देश जोड्दै लोक नाटक

इलाम सदरमुकाममा आयोजित साताव्यापी महोत्सवमा सातै प्रदेशका मौलिक संस्कृति झल्काउने लोक नाटक
कान्तिपुर संवाददाता

(इलाम) — ठाकुर कमाइ गर्न परदेसिन्छन् । उनकी अर्धांगिनी कजरी उनी आउने बाटो कुर्दै गाउँमै दुःख जेलो गरिरहन्छिन् । लामो समयसम्म पनि ठाकुर नफर्कंदा उनी डोलेहरूसँग सहारा मागेर माइततिर लाग्छिन् । बाटामा थुप्रै खोलानाला तर्नुपर्छ । यही क्रममा नदीको किनारमा कजरीको ठाकुरसँग भेट हुन्छ । यही क्रममा उनीहरू मायाप्रेममा बाँधिन्छन् । यही बेला कजरीले पेट बोक्छिन् । यो खुसी गाउँमा छरिन्छ । तर पूजाको दिन ठाकुर महिनौंअघि मरिसकेको खबर आउँदा सहन नसकेर कजरीले आत्महत्या गर्छिन् । 

ZenTravel

नेपालगन्जका कलाकारले गौतम बुद्ध सभागृहमा गरेको नाटकका सार हो यो । नेपालगन्ज क्षेत्रको लोककथालाई सुदीप पट्टेलको निर्देशनमा अभिनयमा ढालिँदा दर्शक भावुक बने । सशक्त कथावस्तु र खारिएको अभिनय रहेको नाटक प्रेम, रोमान्स, द्वन्द्वसहित सन्देशले भरिएको थियो । नाटकमा अवधि भाषाको प्रयोग गरिएको भए पनि कलाकारको अभिनयले नै कथाको सार बुझ्न दर्शकलाई कठिन थिएन । रुखो र बाँझो लाग्ने नेपालगन्जका लागि यो नाटक ऐतिहासिक बन्ने निर्देशक सुदीप पट्टेलको भनाइ थियो ।

Meroghar


लोककथालाई टपक्कै टिपेर स्टेजमा उतार्ने प्रदेश ५ नेपालगन्जका कलाकार मात्र भने होइनन् । यहाँ जारी राष्ट्रिय लोक नाटक महोत्सवमा आयोजक र सात वटै प्रदेशका खारिएका प्रस्तुति पालैपालो गरी दर्शकलाई नजर गराइँदै छ ।

‘भाषण र गफले मात्र संस्कृतिको बचावट हुँदैन,’ सांस्कृतिक संस्थानका वरिष्ठ नाटक प्रबन्धक प्रभाकरदेव शर्माले भने, ‘हामीले सशक्त रूपमा सात वटै प्रदेशका रैथाने संस्कृतिलाई उजागर गर्दै संस्कृति हस्तान्तरणको प्रयास पनि थालेका हौं ।’

मंगलबार प्रदर्शन गरिएको ‘ताग्मो ल्हुइज्यीन’ (नमोबुद्ध) ले पनि दर्शकलाई उत्तिकै जागरुक र जिज्ञासु बनायो । फूलमान वलद्वारा लिखित नाटकलाई निशा पाख्रिनको निर्देशनमा अभिनयमा ढालिँदा पवित्र धार्मिक स्थल नमोबुद्धको महत्त्व र प्रचारमा पनि उत्तिकै सघाएको छ । कलाकारहरूको सशक्त अभिनयले खचाखच दर्शकलाई हलचल गर्न दिएको थिएन ।

परम्परादेखि चलेको धामीझाँक्री प्रथाका विषयमा चेतना नाट्य समूहले नाटक ‘थान’मा स्थानीय कलाकारलाई मञ्चमा उतारेर सुरु भएको महोत्सव बिहीबारसम्म चल्नेछ । सुरेश पोर्तेलको लेखन निर्देशन रहेको उक्त नाटकमा प्रतिभा निखार्नका लागि स्थानीय प्रतिभाहरूले गतिलो अवसर पाएका थिए । लोक नाटक प्रदर्शनकै अर्को सिलसिलामा सुम्निामा पारुहाङले पनि किराती संस्कार र सांस्कृतिक पाटोलाई मजबुत ढंगले उजागर गर्ने प्रयास गरियो । प्रवीण पुमाको लेखनलाई किशोर अनुरागले निर्देशन गर्दै स्टेजसम्म ल्याइपुर्‍याइएको नाटकले पनि इलामे दर्शकलाई राम्रो छाप छाडेर गयो ।
सांस्कृतिक संस्थानले २५ वटा नाटकमध्ये छनोट गर्दा इलाम गन्तव्य पाएको ‘कनन हरलता’ लाई कुन्दन चौधरीले लेखन तथा निर्देशन गरेका हुन् । महाभारतको समापनपछि राजा परीक्षित कालको चित्रण यो नाटकमा गरिएको छ ।

