१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘को–हस्बेन्ड’ अब्बल डकुमेन्ट्री

कान्तिपुर संवाददाता

काठमाडौँ — हुम्ला बरगाउँका धर्म, बुद्धि र च्या नर्बुकी एक्ली श्रीमती छिन् । उनीहरूका तीन सन्तान छन् । घरमा पालैपालो श्रीमतीसँग बस्छन् । माइला भाइले मन पराएर मागे पनि एउटै श्रीमती उनीहरू सबैले बाँडिरेहका छन् । दाइहरूले बिहे गर्दा भाउजूको उमेर १६ वर्ष थियो, जब कि च्या नुर्बु १० वर्षका मात्रै थिए । उनी कक्षा चारमा पढ्दै गर्दा बिहे भयो । पहिले बिहे भयो, पछि मात्रै माया बस्यो । 

‘को–हस्बेन्ड’ अब्बल डकुमेन्ट्री

बरगाउँकै नुर्बु र यामकी पनि एक्ली श्रीमती छिन् । भाउजूलाई श्रीमती मानेर बस्न पाउँदा याम निकै खुसी छन् । उनीहरूका दुई छोरी र दुई छोरा छन् । आफूभन्दा जेठी भाउजूलाई श्रीमती मानेकोमा उनलाई भने कुनै पश्चाताप छैन । बरगाउँकै सोनामको हकमा भने यो लागू भएन । उनले आफैंले मन पराएर ल्याएको श्रीमतीलाई भाउजू मानेर बस्न पर्ने भएपछि विद्रोह गरे । अनि अर्को बिहे गरे । तर, अर्को बिहे गरेपछि गाउँ समाजबाट बहिष्कृत भएका सोनाम १५ वर्षपछि यसपालि गाउँ फर्किए । तर, उनी आफैंले जन्माएको छोरी र धनसम्पत्ति सबै खोसिएको छ । सदरमुकाम सिमिकोटमा कष्टकर जीवन बिताइरहेका छन्, उनी ।


यसरी सुन्दै अचम्म लाग्ने बहुपति प्रथामाथि झन्डै तीन वर्ष लगाएर डकुमेन्ट्री फिल्म बनाएका थिए, गणेश पाण्डेले । यही फिल्म सोमबार सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्री ठहरियो । यसबापत् पाण्डेले ट्रफी र १ हजार अमेरिकी डलरको माउन्ट एभरेस्ट अवार्ड पाए । ‘हाम्रै मुलुकमा अनौठो संस्कृति अझै जीवित छ,’ अवार्ड उचालेपछि उनले भने, ‘खासगरी बहुपति प्रथालाई पुरानो र नयाँ दृष्टिकोणबाट नियाल्दा कस्तो देखिन्छ होला भन्ने जिज्ञासाले यो डकुमेन्ट्री बनेको हो ।’


समारोहको सबैभन्दा ठूलो पुरस्कार गौतमबुद्ध अवार्ड टर्कीको ‘ट्र्याप’ ले पायो । जितसँगै फिल्मले १५ सय अमेरिकी डलर हात पायो । यही वर्षबाट थपिएको एनिमेटेड विधाको अवार्ड भने चीनको ‘स्प्रिट अफ दि ड्रइङ गर्ल’ ले पायो । मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारमा ७ सय अमेरिकी डलर थियो । अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतीय फिल्म नुरी उत्कृष्ट मानियो । फिल्ममा भारत पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथा पेस गरिएको थियो । वाग्मती अवार्ड नाम दिइएको यो पुरस्कारमा ५ सय अमेरिकी डलर थियो ।


विनोद पौडेल निर्देशित फिचर फिल्म ‘बुलबुल’ ले फेस्टिभलमा सबैभन्दा बढी अवार्ड बटुल्यो । राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिन जारी रहेको फेस्टिभलमा ‘बुलबुल’ ले नेपाल पानोरमाको फिचरतर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड जितेको हो । फिल्मबाट विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड जितेका थिए भने स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड जितेकी थिइन् । त्यसैगरी जुरी अवार्डमा पुरुष र महिलातर्फ क्रमशः मुकुन भुसाल र लक्ष्मी बर्देवा अब्बल भए ।

‘बुलबुल’ लाई पछ्याउँदै ‘गोपी’ ले तीन अवार्ड हात पार्‍यो । दीपेन्द्र लामाको यो फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड पायो भने फिल्मबाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे भने शैलेन्द्र डी कार्की उत्कृष्ट छायांकार दरिए । इन्टरनेसनल सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड भने युक्रेनको ‘अन्ना’ ले जित्यो भने सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दि अदर हाफ’ ले पायो । नेपाली सर्ट फिल्मतर्फको अवार्ड भने प्रवीनकुमार राउत निर्देशित ‘कलम’ को पोल्टामा गयो । निर्देशक प्रवीन स्वयं पनि जुरीको नजरमा उत्कृष्ट ठहरिए । केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ ले नेपाली सर्ट फिल्म तर्फको जुरी अवार्ड पायो ।


फिचर फिल्मतर्फका मुख्य जुरी प्रकाश झाले नेपालका फिल्मसँगको यो पहिलो साक्षात्कार भए पनि नेपाली फिल्मको न्यारेटिभ प्रतिस्पर्धात्मक बनिरहेको अनुभव गरेको बताए । ‘काठमाडौं यो मेरो पहिलोपटक हो, तर अब आउने जाने गरिरहन्छु,’ उनले भने, ‘फिल्मसम्बन्धी जे कामका लागि पनि सहकार्यका लागि तयार छु ।’ फिचर फिल्मतर्फको निर्णायकको नेतृत्व प्रकाश झाले गरेका थिए भने उनलाई मञ्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलो मकाइदो र थिबाउट ब्राकले गरेका थिए । श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणाले नेतृत्व गरेको डकुमेन्ट्री विधातर्फको जुरी सदस्यमा करुण थापा, युनी हाडी सदस्य थिए । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले फेस्टिभल गरेको हो ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?