प्रभाववादी प्रकृति

सुशीला तामा‌ङ

काठमाडौँ — ढकमक्क लालीगुँरास फुलेका छन् । त्यतै नजिकै समुद्रकिनारामा छालको वेग देखिन्छ । किनारासँगै टाढासम्म फैलिएका हरियाली फाँट, आकाशको नीलो सतह र सूर्यको किरण पर्खिरहेको जंगलका रंग निकै लोभलाग्दा छन् । 
लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा मंगलबारदेखि प्रदर्शन गरिएका रुरु लम्साल खनालका चित्रहरू झट्ट हेर्दा ल्यान्डस्केप शैलीका देखिन्छन् ।

प्रभाववादी प्रकृति

चित्रकार लम्साल भने आफ्ना चित्रलाई प्रभाववादी रूपमा लिन्छिन् । तैल रंगका माध्यममा तयार गरिएका उनका दुई दर्जनभन्दा चित्रमा प्रकृतिकै चित्रण पाइन्छ ।


ल्यान्डस्केप र प्रभाववादी चित्रले एउटै विषयवस्तु समेट्ने भए पनि दुवैको आफ्नै विशेषता रहेको चित्रकार एनबी गुरुङ बताउँछन् । यसै शैलीका चित्रमा निरन्तरता दिइरहेका गुरुङले यस्ता सिर्जनामा तत्कालीन समयको रंग, प्रकाश र छायालाई विशेष रूपमा प्रस्तुत गरिने सुनाउँछन् ।


१९ औं शताब्दीमा जेएमडब्लू टर्नर, जोन कस्टेबलजस्ता चित्रकार यस शैलीमा अगाडि बढेको पाइन्छ । गुरुङका अनुसार नेपालमा करिब पाँच/छ दशकअघि नै यस्ता चित्र अभ्यास भएको देखिन्छ । त्यतिखेर रामानन्द जोशी, दुर्गा बराललगायतले यस शैलीलाई मलजल गर्नै काम गरे । प्रभाववादी चित्रमा विशेष त रंग र प्रकाशको संयोजनसँग खेल्नु नै यसको चुनौतीका रूपमा रहेको गुरुङको अनुभव छ । अहिले उनीलगायतका सिर्जनराज भण्डारीजस्ता चित्रकारहरूले यस शैलीलाई पछ्याइरहेको पाइन्छ । प्रदर्शनीमा रहेका चित्रमा आएका विषयवस्तुभन्दा पनि त्यसमा प्रयुक्त रंगको संयोजन, प्रकाश र वस्तुमा देखाइएका छाया निकै आकर्षित गर्ने खालका छन् । डेढ दशकभन्दा अघिदेखि नै बेलायतमा बस्दै आएकी चित्रकार लम्सालले चित्रमा आफूले देखेको प्रकृतिलाई नै प्रभाववादी चित्रका रूपमा उतारेको खुलाइन् । उनका चित्रहरूमा बेलायत तथा नेपाल दुवैको परिवेशलाई समेटिएका छन् । समुद्र, जहाज, परालको रोल, वनजंगलका दृश्यमा उनले बेलायतलाई चित्रण गरेकी छन् ।


त्यस्तै, लालीगुँरासको फूलसँगै रातै भएको वन, गाई चरिरहेको हरियाली पहाडजस्ता चित्रमा उनले नेपाल देखाएकी छन् । प्रदर्शनी अवलोकन गर्दा लालीगुँरासको फूलमा देखिने रातो गाढा रंग होस् या हरियाली फाँटमा देखिएको गाढा हरियो रंगहरूले जोकोहीलाई लोभ्याउँछ । जहाज चल्दा पानीमा उठेको छाललाई चित्रण गरिएको चित्रमा पोखिएको नीलो, सेतो रंगले वास्तविकझैं भान हुन्छ । त्यस्तै, बेलायतका जंगलमा फुल्ने ल्याबेन्डर फूललाई बैजनी रंगमा निकै उत्कृष्ट रूपमा उतारिएको छ । टाढा पहाडको माथितिर तीव्र वेगमा रहेका बादलका लहरहरू, नीलो पृष्ठभूमिमा फैलिएका समानान्तर आकाशका रंगले खुसी र रमाइलो अनुभूति दिन्छ । समुद्री शान्त किनारामा रहेकी युवतीको चित्र र त्यसमा प्रयुक्त नीलो पानीको बहाव र कपडाको रंगको संयोजन निकै आकर्षक देखिन्छ ।


यो तेस्रो एकल चित्रकला प्रदर्शनी हो । हेर्दा सजिलोजस्तो लागे पनि प्रकृति र त्यसमा आउने हरेक पलपलको समयलाई चित्रमा रंगमा ढाल्ने कामलाई सहज नहुने उनको अनुभव छ । उनका अनुसार प्रभाववादी चित्रमा उही दृश्य भए पनि हेर्नेको आँखालाई केही फरकपन दिन निकै सजक बन्नुपर्ने हुन्छ । प्रदर्शनीमा रहेका चित्रहरूले बेलायत तथा नेपालको प्रकृति, भौगोलिक भूबनोटबारे दुवै मुलुकमा रहेका समानता र असमानताहरू आदानप्रदान हुने उनको विश्वास छ ।


चित्रकार तथा समीक्षक रमेश खनालले लम्सालको चित्रमा निखारपन आएको जनाए । प्रकृतिलाई नै आधार बनाएर सिर्जना गरिरहेका अन्य चित्रकारभन्दा उनको चित्रमा नौलोपन देखिएको उनले दाबी गरे । प्रदर्शनी फागुन ८ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?