कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

संस्कृति सिक्दै छोरी

अमृता अनमोल

बुटवल — रानीबारीकी सुस्मिता थारू अहिले बेफुर्सदी छन् । १८ वर्षीया उनी अहिले थारू नाच सिक्दै छिन् । नाचसँगै गाउन र कला देखाउन पनि अभ्यास गरिरहेकी छन् । ‘गाउँमा बुबाहरूको झर्रा नाच समूह छ,’ उनले भनिन्, ‘त्यसबाटै नाच्न, गाउन र थारू संस्कृति अपनाउन सिकिरहेका छौं ।’ आफूले सिकेको कला जिल्लाका विभिन्न स्थानमा देखाउने गरेका छन् । त्यसबाट राम्रै आम्दानी हुने गरेको छ ।

संस्कृति सिक्दै छोरी

‘एक ठाउँमा कला देखाउँदा पाँच सय कमाइन्छ,’ उनले भनिन्, ‘त्यसबाट आफूलाई आवश्यक सामान जुटाउन सजिलो भएको छ ।’


बुटवल उपमहानगरपालिका–१९, रानीबारीमा थारू बस्ती छ । यही बस्तीका २० घरपरिवारले थारू संस्कृति मयूर नाच झर्रा समूह गठन गरेका छन् । पाका पुस्ता मात्रै समेटेको समूहले अहिले छोरीहरूलाई थारू संस्कृति सिकाउँदै छ । ‘नयाँ पुस्ता आफ्नो संस्कृतिमा रमाउँदैनन् । लाज मान्छन्,’ समूहका सदस्य जयराम थारूले भने, ‘त्यसैले केही छोरीलाई लोभ्याएर संस्कृति बचाउन लागेका छौं ।’


दुई वर्षयता रानीबारीमा छोरीहरूकै अगुवाइमा सखिया नाच नाच्न थालिएको छ । सखिया महिलाले नाच्ने नाच हो तर मादल पुरुषले बजाउँछन् । त्यसलाई रूपन्देहीका मेला तथा महोत्सवमा देखाउन थालिएको छ ।


सुरुमा यहाँका ६ छोरीले बाबुलाई साथ दिएका थिए । त्यसपछि अरू छोरी पनि थारू कला र संस्कृति सिक्न तानिएका हुन् । बिहान–साँझ पाका पुस्ताबाट नाचगान सिकिरहेका युवती दिउँसो आफैंले अभ्यास गर्छन् । कहिले त्यही कला र अभ्यास देखाउन कार्यक्रममा पुग्छन् । त्यसैमध्येकी हुन्, जुना चौधरी । उनी सानी छँदा थारू भाषा बोलिनन् । थारू संस्कृति पनि देखिनन् । काठमाडौंमा जन्मेहुर्केकी उनी अहिले भने पुर्ख्यौली थलो रानीबारीमा फर्केकी हुन् । जहाँ थारू भाषा र थारू संस्कृति सिकिरहेकी छन् । ‘मलाई नृत्य र अभिनयमा रुचि छ,’ उनले भनिन्, ‘थारू भाषा र संस्कृतिबाट त्यो रुचि पूरा गर्न यहाँ आएकी हुँ ।’ उनलाई हजुरबुबा छोडकान्त र उनको समूहले नृत्य सिकाउँदै छ । हजुरआमा मालतीदेवी र काकीहरूले भाषा सिकाउँदै छन् । ‘पहिले–पहिले थारू भन्दा हेपिन्छ भन्ने लाज हुन्थ्यो,’ जुनाले भनिन्, ‘अहिले थारू हुँ भनेर आफ्नो कल्चर देखाउन पाउँदा खुसी लाग्छ ।’


