कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एकै थलोमा १५ संस्कृति

सम्झना रसाइली

(तनहुँ) — स्टेज एउटा, संस्कृति अनेक । स्थानीय मौलिक संस्कृतिका आकर्षक झाँकी । व्यास नगरपालिकाले गरेको बहुजातीय लोक सांस्कृतिक महोत्सवमा एकसाथ १५ समुदायका नाचगान लोभलाग्दा थिए । 

एकै थलोमा १५ संस्कृति

जातीय पहिचान झल्कने भेषभूषासहित दमौलीमा सांस्कृतिक झाँकी प्रदर्शनपछि खुल्लाचौरमा गरिएको महोत्सवको उद्घाटन लोपोन्मुख कुसुण्डा समुदायकी ११ वर्षीय बालिका सिमान्ता कुसुण्डाले गरेकी थिइन् ।


आमा इन्द्रामाया र बुबा दिवंगत राजामामा कुसुण्डाकी एकली छोरी सिमान्ता प्रमुख अतिथि बनेकी हुन् । आदिवासी जनजाति समुदायको परम्परागत भेषमा सजिएकी सिमान्ता आफ्नो समुदायको भाषा, संस्कृति साथै भेषभूषाका विषयमा समेत सिमान्ता अनविज्ञ छन् ।


महोत्सवमा ब्राम्हण, नेवार, मगर, गुरुङ, कुमाल, दरै, बोटे, चेपाङ, दुरा, गन्धर्व, भुजेल, परियार, रानाभाट, तामाङ, क्षेत्री, दशनामीलगायतका समुदायले आ–आफ्नो मौलिक पहिचान झल्कने परम्परागत सांस्कृतिक कार्यक्रम प्रस्तुत

गरेका छन् । एउटै थलोमा कौरा, चुड्का, रोइला, घाँटु, तरबार नाच, पाउदुरे, सेलो, सोराठी, लाखे नाच, कुमारी नाच, झ्याउरे नाच, भजन, बालन लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन् । बिहीबारसम्म जारी रहने महोत्सवमा विभिन्न १५ समुदायले करिब २६ सांस्कृतिक प्रस्तुति दिने जातीय समन्वय समितिका संयोजक नन्दु थापामगरले बताए ।


तनहुँमा बसोबास गर्ने विभिन्न समुदायको सांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धन गर्न महोत्सवले सघाउने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल तनहुँकी अध्यक्ष सीतामाया गुरुङले बताइन् । यस्तै, व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपालने नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न समुदायका लोपोन्मुख मौलिक कला संस्कृतिको प्रवर्द्धन गर्न महोत्सव उपलब्धिमूलक हुने दाबी गरे । यस्तै, विभिन्न जातजातिबीचको लोक सांस्कृतिक अन्तरघुलनका लागि पनि महोत्सव अर्थपूर्ण रहेको प्रतिष्ठान जिल्ला कार्यसमितिका प्रथम उपाध्यक्ष श्रीराम गन्धर्वले बताए ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?