थिएटरको विकल्प ‘अन्‍नी घर’

एलपी देवकोटा

(जुम्ला) — जुम्लाको कला, संस्कृति झल्किने गरी स्थानीय कलाकारले ‘अन्नी घर’ सञ्चालनमा ल्याएका छन् । जुम्लामा थिएटर नहुँदा नाटक र अन्य कला प्रस्तुत गर्न समस्या भएपछि ‘अन्नीघर’ सञ्चालनमा ल्याइएको हो । 

थिएटरको विकल्प ‘अन्‍नी घर’

दुई महिनाअघि स्थानीय कलाकारले निर्माण व्यवसायी संघको हलमा ‘पम्फा फूल’ नाटक मञ्चन गरेका थिए । नाटकबाट उत्साही कलाकारले ‘अन्नी घर’ सञ्चालनमा ल्याएका हुन् । ‘पम्फा फूल’ नाटकका निर्देशक एवं कलाकार गोविन्द सुनारले ‘अन्नी घर’ को नेतृत्व गरिरहेका छन् ।


जुम्लाको मुटु मानिने खलंगामा कृष्णमन्दिर नजिकै ‘अन्नी घर’ खोलिएको हो । खस भाषामा ‘अन्नी’ भनेको खाजा हो । ‘अन्नी घर’ मा जम्मा हुने कलाकार र त्यहाँको सजावट हेर्दा जुम्लामा रंगमञ्चको नयाँ युग भित्रिएको अनुभव गरेको स्थानीय मानव चौलागाईंले बताए ।


‘काठमाडौंका थिएटरमा कर्णालीका कथालाई अब्बल तरिकाले प्रस्तुत गर्ने कर्णालीका कलाकारले अब जुम्लामै प्रयास थालेका छौं,’ उनले भने, ‘नयाँ सोच र सज्जासहित अन्नी घरको अवधारणा ल्याइएको हो ।’ ‘अन्नी घर’ सञ्चालनमा ल्याएपछि कला र संस्कृतिका विषयमा बहस तथा छलफल चलाउन पनि सजिलो भएको छ ।


सबै कलाकारलाई एकताबद्ध गर्न ‘अन्नी घर’ सञ्चालनमा ल्याइएको निर्देशक सुनारले बताए । उनका अनुसार युवाले ‘अन्नी घर’ मा कोरेका थ्रिडी आर्ट देशैभरि पुर्‍याउने योजना छ ।


युवा कलाकारले पुराना काम नलाग्ने वस्तुलाई सजावट गरी ‘अन्नी घर’ मा राखेका छन् । चन्दननाथ–३ खोलिकोटका असिम सेजुवालले दैनिक ‘अन्नी घर’ जान थालेको बताए । ‘अन्नी घर खुलेपछि नाटक र पेन्टिङको दैनिक अभ्यास गरिरहेको छु,’ उनले भने, ‘यहीं आएर रैथाने परिकार पकाउन पनि सिकेँ ।’ चन्दननाथ–५ का कलाकार गोविन्द सुनारले ‘अन्नी घर’ लाई जुम्लाको चिनारी बनाउन लागिपरेको बताए । उनका अनुसार ‘अन्नी घर’ मा रैथाने परिकारबाट खाजा बनाई बिक्री गर्ने र नाटकको अभ्यास गर्ने गरिएको छ । उनले पछिल्लो समय लोप हुँदै गएका रैथाने परिकार फापरको लगड, कोदाको रोटी, चिनो र कागुनोको खिर बनाएर अन्नी घरमा राख्ने गरिएको जनाए ।


युवाको कला देखेर जोकोही पनि उनीहरूका कुरा सुन्न र कला हेर्न जाने गरेको स्थानीय महेश नेपालीले बताए । ‘म पनि कलाकारलाई हौसला दिन र उनीहरूले थालेको अभियान सफल बनाउन दैनिक अन्नी घर जान्छु,’ उनले भने, ‘पहिले पहिले खाजा खान होटल, रेस्टुरेन्टमा जाने गरेका अधिकांशको रोजाइ अहिले अन्नी घर बनेको छ ।’

प्रकाशित : फाल्गुन १, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?