छोरीहरूलाई समूहमा नाचगान सिकाउन थालेपछि गाउँटोलमा समेत थारू नाचगान र संस्कृति देखाउने क्रम बढेको छ । पाकाहरू कामबाट फुर्सद भयो कि नाचगान सुरु गर्छन् । शुभकार्य र चाडबाडमा सांस्कृतिक कार्यक्रम देखाउँछन् । त्यही मेलोमा छोरीहरू पनि सहभागी हुन थालेका छन् । ‘छोरीहरू खुलेर नाच्न थालेपछि अब हामीसँगै हाम्रो संस्कृति मर्दैन भन्ने आश जागेको छ,’ समूहका अध्यक्ष चौतारेप्रसाद थारूले भने, ‘उनीहरू आफ्ना दाजुभाइलाई पनि नाचगानमा फकाउन थालेका छन् ।’ अहिले रानीबारीका करिब दुई दर्जन छोरी थारू संस्कृति सिक्ने अभ्यासमा छन् । नाच्न जान्ने छोरीहरू नाच्न थालेका छन् । गाउनेले गाउन र बजाउन रुचि हुनेहरू बजाउन पनि सिकिरहेका छन् । त्यसमध्ये सीमा थारूको सबैभन्दा मीठो स्वर छ । स्कुल पढ्दादेखि नै गीत गाउँथिन् । तिनै सीमा अहिले थारू भाकाका गीत गाउन सिकिरहेकी छन् । ‘आमाले जुराइदिएका पाँचवटा गीतमा अभ्यास गरिरहेकी छु,’ उनले भनिन्, ‘परिपक्व गाउन थालेपछि एल्बम निकाल्ने सोच छ ।’ एल्बम निकाल्नेबारे बुटवलको बागेश्वरी संगीतालयमा समेत आएर राय लिएको उनले बताइन् ।


गीता थारू हरेक तालमा मादल बजाउँछिन् । बाबु खगेप्रसादले उनलाई मादले बनाएका हुन् । समूहका कार्यक्रममा मात्र होइन, गाउँमा हुने सांस्कृतिक कार्यक्रम, भोजभतेर र जमघटमा मादल बजाउन उनी अघि सर्न थालेकी छन् । ‘दाजुभाइले बुबाको बिँडो थामेनन्,’ उनले भनिन्, ‘म सक्छु होला भनेर थालेकी छु ।’


थारू युवती बाबुहरूसँगै चुड्का भन्न, हाँस्न र हँसाउन पनि सिकिरहेका छन् । कोही मयूर त कोही झुमरामा शरीर मर्काइमर्काई नाच्छन् । रंगीबिरंगी मेकअप गरेर रंगीचंगी लुगा लगाउँछन् । ‘छोरीहरूप्रति हामी खुसी छौं,’ थारू संस्कृति मयूर नाच झर्रा समूह सदस्य हरिलाल चौधरीले भने, ‘पाकाले धानेको संस्कार छोरीजस्तै छोरामा पनि सुम्पन चाहन्छौं ।’


बुटवल–१९, पत्थरगन्जमा अर्को थारू बस्ती छ । यही बस्तीका कुमारप्रसाद थारूको अगुवाइमा थारू तथा झुमडा नाच समूह गठन भएको छ । समूहका सदस्य सबैजसो ६० वर्षमाथिका छन् । यहाँको पाका पुस्ताले पनि पछिल्लो समय छोरीलाई समूहमा मिसाएको छ । धेरै छोरा कामको सिलसिलामा बाहिर रहेकाले छोरीहरूलाई संस्कृति सिकाउन लागेको अध्यक्ष कुमारप्रसादले बताए ।


‘हामी त सानैदेखि थारू नाच नाच्यौं । गायौं । लाज लाग्दैन । रमाइलो लाग्छ,’ उनले भने, ‘हामीसँगै संस्कृति मरेर नजाओस् भनेर छोरीहरूलाई सिकाउन लागेका हौं ।’ छोरीहरू खुलेर नाच्न गाउन थालेपछि छोराहरू पनि फेरिन लागेका छन् । ‘डबल नाच्न पर्नेमा छोराहरू पनि नाच्छन्,’ उनले भने, ‘छोरीहरू सरह खुलेर मेला महोत्सवमा जान र गाउन र नाच्न भने मान्दैनन् ।’ छोरीहरू नियमित कला संस्कृतिमा लागे छोराहरूलाई पनि तान्न सकिने उनले बताए ।

प्रकाशित : माघ २७, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?