कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

परिक्रमा ब्यान्डका लिड गिटारिस्ट सोनाम शेर्पाको निधन

मनोज बोगटी

दार्जिलङ — भारतीय लोकप्रिय रक एन्ड रोल ब्यान्ड परिक्रमाका प्रमुख गिटारिस्ट सोनाम शेर्पाको निधन भएको छ । शेर्पा दिल्लीबाट दार्जिलिङकाे खरसाङमा चलचित्रको गीत रेकर्ड गर्न आएका थिए । खरसाङमा नै अचानक कार्डियक एरेस्टको कारण उनको निधन भएको हो ।

परिक्रमा ब्यान्डका लिड गिटारिस्ट सोनाम शेर्पाको निधन

१७ जून १९९१ मा दिल्लीमा सुबिर मलिक, नितिन मलिक, प्रशान्त बहादुर, चिन्तन कारा र राहुल मल्होत्रासँग मिलेर शेर्पाले परिक्रममा ब्यान्ड बनाएका थिए । परिक्रमा भारतको चर्चित ब्यान्ड हो, सोनाम यसै ब्यान्डका लिड गिटारिस्टको रुपमा चिनिन्थे ।


परिक्रमलाई धेरै हिट गीत दिने ब्यान्डका रुपमा पनि चिनिन्छ । बट इट रेन्ड, टियर्स अफ दी विजार्ड तथा आइ एम ड्रिमिङजस्ता हिट गीतको कम्पोज गर्ने ४८ वर्षीय सोनामको देहान्तको खबर फैलिने बित्तिकै भारतको स‌ंगीत क्षेत्रका हस्तीहरूले शोक प्रकट गरेका छन् ।

सोनाम ८ अक्टोबर १९७१ मा कालेबुङमा जन्मिएका हुन् । ९ वर्षको छँदै उनी गिटार बजाउन खप्पिस थिए । कालेबुङबाट प्रारम्भिक शिक्षा लिएका शेर्पा स्नातक गर्न दिल्ली गएका थिए । उनले बलिउड फिल्म मन्जुनाथमा संगीतसमेत दिइसकेका छन् । उनी दिल्लीमा परिक्रममा संगीत स्कूल चलाइरहेका थिए ।


‘सोनामलाई हृदयसम्बन्धी कुनै रोग थिएन,’ परिक्रमाका गायक नितिन मलिकले दुखद खबर सुनेपछि भने, ‘सुनेर हामी शोकित बनेका छौं । सोनाम आफै स्वास्थ्यबारे धेरै सचेत थिए । भर्खरै व्यायामसमेत थालेका थिए । शरीर घटाउँदै थिए ।’

सोनामको निधनको खबर सुनेपछि भारतका चर्चित गिटारवादक इशान नुरानीले पनि शोक व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘सोनाम सुन्दर गिटारिस्ट थिए, उनी अनन्तमा विलिन भएका छन्, उनीसितका पलहरूलाई याद राख्नेछौं ।’



विशाल दद्लानीकाे ट्वीट

रोलिङ स्टोन्स पत्रिकाले दश भारतका टप गिटारिस्टको सूची सार्वजनिक गरेको थियो, त्यसमा सोनाम पनि एक थिए । सोनाम युवा उद्यमीहरूको कार्यक्रम सीएनबीसीको शोका हिस्सासमेत थिए । बीबीसीसमेतले सोनामको ‘डकुमेन्ट्री’ बनाइसकेको छ ।

प्रकाशित : फाल्गुन २, २०७६ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?