‘राजकुमारको मल्लयुद्ध’ मा श्रीराम दाहालको लेखनलाई कृष्णभक्त महर्जनले निर्देशन गर्दै मल्लकालीन अवस्थामा राजकुमारले प्राणीहरूलाई दुःख दिने लाखेसँग युद्ध गरी मारेको कथालाई अभिनयमा ढालिएको दृश्यले पनि चर्चा बटुल्यो ।

भावीको खेललाई ‘छैंटी’ मार्फत सामाजिक चित्रण गरेका लेखक निर्देशक गणेश उपाध्यायले कर्णाली प्रदेशको कथाव्यथा पस्किए । चाँदनी मल्लले लेखेको कथामा झकेन्द्र बीसीले निर्देशन गर्दा ‘लोली सज्जा’ मा सुदूरपश्चिमको गौरा पर्वको अनुभूति मिल्थ्यो ।

प्रकाशित : फाल्गुन १, २०७६ ०९:०७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

थिएटरको विकल्प ‘अन्‍नी घर’

एलपी देवकोटा

(जुम्ला) — जुम्लाको कला, संस्कृति झल्किने गरी स्थानीय कलाकारले ‘अन्नी घर’ सञ्चालनमा ल्याएका छन् । जुम्लामा थिएटर नहुँदा नाटक र अन्य कला प्रस्तुत गर्न समस्या भएपछि ‘अन्नीघर’ सञ्चालनमा ल्याइएको हो । 

दुई महिनाअघि स्थानीय कलाकारले निर्माण व्यवसायी संघको हलमा ‘पम्फा फूल’ नाटक मञ्चन गरेका थिए । नाटकबाट उत्साही कलाकारले ‘अन्नी घर’ सञ्चालनमा ल्याएका हुन् । ‘पम्फा फूल’ नाटकका निर्देशक एवं कलाकार गोविन्द सुनारले ‘अन्नी घर’ को नेतृत्व गरिरहेका छन् ।

जुम्लाको मुटु मानिने खलंगामा कृष्णमन्दिर नजिकै ‘अन्नी घर’ खोलिएको हो । खस भाषामा ‘अन्नी’ भनेको खाजा हो । ‘अन्नी घर’ मा जम्मा हुने कलाकार र त्यहाँको सजावट हेर्दा जुम्लामा रंगमञ्चको नयाँ युग भित्रिएको अनुभव गरेको स्थानीय मानव चौलागाईंले बताए ।

‘काठमाडौंका थिएटरमा कर्णालीका कथालाई अब्बल तरिकाले प्रस्तुत गर्ने कर्णालीका कलाकारले अब जुम्लामै प्रयास थालेका छौं,’ उनले भने, ‘नयाँ सोच र सज्जासहित अन्नी घरको अवधारणा ल्याइएको हो ।’ ‘अन्नी घर’ सञ्चालनमा ल्याएपछि कला र संस्कृतिका विषयमा बहस तथा छलफल चलाउन पनि सजिलो भएको छ ।

सबै कलाकारलाई एकताबद्ध गर्न ‘अन्नी घर’ सञ्चालनमा ल्याइएको निर्देशक सुनारले बताए । उनका अनुसार युवाले ‘अन्नी घर’ मा कोरेका थ्रिडी आर्ट देशैभरि पुर्‍याउने योजना छ ।

युवा कलाकारले पुराना काम नलाग्ने वस्तुलाई सजावट गरी ‘अन्नी घर’ मा राखेका छन् । चन्दननाथ–३ खोलिकोटका असिम सेजुवालले दैनिक ‘अन्नी घर’ जान थालेको बताए । ‘अन्नी घर खुलेपछि नाटक र पेन्टिङको दैनिक अभ्यास गरिरहेको छु,’ उनले भने, ‘यहीं आएर रैथाने परिकार पकाउन पनि सिकेँ ।’ चन्दननाथ–५ का कलाकार गोविन्द सुनारले ‘अन्नी घर’ लाई जुम्लाको चिनारी बनाउन लागिपरेको बताए । उनका अनुसार ‘अन्नी घर’ मा रैथाने परिकारबाट खाजा बनाई बिक्री गर्ने र नाटकको अभ्यास गर्ने गरिएको छ । उनले पछिल्लो समय लोप हुँदै गएका रैथाने परिकार फापरको लगड, कोदाको रोटी, चिनो र कागुनोको खिर बनाएर अन्नी घरमा राख्ने गरिएको जनाए ।

युवाको कला देखेर जोकोही पनि उनीहरूका कुरा सुन्न र कला हेर्न जाने गरेको स्थानीय महेश नेपालीले बताए । ‘म पनि कलाकारलाई हौसला दिन र उनीहरूले थालेको अभियान सफल बनाउन दैनिक अन्नी घर जान्छु,’ उनले भने, ‘पहिले पहिले खाजा खान होटल, रेस्टुरेन्टमा जाने गरेका अधिकांशको रोजाइ अहिले अन्नी घर बनेको छ ।’

प्रकाशित : फाल्गुन १, २०७६ ०८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×