कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भत्किँदैन पोखरेली रंगमञ्‍च

दीपक परियार

(पोखरा) — शरीर एन्जाइटीले शिथिल थियो । रेडियो नाटक हुँदै केही मञ्चीय नाटकमा अभिनय र निर्देशन गरेका परिवर्तन सपना बोकेर हिँड्दै थिए । पोखरामै सुविधासम्पन्न नाटकघर बनाउने सपनाको अघि रोगको केही जोर चलेन । उनलाई साथ दिन आए दिलप्रसाद गुरुङ र शंकरनाथ कोइराला ।

गैह्रापाटनमा रहेको सवा एक रोपनी जग्गामा थिएटर बन्ने भयो । कोइरालाले आफ्नै जग्गा १० वर्षका लागि भाडामा उपलब्ध गराए । गुरुङले पनि लगानी गरे । थिएटर बनाउने काममा तल्लीन हुँदा परिवर्तनको एन्जाइटी हराउँदै गयो ।


पोखरा थिएटरले शुक्रबार स्थापनाको दोस्रो वर्ष पूरा गर्‍यो । तेस्रो वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सहभागीले थिएटरको स्थायित्वलाई लिएर चिन्ता जनाए । आफ्नै जग्गामा नाटकघर नहुँदा राजधानीका नाट्य समूहले खेपेका पीडा पोखराले सम्झियो । थिएटरका अध्यक्ष परिवर्तन भने उत्साहित देखिए । ‘यो दुई वर्षमा पोखरामा नाट्य संस्कृतिको विकास गर्न सफल भएका छौं,’ उनले भने, ‘पोखरा थिएटर भत्किन सक्ला तर पोखराको रंगमञ्च भत्किँदैन ।’ रंगमञ्चमै लागेर आफूले नयाँ जीवन पाएकोले अब पनि यसैमा लाग्ने प्रण उनले गरे । ‘नाटकघर बनेपछि सबै समस्या समाधान हुन्छ भन्ने सोच्थेँ,’ उनले भने, ‘तर होइन रहेछ । नाटकघर बनेपछि बल्ल समस्या सुरु हुने रहेछ ।’ बितेका दुई वर्षमा स्कुलका विद्यार्थीलाई नाटक बुझाउन सकेकोमा उनी सन्तुष्ट छन् । थिएटरकै अगुवाइमा पोखराका विभिन्न विद्यालयका ३ सय विद्यार्थीले एक वर्ष अभिनयको कक्षा लिएका छन् ।


थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भएको पहिलो नाटक थियो ‘सिरुमारानी’ । सरुभक्तको लेखन र सोमनाथ खनालको निर्देशनमा मञ्चन भएको नाटकमा अनुभवी कलाकार माओत्से गुरुङ र प्रकाश घिमिरेले अभिनय गरेका थिए । पहिलो नाटकनै दर्शकले निकै रुचाए । दुई वर्षको अवधिमा ४७ नाटक मञ्चन भए । त्यसमध्ये १० नाटक पोखरा थिएटरको आफ्नै प्रस्तुति थियो । राष्ट्रिय नाटक महोत्सव, बाल नाटक महोत्सवलगायत विविध गतिविधि नाटकघरमा भए । झन्डै ५० हजार दर्शकले नाटक हेरे । साहित्यकार सरुभक्त गण्डकी प्रदेशकै एकमात्र नाटकघरले छोटो समयमै धेरै उपलब्धि हासिल गरेको बताउँछन् । ‘यो थिएटरको स्थापनापछि पोखरा र नेपालकै रंगकर्ममा के कति क्रियाशीलता र परिवर्तन भयो भन्ने प्रस्टै छ,’ उनले भने, ‘अस्थायीलाई कसरी स्थायी बनाउने भन्ने प्रयत्न गर्नुपर्छ ।’


कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ पोखरा थिएटरको रुपमा पोखरेलीले सांस्कृतिक सम्पदा पाएको बताउँछन् । थिएटरकै गतिविधिले प्रदेशका अन्य सहरमा नाटकघर खुल्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ । कलाकार प्रकाश घिमिरे थिएटर खुलेपछि काठमाडौंलाई कर्मथलो बनाएका कलाकार घर फर्किने क्रम सुरु हुनु सुखद् मान्छन् । रंगकर्मी अनुप बराल पोखरा नै फर्कनुलाई उनी पोखरा थिएटरको स्थापनासँग जोड्न चाहन्छन् । डाँफे कला मन्दिरपछि पोखरा उद्योग वाणिज्य संघको सभाहल र पोखरा सभागृहमा नाटक देखाउनुपर्ने बाध्यता पोखरा थिएटर खुलेपछि अन्त्य भएको उनले सुनाए । लेखक गनेस पौडेल पोखरामा रंगमञ्चका गतिविधि विस्तारै सेलाउँदै गएको अवस्थामा थिएटर स्थापनाले नयाँ गति प्रदान गरको बताउँछन् । उनले भने, ‘कला, साहित्यप्रेमीको तीर्थस्थलजस्तै बनेको छ, पोखरा थिएटर ।’


थिएटर २ सय सिट क्षमताको छ । ८० लाख रुपैयाँको लागतमा थिएटर तयार भएको थियो । सञ्चालक एवं जग्गाधनी शंकरनाथ कोइरालाले थिएटरले उपयोग गर्ने परिस्थिति बनिञ्जेलसम्म जग्गा उपयोग गर्न दिने बताउँछन् ।


पोखराका नाट्य समूहहरूले पोखरा उद्योग वाणिज्य संघको सभाहल र पोखरा सभागृहलाई नाटक मञ्चनको लागि प्रयोग गर्दै आएका थिए । त्यसो त, पोखरामा पहिलोपटक विसं १९९५ मा विधिवत नाट्य मञ्चन सुरु भएको मानिन्छ । बडाहाकिम भएर पोखरा बसेका धनशमशेर जंगबहादुर राणाले मोहरिया टोलमा रहेको आफ्नै सेतो दरबारमा ‘पोखराको चक्कर’ नाटक मञ्चन गराएका थिए ।


धनशमशेर आफैंले लेखेको उक्त नाटकको निर्देशन उनका छोरा हरिशमशेरले गरेका थिए । उक्त नाटकले पोखराको प्राकृतिक सौन्दर्य तथा जनजीवन झल्काउने उद्देश्य राखेको थियो । उक्त नाटकका दर्शक त्यस समयका साहुमहाजन, संगीतकार तथा संगीतप्रेमी र सरकारी कर्मचारी मात्रै थिए । त्यसपछि झन्डै १० वर्षसम्म सेतोदरबारमा धनशमशेरका नाटकहरू बर्सेनि प्रदर्शित भए । तिनीमध्ये वाणासुर, उषाहरण, मायामच्छेन्द्र, कृष्ण–सुदामा आदि नाटकहरू चर्चित थिए । संस्कृतिकर्मी तीर्थ श्रेष्ठका अनुसार साहु, व्यापारी र धनशमशेरका कृपापात्रहरू मात्र ती नाटकका दर्शक हुने गर्दथे । धनशमशेरद्वारा रचित नाटकहरू काठमाडौंका राणा दरबारमा प्रदर्शन गरिने उर्दू नाटकभन्दा फरक र धार्मिक भावनामा आधारित एवं शिक्षाप्रद् थिए ।


विसं १९९७ मा रामबहादुर श्रेष्ठ र पूर्णबहादुर कार्कीको संयुक्त निर्देशनमा ‘राजा हरिश्चन्द्र’ नाटकको सार्वजनिक मञ्चन गरे । उक्त नाटक नै पोखरामा सार्वजनिक रूपमा प्रदर्शित पहिलो नाटक भएको श्रेष्ठ बताउँछन् ।


विसं २००७ मा राणाशासनविरुद्ध राजनीतिक क्रान्ति भयो । पोखरेली रंगमञ्चका लागि पनि यो महत्वपूर्ण वर्षमा परिणत भयो । यही साल रामबहादुर श्रेष्ठ र पूर्णबहादुर कार्कीको निर्देशनमा भीमनिधि तिवारीको ‘सहनशीला सुशीला’ नाटक मञ्चन गरियो । एक सुकादेखि दुई रुपैयाँसम्मको टिकट दर राखिएको उक्त नाटक नै पोखरामा पहिलोपल्ट टिकटमा प्रदर्शन गरिएको नाटक हो ।


