रुकुमकोट । यही नामबाट जन्मियो रुकुम जिल्ला । द्वन्द्वकालसित मात्रै जोडेर हेरिने यही जिल्लामा छन् सिस्ने हिमाल, स्यार्पु ताल, रिम्ना दोभानजस्ता रमणीय थलो ।


मुलुककै सबैभन्दा उच्च स्थानमा रहेको मानवबस्ती मानिन्छ डोल्पाको धो गाउँ । विश्वकै सबैभन्दा उच्च स्थानमा अन्न उब्जाएर खाने थलोको रूपमा पनि दाबी गरिन्छ यो उच्च हिमाली गाउँलाई । कर्णाली प्रदेशका यी र यस्ता थुप्रै प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक थलो समेटेर फोटो पत्रकार भरतबन्धु थापाले हालै तस्बिर कृति निकालेका छन्– ‘गन्तव्य कर्णाली’ । डेढ दशकदेखि पश्चिम नेपाल केन्द्रित रहेर फोटाग्राफी गरिरहेका उनले कर्णाली प्रदेशका दसैवटा जिल्ला समेटेर फोटो किताब निकालेका हुन् ।


नेपाली भाषामा लेखिएको पहिलो दामुपालको अभिलेख, नेपाली भाषाकै उद्गम थलो सिंजा, सबैभन्दा ठूलो रारा ताल, गहिरो फोकसुन्डो तालदेखि मुलुककै ठूलो से–फोकसुन्डो राष्ट्रिय निकुञ्ज, सबैभन्दा उच्च स्थानमा फल्ने मार्सी धान, एक हजारभन्दा पुरानो हुम्लाको हल्जी गुम्बा, जाजरकोट दरबार, दैलेखको भुर्तिका बाइस देवल, जुम्लाको काञ्जीरोवा, पातारासी हिमाल, चन्दननाथ मन्दिरसम्मका तस्बिर कृतिमा समेटिएका छन् । ‘मुलुकमा संघीयता स्थापना भइसकेको भए पनि स्थानीय सांस्कृतिक सम्पदा, प्रकृति र लोक पहिचान अझै राष्ट्रिय स्तरमा प्रवर्द्धन हुन सकेको छैन,’ तस्बिरमार्फत कर्णाली खोजी कार्यबारे उनले प्रस्ट्याए, ‘मेरो लागि यो सोख मात्र नभई अभियानजस्तै बन्यो ।’ यो अभियान उनको नयाँ भने हैन ।


सन् २०१३ मै उनले मध्य र सुदूरपश्चिमलाई समेटेर ‘वाइल्ड वेस्ट नेपाल’ नामक फोटो किताब निकालेका थिए । बर्दियाको पर्यटकीय नक्सा प्रकाशनमा पनि उनको भूमिका छ । काठमाडौं, भक्तपुर, पोखरा, बाँके, सुर्खेत, दैलेख, धनगढीलगायतका थलोमा उनले १० पटक एकल तस्बिर प्रदर्शनी गरिसकेका छन् । दैलेखको भगवतीमाई, कट्टी मन्घरका थापा राजधानी बसेर पत्रकारिता गरिरहेका भए पनि बेला–बेला पश्चिमका सुदूर कुना कन्दरा पुग्छन् ।


तस्बिरमार्फत मूर्त र अमूर्त दुवै प्रकृतिका संस्कृति र सम्पदा प्रवर्द्धन गरिरहेका उनले पछिल्लो पुस्तक ‘गन्तव्य कर्णाली’ मा तस्बिरसँगै विस्तृत विवरण समेत समेटेका छन् । यतिबेला चाहिँ उनी पश्चिम नेपालसँगै कर्णाली प्रदेशका प्रत्येक जिल्लाका पर्यटकीय स्थल समेट्ने तस्बिर पुस्तकमा काम गरिरहेका छन् । ‘पश्चिम नेपालका बाँकी प्रदेश केन्द्रित गरेर पनि पर्यटकीय र सांस्कृतिक थलोको फोटो पुस्तक प्रकाशन गर्ने सोचमा छु,’ उनले भने ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?