बहसमा नेपाली नाटक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘समाज रूपान्तरणमा नाटकको भूमिका र नेपाली नाट्य प्रस्तुतिको समकालीन धार’ विषयक विचार गोष्ठी तथा अन्तरक्रिया गरेको छ । गोष्ठीमा रंगकर्मी चन्द्रप्रसाद पाण्डेले ‘नेपाली समाज रूपान्तरणमा नाटकको भूमिका’ र प्रवीण पुमाले ‘नेपाली नाट्य प्रस्तुतिको समकालीन धार’ विषयक कार्यपत्र प्रस्तुत गरे थिए । 

पाण्डेले नेपालको इतिहासको विभिन्न कालखण्डमा नाटकको विकासक्रम र नाटकले ती कालखण्डमा नेपाली समाजमा पारेको प्रभाव उल्लेख गरेका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै वरिष्ठ नाट्यकर्मी अशेष मल्लले कार्यपत्र प्रस्तोताले शीर्षकअनुरूपको सामग्री प्रस्तुत गर्न नसकेको दाबी गरे । कार्यपत्रमा नाटकको लेखन पक्ष र रंगमञ्चीय पक्ष प्रस्ट नहुँदा प्रस्तोतामा अन्योल देखिएको उनको भनाइ थियो ।


पुमाले कार्यपत्रमा नाट्य प्रस्तुतिको समकालीन धारलाई वैचारिक नाट्यधार र प्राविधिक नाट्यधार गरी दुई धारमा वर्गीकरण गरी चर्चा गरे । उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै डा. विन्दु शर्माले समकालिन धारको आधारविन्दु प्रस्ट नभएको तर्क गरे । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले रंगमञ्चीय बहसलाई प्राज्ञिक बनाउन गोष्ठीले सघाउने बेताए । प्रतिष्ठानकै पूर्वप्राज्ञ रमेशरञ्जन झाले गोष्ठीको नामकरणकै विषयमा सुझाव दिए । गोष्ठीमा प्रस्तुत गरिएका विषयवस्तु महत्त्वपूर्ण रहेको बताउँदै उनले नेपाली नाटक भन्नुको सट्टा नेपालको नाटक भन्दा राष्ट्रका मातृभाषालाई पनि समेट्ने तर्क गरे ।


नाटकका विषयमा बहस हुनु खुसीको कुरा भएको भन्दै यसका माध्यमबाट थुप्रै रंगकर्ममा लागेकाहरूमा ज्ञान अभिवृद्धि हुने नाटक निर्देशक घिमिरे युवराजले बताए । प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले नाटक लेखक र नाट्यकर्मीबीच विचार मन्थन आवश्यक रहेकोमा केही हदसम्म यस गोष्ठीले त्यसको थालनी गरेको बताए । उनले गोष्ठीमा कार्यपत्रमाथिको टीकाटिप्पणीलाई मनन गर्दै कार्यपत्रमा थप सुधार गर्दै पुनर्लेखन गरिने प्रतिबद्धता पनि जनाए । प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले सहजीकरण गरेको गोष्ठीमा नाट्यकर्मी सुनील पोखरेल, घिमिरे युवराज,लगायतका नाट्यकर्मीह्यले आफ्नो विचार व्यक्त गरेका हुन् ।


नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले नाटक भावना प्रवाहित गर्ने सर्वाधिक प्रभावकारी बिधा भएको जिकिर गरे ।

प्रकाशित : फाल्गुन ५, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्

‘दर्शकको माया सबैभन्दा प्रिय’

सुशील पौडेल

काठमाडौं — नेपाली फिल्म क्षेत्रमा कलाकारका रुपमा निरन्तर लामो समय व्यतीत गर्ने पहिलो पंक्तिका अभिनेतामा पर्छन्, राजेश हमाल । पहिलो फिल्म ‘युगदेखि युगसम्म’ हुँदै लगातार तीन दशक उनले फिल्म क्षेत्रमा बिताइसकेका छन् । सयौं फिल्म खेलिसकेका छन् । त्यसताक अभिनेता हमाल फिल्मका लागि तरकारीमा आलुजस्तै अनिवार्य बनिसकेका थिए । पोस्टरमा उनको टाउको छापेरै धेरै फिल्म चले । दर्शकले पनि राजेश हमाललाई हिरोका रूपमा निसर्त स्वीकार गरिरहे ।