‘यो कस्तो महाभारत ?’ मञ्चन हुने

पोखरा थिएटरकै प्रस्तुतिमा फागुन ९ देखि नाटक ‘यो कस्तो महाभारत’ मञ्चन हुने भएको छ । थिएटरको यो ११ औं प्रस्तुति हो । दीपक पराजुलीको लेखन रहेको नाटकको निर्देशन पञ्चसुब्बा गुरुङ (दिल) ले गर्दै छन् । यसअघि अभिनय र सह–निर्देशनको अनुभव बोकेका उनले पहिलोपल्ट निर्देशनमा हात हालेका हुन् ।


नाटकमा निश्चल विमल, रोशन ज्ञवाली, रमेशबाबु तिमिल्सिना, राजेन्द्र अधिकारी, सरोज तिवारी, सुमन तिमिल्सिना, उज्ज्वलराज ढकाल, देवेन्द्र चोचांगी मगर, एमडी काफ्ले, अञ्जन रोका, प्रतीक घिमिरे, धनकाजी श्रेष्ठ, नवराज गिरी, विष्णुराज धितमिल्सिना लगायत कलाकारको अभिनय छ । निर्देशक गुरुङले नाटकले महाभारतकालीन पात्र र कथा बोके पनि फरक परिवेशमा प्रस्तुत गरेको बताए । ‘घटना, पात्र र परिवेश बदलिए पनि सत्ताको कथा उस्तै छ,’ उनले भने, ‘शक्ति र स्वार्थका लागि हुने आपसी टकराव, संघर्ष र लुछाचुँडीलाई नाटकमा देखाइनेछ ।’ प्रकाशित : फाल्गुन ४, २०७६ ०८:४७

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नाटकभित्र कलाकार पीडा

सुशीला तामा‌ङ

काठमाडौँ — रंगमञ्च र यसमा लागेका रंगकर्मीले भोगेको यथार्थ पीडा समेटेर झन्डै एक दशकअघि रंगकर्मी विजय विष्फोटको लेखन तथा निर्देशनमा तत्कालीन रिमाल नाटकघर गुरुकुलमा नाटक ‘सेतो कपाल’ सफल रूपमा मञ्चन गरिएको थियो । सोही नाटक शैली थिएटर र रंग सारथीको संयुक्त प्रस्तुतिमा शुक्रबारदेखि रातोपुलस्थित शैली थिएटरमा पुनः मञ्चन सुरु गरिएको छ । नाटकमा रंगमञ्चभित्र नै रहर र अभावमा रुमलिएको पात्रको मनोविज्ञान सूक्ष्म तरिकाले विश्लेषण गरिएको छ । 

नाटकभित्रको नाटकका मुख्य पात्रका रूपमा रहेका कुमार पूर्वअभ्यासका लागि रंगमञ्चमा छ । तर ऊ अभ्यासकै क्रममा नाटकको कथाभन्दा पनि आफ्नो वास्तविक जीवनको कथातिर मोडिन्छन् । उसले बाल्यकाल, हजुरबा र हजुरआमाको यौन मनोविज्ञान, आफ्नो यौवनकाल, प्रेम र अभावग्रस्त जीवनलाई स्मरण गर्दै जान्छ । चरम आर्थिक अभावसँगै पत्नी सिमलसँगको तनावयुक्त पारिवारिक जीवन, दमित रहर, सपना, यौनकुण्ठाले ऊ मानसिक पीडा भरिएको जीवन जिउन बाध्य हुन्छ । ‘साइकोप्याथ’ नामक मानसिक रोगले ग्रस्त भएपछि उसले आत्महत्याको बाटो रोज्छ र नाटकको अभ्यास रोकिन्छ ।

