२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जुम्लामा थिएटरको विकल्प ‘अन्नी घर’

एलपी देवकोटा

जुम्ला — जुम्लाको कला, संस्कृति झल्किने गरी स्थानीय कलाकारले ‘अन्नी घर’ सञ्चालनमा ल्याएका छन् । जुम्लामा थिएटर नहुँदा नाटक र अन्य कला प्रस्तुत गर्न समस्या भएपछि ‘अन्नीघर’ सञ्चालनमा ल्याइएको हो । दुई महिनाअघि स्थानीय कलाकारले निर्माण व्यवसायी संघको हलमा ‘पम्फा फूल’ नाटक मञ्चन गरेका थिए ।

नाटकबाट उत्साही कलाकारले ‘अन्नी घर’ सञ्चालनमा ल्याएका हुन् । ‘पम्फा फूल’ नाटकका निर्देशक एवं कलाकार गोविन्द सुनारले ‘अन्नी घर’ को नेतृत्व गरिरहेका छन् । जुम्ला खलंगाकाे कृष्णमन्दिर नजिकै ‘अन्नी घर’ खोलिएको हो । खस भाषामा ‘अन्नी’ भनेको खाजा हो ।

‘अन्नी घर’ मा जम्मा हुने कलाकार र त्यहाँको सजावट हेर्दा जुम्लामा रंगमञ्चको नयाँ युग भित्रिएको अनुभव गरेको स्थानीय मानव चौलागाईंले बताए । ‘काठमाडौंका थिएटरमा कर्णालीका कथालाई अब्बल तरिकाले प्रस्तुत गर्ने कर्णालीका कलाकारले अब जुम्लामै प्रयास थालेका छौं,’ उनले भने, ‘नयाँ सोच र सज्जासहित अन्नी घरको अवधारणा ल्याइएको हो ।’ ‘अन्नी घर’ सञ्चालनमा ल्याएपछि कला र संस्कृतिका विषयमा बहस तथा छलफल चलाउन पनि सजिलो भएको छ ।

सबै कलाकारलाई एकताबद्ध गर्न ‘अन्नी घर’ सञ्चालनमा ल्याइएको निर्देशक सुनारले बताए । उनका अनुसार युवाले ‘अन्नी घर’ मा कोरेका थ्रिडी आर्ट देशैभरि पुर्‍याउने योजना छ ।


युवा कलाकारले पुराना काम नलाग्ने वस्तुलाई सजावट गरी ‘अन्नी घर’ मा राखेका छन् । चन्दननाथ–३ खोलिकोटका असिम सेजुवालले दैनिक ‘अन्नी घर’ जान थालेको बताए । ‘अन्नी घर खुलेपछि नाटक र पेन्टिङको दैनिक अभ्यास गरिरहेको छु,’ उनले भने, ‘यहीं आएर रैथाने परिकार पकाउन पनि सिकेँ ।’

चन्दननाथ–५ का कलाकार गोविन्द सुनारले ‘अन्नी घर’ लाई जुम्लाको चिनारी बनाउन लागिपरेको बताए । उनका अनुसार ‘अन्नी घर’ मा रैथाने परिकारबाट खाजा बनाई बिक्री गर्ने र नाटकको अभ्यास गर्ने गरिएको छ । उनले पछिल्लो समय लोप हुँदै गएका रैथाने परिकार फापरको लगड, कोदाको रोटी, चिनो र कागुनोको खिर बनाएर अन्नी घरमा राख्ने गरिएको जनाए ।

युवाको कला देखेर जोकोही पनि उनीहरूका कुरा सुन्न र कला हेर्न जाने गरेको स्थानीय महेश नेपालीले बताए । ‘म पनि कलाकारलाई हौसला दिन र उनीहरूले थालेको अभियान सफल बनाउन दैनिक अन्नी घर जान्छु,’ उनले भने, ‘पहिले पहिले खाजा खान होटल, रेस्टुरेन्टमा जाने गरेका अधिकांशको रोजाइ अहिले अन्नी घर बनेको छ ।’

प्रकाशित : माघ २९, २०७६ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?