१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दिल्लीमा ‘महाभोज’

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — भारतको राजधानी नयाँदिल्लीको मण्डीहाउसस्थित श्रीराम थिएटरको हल । मञ्चमा मानिसको कल्याङमल्याङ । कोही बाकसजस्ता संरचना यताउता गरिरहेका त, कोही भने एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर । त्यो सबै मञ्चको ठीक सामुन्ने उभिएका एक जनाको प्रत्यक्ष निर्देशन र निगरानीमा भइरहेको थियो । 

दिल्लीमा ‘महाभोज’

निर्देशन दिने व्यक्ति थिए नाट्यकर्मी अनुप बराल थिए । र, उनी आफ्नो निर्देशन रहेको नेपाली नाटक ‘महाभोज’ को अन्तिम रिहर्सल गराउँदै थिए । सेट मिलाउनका लागि बढी समय लागेकाले अन्तिम रिहर्सलका लागि समय अपुग भइरहेको थियो । हुन त नेपालमा यो नाटक करिब डेढ महिनाभन्दा बढी पटक मञ्चन भइसकेको थियो । तर, नेसनल स्कुल अफ ड्रामा (एनएसडी) को रंग महोत्सवमा मञ्चन हुनुको विशेष अर्थ र महत्त्व निर्देशक बराललाई राम्रोसँग थाहा थियो । त्यही भएर उनी कुनै पनि कमी नहोस् भन्ने चाहिरहेका थिए । त्यसमाथि अनुप आफैं पनि एनएसडीका उत्पादन ।


यस हिसाबले पनि उनी नाटक उत्कृष्ट होस् भन्ने चाहन्थे । तर, यसले नजानेर भए पनि अनुपमाथि केही दबाब सिर्जना गरिरहेको थियो । त्यो उनको रिहर्सलका क्रममा उनको अनुहारमा प्रस्ट झल्किन्थ्यो । तर, जसै करिब दुई घण्टा लामो रिहर्सल सकियो र सोको समय भयो निर्देशक बराल लामो सास फेर्दै दर्शककै बीच बस्न आए । ‘हल्का दबाब त भइहाल्छ नि,’ निर्देशक बरालको यस्तो जवाफले पनि धेरै प्रस्ट हुन्थ्यो ।


ठीक साढे पाँच बजे मञ्चको पर्दा खुल्यो । र, सुरु भयो दलित, किसानलगायतका सीमान्तकृत वर्गमाथि राजनीतिको, प्रहरी तथा प्रशासन र मिडियाको उपेक्षा र निर्मम प्रहारको सिलसिला । गाउँका गरिब किसान बस्ती पूरै खरानी भएको घटनाप्रति राजनीतिक दलका नेता र प्रहरी प्रशासनले साँधेको मौनता देखेर एक दलित युवा विश्वेश्वर (बिसु) लाई भित्रभित्रै असहृय भइरहेको हुन्छ । उनी त्यो घटना सुनियोजित भन्नेमा ढुक्क छन् र उनीसँग त्यसको प्रमाण पनि छ । तर, उनको सुनुवाइ कतै हुँदैन । मन्त्री, प्रहरी प्रशासन र मिडियाबाट उक्त घटनाको सत्यतथ्य छानबिन होस् भन्ने चाहन्छन् उनी । उनलाई सबैतिरबाट निराशा मात्र हात लाग्छ ।


उल्टो त्यो घटनालाई सबैले आआफ्नो अनुकूल हुने गरी भजाउँछन् मात्र । गाउँमा एउटा अर्को दुःखद् घटना हुन्छ । आगलागी घटनाको प्रमाण लिएर भौंताँरिरहेका तिनै बिसुको लाश गाउँको पुलमुनि भेटिन्छ । चुनावी सरगर्मीका बीच अनि सुरु हुन्छ बिसुको लाशमाथिको राजनीति । फेरि एक पटक हार्छन् गाउँका गरिब, उत्पीडित र किसान । र, जित्छ प्रहरी, राजनीति र मिडियाको ‘नेक्सस’ ले । अनि चल्छ महाभोज ।


भारतीय लेखिका मन्नु भण्डारीद्वारा यथार्थवादी धारमा लेखिएको ‘महाभोज’ लाई कवि विप्लब प्रतीकले नेपालीमा भावानुवाद गरेका हुन् । भण्डारीले उत्तरप्रदेशको ग्रामीण भेगको समाजलाई आधारित बनाएर उपन्यास लेखेका थिए । सत्तरीको दशकमा लेखिएको नाटकलाई निर्देशक बरालले निकै कुशलतापूर्वक समकालीन घटना र परिवेशमा ढालेका छन् ।


नाटकको मौलिकता कायम गर्न यसको सामाजिक परिवेशलाई पनि तराई नै बनाइएको छ । र, दलित, किसान र उत्पीडित वर्गमाथि राजनीति, प्रशासन र मिडियाको उपेक्षा र वक्रदृष्टिलाई निकै मार्मिक ढंगले मञ्चमा उतारिएको छ । प्रहरीको पोसाकदेखि पृष्ठभूमिको रंगहरूमा त्यतिकै ध्यान दिइएको निर्देशक बरालले बताए । निर्देशक बरालले महाभोजमा तीनवटा पी अर्थात् पुलिस, पोलिटिक्स र प्रेसको नेक्सस देखाउन खोजिएको बताए । ‘पुलिस, पोलिटिक्स र प्रेसले अहिलेको समयमा कसरी लाशमाथि राजनीति गर्न सक्छन् । वा जसको आवाज सुनिँदैन तिनको आवाजलाई कसरी आफूअनुकूल व्याख्या र प्रयोग गर्न सक्छन् भन्ने देखाइएको छ, जुन अहिलेको नेपाली समाजमा पाइन्छ,’ उनले भने ।


करिब साढे दुई घण्टा लामो यस नाटकमा निर्देशक बरालले रमेश बुढाथोकी, दिया मास्के, राजन भट्टराई, विप्लव प्रतीक, सोमनाथ बराल, विजय बरालजस्ता चिनिएका अनुहारदेखि अन्य थुप्रै नयाँ कलाकारलाई मौका दिएका छन् । र, त्यसमा सबैजसो कलाकार खरो पनि उत्रिएका छन् । कलाकारहरूको अभिनय, संगीत र मञ्चको पृष्ठभूमि तथा पोसाकको राम्रो संयोजनले करिब साढे दुई घण्टा लामो नाटक भए पनि दर्शकलाई बाँधिराख्छ । यस अर्थमा निर्देशक बराल सफल देखिन्छन् । ‘नाटक भए पनि दर्शकलाई समाजमै भइरहने घटनाको आभास दिलाउन कोसिस गरिएको छ । कुनै ऐतिहासिक घटना भए पनि अहिले आफूहरूले पुनः निरीक्षण गरिरहेको अनुभव गराउँछ,’ बरालले भने ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?