फिल्म चले, हमाल चले तर नेपाली फिल्म क्षेत्रले गुणात्मक फड्को भने मार्न सकेन । पाँच दशक लामो इतिहास बनाइसक्दा पनि नेपाली फिल्म क्षेत्रले दायरा फैलाउन सकिरहेको छैन । विश्व फिल्म मञ्चमा आफूलाई परिचित गराउन अझै प्रयास नै गरिरहेको छ । कतिपय यसको दोष अभिनेता हमाललाई लगाउँछन् । उनले जथाभावी फिल्म नखेली गतिला फिल्म मात्रै खेलिदिएको भए वा खेल्ने इच्छा व्यक्त गरिदिएको भए पनि आज नेपाली फिल्म क्षेत्रले गुणात्मक फड्को मारिसकेको हुन्थ्यो । किनभने त्यो बेला हमालको बोलबाला थियो । उनले चाहनेबित्तिकै फिल्मकर्मीहरू उनैको पछि दगुर्थे । यस्ता टिप्पणी हमालले धेरैपटक नसुनेका होइनन् ।

आइतबार राजधानीको राष्ट्रिय सभागृहमा जारी नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) मा आफ्नो फिल्मी करिअरको यात्रा वर्णनमा प्रस्तुत भएका अभिनेता हमालले सम्भावित प्रश्न आउनुअगावै भने, ‘त्यो बेला आजजस्तो फिल्म बन्थेनन् । इतिहास लामो भए पनि मैले ‘युगदेखि युगसम्म’ गर्नुअघि मुस्किलले एक दर्जन मात्रै फिल्म बनेका थिए । २–३ वर्षमा एउटा फिल्म बन्थ्यो । व्यावसायिक रूप लिइसकेको थिएन । त्यसैले त्यो बेलाको परिस्थिति बुझ्न त्यही बेलाकै चस्मा लगाएर हेरिनुपर्छ । त्यो बेला धेरैभन्दा धेरै फिल्म बनुन् भन्ने थियो । ममाथि लगानी गर्न चाहनेलाई हतोत्साही गराउनु थिएन । म खेलेकै कारण धेरै जनाको त्यस फिल्ममा आबद्धता हुन्थ्यो ।’ हमालले कूटनीतिक जवाफ दिंदै आफूले धेरैभन्दा धेरै फिल्म खेल्नु नै त्यसबेला जायज भएको बताए ।

‘पहिलो फिल्म खेल्दासम्म पनि म अन्योलमै थिएँ । यदि यो फिल्म हिट नै भयो भने पनि अर्को कदम के हुन्छ ? भविष्य के होला भन्ने थाहा थिएन,’ झन्डै सबा एक घण्टा लामो मन्तव्य क्रममा हमालले थपे, ‘तर त्यो फिल्म प्रदर्शनमा आएपछि दर्शकले यति धेरै रुचाइदिनुभयो कि फिल्म क्षेत्रमा सानोतिनो क्रान्ति नै आयो । त्यसको एक–डेढ वर्षभित्रमा त म एकसाथ दुईवटा फिल्म गर्ने भइसकेको थिएँ भने दैनिक १४ घण्टासम्म फिल्ममै व्यस्त हुन थालें ।’ हमालको करिअर ग्राफ कहिल्यै तल झरेन । आफ्नो फिल्मी कथा सुनाइरहँदा सन्तुष्ट भावमा देखिएका उनले जति संघर्ष गरे सुरुआती दिनमा नै गरे । शिक्षित परिवारमा जन्मे, हुर्केका हमाल फिल्म क्षेत्रमा लाग्छु भन्नु आफैंमा ठूलो विरोधाभास मानिन्थ्यो, त्यसताक ।