नेपाली रंगमञ्चले फड्को मारिरहेको मानिरहे पनि कलाकार अझै आर्थिक रूपमा सबल बन्न सकेका छैनन् । अधिकांश रंगकर्मीलाई नाटकमा अभिनय गरेर मात्र जीवन धान्न मुस्किल नै देखिन्छ । रंगमञ्चप्रतिको झुकाव र लगावले गर्दा नै यसलाई छोड्न नसकेको थुप्रै रंगकर्मी सुनाउने गर्छन् । अर्कोतर्फ, नाटकले उठाएको पुरुष मनोविज्ञानको विषयले तत्कालीन समयमा पुरुषले भोगिरहेको मानसिक समस्या सम्बोधन गरेको छ । आज पनि कुमार जस्तै घर र परिवारको लागि आफ्ना कैयौं रहर कुण्ठित बनाएर बाँचिरहेका पुरुष हाम्रै वरिपरि छन् । नाटकमा कुमार पात्र पत्नी माइत हिँडेपछि बोल्न स्वतन्त्र भएको महसुस गर्छ । लोग्ने मान्छे भन्नेबित्तिकै स्वास्नी मान्छेभन्दा केही उत्ताउलो र परस्त्रीसँग सम्बन्ध राख्ने चरित्रका रूपमा व्याख्या गर्ने सामाजिक परम्परालाई नाटकले चिरफार गर्ने जमर्को गरेको छ । नाटकको कथाले लोग्ने मान्छेका पनि आफ्ना रहर, इच्छा र स्वभाव हुन्छन् भनी पुरुषप्रति सहानुभूति दर्साएको पाइन्छ । सामाजिक मूल्यकै आधारमा हेर्ने हो भने, नाटकले पति–पत्नीबीच हुने एक–अर्काप्रतिको शंका र असमझदारीले सम्बन्धमा दरार उत्पन्न हुने संकेत दिन्छ । हजुरबाले हजुरआमाप्रति र कुमारलाई पत्नी सिमलले गरेको शंकाले यस्तै भान हुन्छ ।

महिला र पुरुषको दाँजोमा पुरुषको उमेर बढे पनि ऊ आफूलाई जवानी नै सम्झने पक्षलाई नाटकले समेटेको छ । कुमारको हजुरबुबा कपाल फुले पनि पत्नीले बूढो भनेको मन पराउँदैनन् । कुमार अधवैंशे भए पनि वरिपरि जवान केटीहरू आएर नाचेको सपना देख्दा आनन्द मान्छ । विद्यार्थीले अंकल भनेर सम्बोधन गरेको उनलाई मन पर्दैन । नाटकको अन्तिम दृश्यमा उसले सेतो कपालमाथि आक्रोश पोख्छ । नाटकको सुरुवातदेखि अन्त्यसम्मको कुमार पात्रका दृश्यहरूमा विश्वमै चर्चित मोनालिसाको चित्र देखिन्छ । कुमार त्यसलाई मोना म्याडमका नामले सम्बोधन गर्छ । एकान्तमा पनि ऊ चित्रसँगै बोल्छ । मानसिक रूपमा विक्षिप्त भएको अवस्थामा कुमारले त्यही मुस्कुराएको जस्तो देखिने चित्रमाथि नै शंका गर्छ । मोनालिसाको मुस्कानमा पनि उसले दुःख लुकेको देख्छ र मानिसले वास्तविक कुरा लुकाएर झूटको खेती गरिरहेको आरोप लगाउँछ ।

रंगकर्मी विष्फोट आफूले देखेको आजको रंगकर्मी पनि एक दशकअघिको जस्तै समस्यामा जुधिरहेको दाबी गर्छन् । उनलाई समर्थन गर्दै नाटकमा प्रेमी कुमार पात्रका रूपमा देखिएका युवा पुस्ताका रंगकर्मी पुष्कर दाहाल रंगमञ्चमा अझै पनि आर्थिक कठिनाइ रहेको सुनाउँछन् । नाटकमा बालक, यौवन र अधवैंशे रंगकर्मीका रूपमा देखिएका कुमार पात्रहरू भिन्नाभिन्नै छन् । पात्रको मनोदशा र चरित्रअनुसार फरक–फरक अनुहार प्रस्तुत गरिएको विष्फोट उल्लेख गर्छन् ।

देवेन्द्र बब्लुको ध्वनि परिचालन रहेको नाटकमा प्रकाश परिचालन विशाल घिमिरेले गरेका छन् । फागुन १७ गतेसम्म मञ्चन हुने नाटकमा शेर शाही, सुरेन्द्र क्षेत्री, ज्योति राई, बालकृष्ण रिजाल, निमा पाण्डे, सुदिन लुइँटेल, रविन तामाङ, कुमार जोशी, रिया चौधरी, करिश्मा केसी, मीराकेसी, नोरचेन लामा लगायतको अभिनय छ ।

प्रकाशित : फाल्गुन ४, २०७६ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×