चित्रमा माया नै माया

सुशीला तामा‌ङ

काठमाडौँ — आत्मीयता व्यक्त गर्ने अनेक माध्यम र तरिका छन् । कसैले शब्द, कसैले संगीत र कसैले चित्र । चित्रकारद्वय इशान परियार र सबिता डंगोलले भने चित्रकै सहारामा एक–अर्काप्रतिको अगाध मायालाई दर्साएका छन् । उनीहरूको माया गुलाबको फूलमा देखिन्छ । त्यति मात्र कहाँ हो र डुंगा, काइयो, माछा, चरा, पानी जताततै उनीहरूको माया नै माया छरिएका छन् ।

चित्रमा माया नै माया

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी कला प्रदर्शनीमा प्रायः माया, प्रेम, प्रणयका भाव झल्केको देख्न सकिन्छ । यथार्थमा नै जोडीका रूपमा रहेका यी दुईले ‘आत्मीयता’ शीर्षकमा झन्डै १ सय चित्रमा मायालाई मूल भाव बनाएका छन् ।


विशेष गरी समकालीन चित्रलाई नै प्राथमिकतामा राखेर सिर्जनामा रमाउने दुवैको यो दोस्रो संयुक्त काम हो । यसअघि चित्रकार इशान र सबिताले दुई दर्जनभन्दा बढी कलाप्रदर्शनीमा सहभागिता जनाइसकेका छन् भने पाँचौं पटकसम्म एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् ।


विवाह चौथो वर्षगाँठको अवसरमा प्रदर्शन गरिएका चित्रकै माध्यममा समर्थन र सद्भावलाई पनि अभिव्यक्त गरेको दुवैजना बताउँछन् । कला र जीवनयात्रालाई मीठो र पवित्र मायाको सौगातका रूपमा ल्याएको बताउने दुवै जना दुई आत्माको सामीप्यलाई आत्मीयता मान्छन् । जहाँ दुवैको प्रेम आँखाले देखेको भन्दा पनि मनले देखेको दुनियाँसँग नजिक रहेका चित्रमा झल्कन्छ ।


चित्रमा सबिताले काइयो र इशानले डुंगालाई प्रतिबिम्ब बनाएका छन् । सबिताले जीवनको संघर्ष र कठिनाइलाई सकारात्मक सोचसँगै अघि बढेको सम्बन्ध काइयोमा प्रतीकात्मक रूपमा उतारेकी छन् भने इशानले डुंगालाई दुवैको जीवनयात्रासँग दाँजेका छन् ।


डुंगै–डुंगामा एकअर्काको सामीप्यमा रहेको प्रेमिल जोडी, काइयोबाटै उदाएका दुई मायालु जोडी, गुलाफ फूलसहित देखिएका दुई जनाको हात देखिएका चित्र निकै सुन्दर र अर्थपूर्ण लाग्छन् । चरा, पानी र माछासँगै उडेका जोडीका चित्रले स्वतन्त्र, स्वच्छ र पवित्र मायालाई दर्साउँछन् । चित्रमा प्रयोग भएका नीलो, गुलाबी, सेतो, पहेँलो, रातो रङहरूको संयोजनले पनि शान्त र सुनौला रंगीन पललाई प्रस्ट पार्न सघाउ पुर्‍याएको छ । एक दशकभन्दा अघिदेखिको माया, तीन वर्षको सफल वैवाहिक जीवनयात्राका सुखमय पल, सँगै बिताएका याद, दुवैले पाएका सफलता चित्रमै प्रस्तुत भएका छन् । प्रेम र सद्भावले मात्र समाजलाई अगाडि लैजान सकिन्छ भन्ने नै दुवैको कलाकृतिको सारभाव हो । अग्रज चित्रकार बुद्धि गुरुङले दुवैको चित्रमा गहन प्रेमभाव देखिएको उल्लेख गरे । पोखराको सुन्दर ठाउँमा जन्मिएका इशानको चित्रमा पनि त्यहीँको सुन्दरता झल्केको उनको ठम्याइ छ । उनले भने, ‘दुवैको प्रेम जति सुन्दर छ, त्यति कलामा पनि छ ।’


त्यस्तै प्रदर्शनीमै गायक नवीन के भट्टराईले गीत, गायन, संगीत र चित्र जे भए पनि मनको भावना पोख्ने यी सबै कलाका माध्यम भएको बताए । प्रदर्शनी सोमबारसम्म जारी सकिने बताइएको छ ।

प्रकाशित : माघ २७, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?