बुबा फिल्म क्षेत्रमा छोराको करिअर देखिरहेका थिएनन् । छोरालाई फिल्मको भूतले छोडेको थिएन । झगडा गरेरै खेलेको पहिलो फिल्मबाटै निकालिए हमाल । ‘मुस्किलले ५–१० प्रतिशत छायांकन भएको थियो होला । मलाई अभिनयमा खोट लगाउँदै निकालियो । पहिलो गाँसमै ढुंगा लाग्यो,’ तैपनि हमालले आत्मविश्वास हारेनन्, पश्चात्तापमा गलेनन्, ‘जे कुरामा पनि लगावका साथ प्रयास गर्‍यो भने सफलता पाइन्छ । पछि एउटा विन्दुमा गएर पछुताउनुभन्दा पुनः प्रयास गर्नु राम्रो हो । सफलता नै नपाइने देखियो भने बल्ल विकल्पमा लाग्नुपर्छ ।’ आखिर जसले हमाललाई पहिलो फिल्मबाट हटाए, दुई वर्षपछि तिनै अर्को फिल्मको प्रस्ताव लिएर हमालसमक्ष आए । ‘सायद त्यही ५–१० प्रतिशत खिचेको फुटेजमा मेरो काम हेरेर दम देख्नुभयो कि ?’ राजेशको नायकत्वको दम देख्ने उनकै मामा दीपक रायमाझी थिए ।

‘युगदेखि युगसम्म’ को प्रिमियरमा हमाललाई ढाडस दिन उनकै बाबुआमा समेत पुगेका थिएनन् । साथीभाइहरू नेपाली फिल्म नै हेर्दैनथे रे । ‘तर त्यो फिल्मपछि दर्शकले मप्रति देखाएको विश्वास र दिएको साथ सबैभन्दा प्रिय भयो । मलाई दर्शकले यति धेरै स्वीकार गरिदिनुभयो कि त्यसको जति खुसी कुनै अवार्ड, पुरस्कार वा पदवीले पनि दिन सक्दैन । दर्शककै साथले मैले झन्डै १२ वर्ष अनवरत दैनिक १८ घण्टा फिल्म क्षेत्रमै सक्रिय भएँ,’ हमालले भने ।

अभिनेता हमाल आफू यस क्षेत्रमा लागेर पाएको सबैभन्दा ठूलो उपलब्धि भनेको नेपाली समुदायसँग गहिरो सम्बन्ध राख्न पाएको ठान्छन् । भन्छन्, ‘फिल्म खेल्नुअघि त्यसरी नजिकिन पाएको थिइनँ ।’ हुन पनि उनले प्रायः मजदुर, किसानका भूमिका बढी गरे । धेरै चरित्रमा बाँचे । ‘मैले चरित्र निर्वाह गर्दा पनि आम दर्शककै स्वाद र मनोविज्ञानलाई समेट्नुपर्छ भन्ने ठानेर अघि बढें । त्यसकारण पनि दर्शकसँग मेरो अटुट नाता सम्बन्ध रहिरह्यो,’ हमालले चरित्र निर्वाह गरिरहँदा सधैं ती चरित्रको दृष्टिकोणमा उभिएर हेर्ने कोसिस गरेको तर्क गर्दै थपे, ‘दस दिनको भोको मान्छेको अभिनय गर्दै छु भने म स्वयं दस दिन भोकै बस्नु पर्दैन । बरु दस दिन भोकै हुने व्यक्तिले कस्तो महसुस गर्ला ? त्यो दृष्टिकोण बुझ्ने क्षमता राखेर काम गर्छु ।’

सोमबार समापन हुँदै गरेको निफको अघिल्लो दिन आइतबार ‘वासुदेव’ स्क्रिनिङसँगै यसका निर्देशक, अभिनेता नीर शाह, अभिनेता हरिहर शर्मालगायतले प्यानल बहस गरेका थिए । त्यसैगरी, आइतबार नै साहारा शर्मा निर्देशित फिल्म ‘मिस बर्दिया’ को प्रिमियर पनि गरिएको थियो ।

प्रकाशित : फाल्गुन ५, २०७६ ०९:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×