कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थारु र मैथिलीका ४० कलाकारलाई सम्मान

कान्तिपुर संवाददाता

काठमाडौँ — थारु र मैथिली भाषाका सर्ट फिल्मका लेखक, निर्देशक, कलाकार, गायक, छायांकार र निर्मातासहित ४० जनाभन्दा बढीलाई एउटै मञ्चमा शनिबार सम्मान गरिएको छ । 

आईक्यान मिडियाले शनिबार ललितपुरको कुपन्डोलमा आयोजना गरेको कार्यक्रममा सम्मानित भएकाहरुमा थारु सर्ट फिल्मका पटकथाकार एवं निर्देशक इन्द्रकुमार चौधरी, निर्मात्री रमिता चौधरी, छायांकनकर्ता अर्जुन ठगुन्ना र मैथिली संगीतकार एवं कलाकार कमल मण्डल रहेका छन्।


त्यस्तै, सम्मानित हुने अन्य कलाकारहरुमा अजय शर्मा, रामअवतार राय, इन्द्रदेव मण्डल, विनोद मण्डल, देव साह, वसन्ती सरदार, ज्योति चौधरी, सञ्जु चौधरी, चन्दा चौधरी, अरुणकुमार चौधरी, भारतीदेवी चौधरी लगायतका छन्। पूर्व राज्यमन्त्री तथा संघीय प्रतिनिधिसभाका सांसद तेजूलाल चौधरी, वरिष्ठ शास्त्रीय गायक गुरुदेव कामत, नेपाली चलचित्रका निर्देशक क्रान्ति केसी, वरिष्ठ चिकित्सक डा.ललनकुमार चौधरीलगायतले संयुक्त रुपमा फूलमाला, खादा र प्रमाणपत्रसहित सबै कलाकारसहितलाई सम्मान गरेका हुन्।


‘हिमाल, पहाड, तराई कोई छैन पराई, समृद्ध बनाउँछ यही हो कलाकारको भनाइ’ नारासहित तीन वर्षअघि स्थापित आईक्यान मिडियाले यतिका धेरै कलाकारलाई एउटै मञ्चमा सम्मान गरेको पहिलो हो।


सम्मानित भएकाहरुमा ‘अजब बात, गजब कहानी’ र ‘जुलुम भ्यागेलै रे भाइ’ सर्ट फिल्मका अधिकांश कलाकारहरु रहेका छन्। यी दुई शीर्षकमा टिभी चलचित्रको शृंखलाहरु युट्युब लगायतका माध्यमबाट प्रसारण हुँदै आएका चर्चित थारु र मैथिली सर्ट फिल्महरु हुन्।

देश, मधेस, थारुवान, मिथिलासहित क्षेत्रको परम्परा, पहिचान, सामाजिक विकृतिहरुलाई विषयवस्तु बनाएर निर्माण गरिएका सर्ट फिल्म मार्फत् आइक्यानले जनचेतना फैलाउँदै आएको छ।


कार्यक्रममा मैथिली र थारु गीतसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रमुख र विशेष अतिथिहरुलाई समेत आयोजकले ‘लभ अफ टोकन’ र खाँदा ओढाएरसमेत सम्मान गरेको थियो। प्रकाशित : फाल्गुन ३, २०७६ १९:०९

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यस्ताे बन्याे खरिपाटी क्वारेन्टाइन [तस्बिरहरुसहित]

रमेश गिरी/रासस

काठमाडौँ — सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट शनिबार राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ । 

भवन बाहेक सम्पूर्ण नयाँ संरचनाको व्यवस्था गरी तयारी पूरा गरेको सहरी विकास मन्त्रालयअन्तर्गत संघिय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यान्वयन काठमाडौँका सहसचिव कुमार घिमिरेले बताए।

क्वारेन्टाइनमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै आइसाेलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रंगराेगन, बगैँचा निर्माण, भौतिक संरचना एवम् विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउँदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानको व्यवस्थापन गरिएको उनले बताए।

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षादेखि सरसफाइसम्मका पूर्वाधार व्यवस्थापनमा सघाउ पुर्याउँदै छ दिनभित्र सम्पूर्ण तयारी पूरा गरेको उनले बताए। क्वारेन्टाइनमा जस्ताले वरिपरि बार लगाउनुका साथै प्राधिकरणको चारवटा भवन प्रयोग गर्नेगरी व्यवस्थापन गरिएको छ। ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी बस्नेगरी चारवटा भवनमा सबै संरचना जडान गरी व्यवस्थापन गरिएको छ।
भवनमध्ये ब्लक ए मा ८६, ब्लक बि मा ८९ र ब्लक सि मा २५ जना गरी कूल २०० जना क्षमता रहेको क्वारेन्टाइन तयार पारेको सचिवालयका उपसचिव विदुर खड्कालेबताए। वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली लिएरशनिबार बेलुकाचीन उडेकाे छ। विमानमा चीनबाट १४३ जनापुरुष, ४२ जनामहिलार हुण्डुरसकी एक महिला गरी १८६ जनालाई चीनबाट आइतबार बिहान ३ः०० बजेसम्ममा त्रिभुवन विमानस्थल ल्याइपुर्याइने भएको छ।

त्रिभुवन विमानस्थल ल्याएपछि स्वास्थ्य परीक्षण गराई पाँच बसमा राखेर र एम्बुलेन्ससँगै सुरक्षाका सम्पूर्ण माध्यम अपनाएर खरिपाटीस्थित क्वारेन्टाइनमा लगेर तोकिएको कोठामा प्रवेश गराइनेछ। क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सिसिक्यामरा, आठ टेलिभिजन, सबै ब्लकमा स्पीकर जडान गर्नुका साथै तीनवटा वासिङ्ग मेसिन, ओछ्यान, टावेल, चप्पल, साबुन, मन्जन, ब्रस, माक्स र औषधिलगायत दैनिकरुपमा आवश्यक सबै सामग्री प्रत्येक श्ययामा पुर्याइएको छ।

एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीन श्यया रहने गरी कोठाको व्यवस्थापन गरिएको छ। शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ। मनोरञ्जनका लागि दुई ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने क्यारेमबोर्ड, लूडो र बच्चाका लागि बललगायतका खेल सामग्री व्यवस्था गरिएको छ। कोठाभित्रै बस्ने नभइ कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ।

दुईवटा स्वास्थ्य टोली चौबिसै घण्टा रहनेछन्, जसमध्ये नेपाली सेनाका क्याप्टेन डा नविन फूँयालको नेतृत्वमा नर्ससमेत स्वास्थ्य टोली क्वारेन्टाइनभित्र रहनेछ। नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहितको संयुक्त चिकित्सक टोली तयारी अवस्थामा बाहिर रहनेछ। क्वारेन्टाइनमा पुगेको २४ घण्टाभित्र र १४ दिनमा स्वास्थ्य जाँच एवम् रगत संकलन गरिनेछ। अरु दिन व्यक्ति स्वयम्ले स्व–जाँच गर्न मिल्ने थर्मोमिटरका माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुईपटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नुपर्नेछ।

कुनै कुरा आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ। जाँच शंकास्पद देखिए क्वोन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल तथा शसस्त्र प्रहरी अस्पतालमा अबिलम्ब स्थानान्तरण गर्नेछ। सरकारले विभिन्न अस्पतालमा १४७ आइसोलेसन वार्ड तयार पारेको छ।

क्वारेन्टाइनमा रहँदा अभिभावकसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन। क्वारेन्टाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ। प्रत्येक दिन बिहानको नास्ता, ११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ। छ वटा खाना सङ्कलन केन्द्रमा राखिएपछि कन्ट्रोल रुमबाट माईकमार्फत जानकारी गराएपछि खाना लिने व्यवस्था गरिएको छ।

पत्रकारका लागि क्वारेन्टाइन बाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ। क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्याङ्कीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ। चौविसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ। क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिनेछ।

चीनबाट फर्कने नेपालीलाई लिन जाने पाइलट, को–पाइलट, परिचारिका र सफाइ गर्ने स्वीपरलाई भने चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालिम केन्द्रको अर्को क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ। सबै व्यवस्थापनका लागि सरकारको करिब रु छ करोड खर्च हुने भएको छ। स्थानीयबासिन्दामा त्रास नहोस् भनेर आजसम्ममा नेपाली सेना बीरदल गणका गणपति कर्णेल शिव पौडेल, महानगरीय प्रहरी परिसरका प्रमुख सविन प्रधानलगायतको संयुक्त टोलीले जनचेतना अभिवृद्धि गरेको छ।

स्थानीयबासिन्दाका लागि संयुक्त सुरक्षा निकायका चिकित्सकसहितको स्वास्थकर्मी टोलीले प्रत्येक दिन खरिपाटी घुमाउनेस्थित सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरणसमेत गर्ने भएको छ। सरकारले कोरोना भाइरसको सङ्क्रमण नभएका, स्वस्थ्य व्यक्तिलाई ल्याएर १५ दिन क्वारेन्टाइनमा राखेर स्वस्थ्य प्रमाणित भएपछि घर फर्काउने भएकाले नआत्तिन र त्रासमा नरहन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नाराणप्रसाद विडारीले आग्रह गरेका छन्।

प्रकाशित : फाल्गुन ३, २०७६ १८:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×