शैलीको संघर्ष

थिएटरमा रहर, इच्छा हुन्छ तर पैसा हुादैन । कतिपयले फिल्म उडानको ट्रान्जिट बनाइरहेका छन् । 
सुशील पौडेल

काठमाडौँ — बुधबारदेखि राजधानीको कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा आठ दिन लामो राष्ट्रिय बालनाटक महोत्सव हुँदै छ । बालबालिकाले बालबालिकाकै लागि मञ्चन गर्ने नाटकको महोत्सवले दशकको यात्रा तय गरिसकेको छ । शैली थिएटरले गर्दै आएको महोत्सवको मुख्य योजनाकार हुन्, नवराज बुढाथोकी । शैलीका अध्यक्षसमेत रहेका बुढाथोकी यतिबेला महोत्सव व्यवस्थापनको काममा बढी व्यस्त देखिए । 

शैलीको संघर्ष

२०६६ मा पहिलो पटक बाल नाटक महोत्सवको प्रस्ताव गर्दा बुढाथोकीकै ‘शैली’ सहकर्मीले पत्याएका थिएनन् । ‘बालबालिकाको नाटक देखाएर पनि महोत्सव गर्न सकिएला र ?’ केही सहकर्मीले शंका गरे । तैपनि शैलीले आँट गरिछाड्यो । चार/पाँच स्कुले नाटक सहभागी भए । ‘संख्या थोरै त थियो नै, गुणस्तरीय पनि थिएनन्,’ शैलीका अध्यक्ष बुढाथोकीले भने, ‘त्यसपछि अर्को वर्षबाट हामीले यसलाई प्रतियोगात्मक बनायौं । पुरस्कारको व्यवस्थाले सहभागीलाई प्रतिस्पर्धी बनायो, प्रतिस्पर्धाले गुणस्तरीय ।’ ११ औं वर्षमा आइपुग्दा यसपटक १६ प्रतियोगी नाटक सहभागी भइरहँदा बुढाथोकी दंग देखिए ।


दस वर्षअघि बाल नाटक महोत्सव गर्न आँट्नु चानचुने कुरा थिएन । शैली थिएटरले जेनतेन त्यसलाई निरन्तरता दिँदै आएको छ । सुरुवाती वर्ष नाटकमार्फत सहभागी कतिपय बालबालिका अहिले रंगमञ्चमै सक्रिय छन् । ‘कलाकार नभएका पनि राम्रा दर्शक बनेका छन् । हाम्रो प्रयासले नेपाली रंगमञ्चको विकास र विस्तारमा एउटा आधारशिला खडा भइरहेको देख्दा खुसी लाग्छ,’ अचेल कैयौं निजी विद्यालयले ड्रामा टिचर नै राखेर पढाउन थालेको देख्दा पनि बुढाथोकी उत्साहित हुन्छन् । नाटक मञ्चन समूह अभ्यास हो । यसमा संलग्न भइसकेपछि बालबालिकामा व्यक्तित्व विकास हुनुका साथै कला, साहित्य, संस्कृति र समाजलाई सानैदेखि बुझ्न तथा अनुशासित बनाउन भूमिका खेल्ने गरेको अनुभव अध्यक्ष बुढाथोकीको रहेछ । केन्द्रको एउटा सानो कोठाबाट सुरु भएको शैलीको यात्रा यतिबेला रातोपुलस्थित आफ्नै नाटकघरसम्म पुगेको छ । २०६४ तिर बुढाथोकीसहित सात/आठ जनाको समूहलाई रुसी केन्द्रका तत्कालीन कार्यकारी निर्देशक राजीव दवाडीले एन्तोन चेखवको नाटक मञ्चनको प्रस्ताव गरे ।


चेखवको जन्मजयन्तीको अवसर पारेर चेखवकै कथामा उक्त समूहले ‘एउटा बुइगल भएको घर’ देखायो । नाटक जम्यो । केन्द्रले लगत्तै अर्को प्रस्ताव गर्‍यो । रंगमञ्चमा केही गरौं भन्ने जुझारु युवाहरूको समूह पछि हट्ने कुरै थिएन । चेखवकै ‘स्वान सङ’ लाई नाट्य रुपान्तरण गरेर देखाइदिए । रुसी केन्द्र थप उत्साहित भई स्क्रिप्ट थमायो र भन्यो, ‘के यसमा नाटक गर्न सक्छौं ?’ बुढाथोकीले अतीत सम्झँदै भने, ‘नसक्ने के थियो र ? हामीले त्यसलाई ‘सरकारी निरीक्षक’ शीर्षकमा नाटक गर्‍यौं ।’ त्यही समूह नै पछि विधिवत् शैली थिएटरका नाममा गोलबन्द भयो । रुसी केन्द्रले आफ्नै भवनमा एउटा कोठा उपलब्ध गराइदियो । त्यसपछि शैलीले रुसी केन्द्रकै प्रेक्षालयमा रुसी र नेपाली साहित्यमा निरन्तर नाटक मञ्चन गर्न थाल्यो । विदेशी साहित्यका नाटक पनि नेपाली समाजसँग रिलेट गर्दै मञ्चन भइरहे ।


दस वर्ष केन्द्रमा बसेर दुई दर्जन नाटक गरेपछि शैली मंसिरदेखि आफ्नै भवनमा सरेको छ । केन्द्रको कोठामा खुम्चेर बसेको शैली यतिबेला फुकेको छ । ‘कतिपय कुरा उहाँहरूको र हाम्रो मिल्थेन । चाहेको अनुसार सेट लगाउन, लाइट राख्नजस्ता प्राविधिक समस्या हुन्थे,’ बुढाथोकी भन्छन्, ‘अहिले आफूले मन लागेअनुसार काम गर्न पाएका छौं ।’ केन्द्रको हल नाटककै लागि मात्रै थिएन । त्यसैले पनि नियमित नाटक मञ्चन गर्न मिल्थेन । एउटा नाटक बढीमा पाँच दिन मञ्चन हुन्थ्यो । हल नै खाली हुँदैनथ्यो । ‘मिहिनेत गरेर नाटक तयार पार्थ्यौं अनि खर्च गरेर स्टेज बनाइएको हुन्थ्यो । त्यति सोजले न खर्च उठ्थ्यो न त कलाकारले धित मरुन्जेल काम गर्न नै पाउँथे,’ बुढाथोकीले अर्को घटना पनि सुनाए । बालनाटक महोत्सवकै लागि भनेर शैलीले एउटा नाटक तयार पारेको थियो । बाँसैबाँस प्रयोग गरेर सेट तयार पारेको थियो । पछि केन्द्रले भुइँ कोरिने समस्या देखाउँदै नाटकलाई दोहोर्‍याएर मञ्चन गर्न दिएन ।

२०५४ मा राष्ट्रिय नाचघरमा नाटक सिक्न पुगेपछि यही क्षेत्रमा रौसिएका बुढाथोकी त्यसपछि नाचघरकै प्रशिक्षार्थीले खोलेको आख्यान आर्ट ग्रुपदेखि पम्किन थिएटरसम्म आबद्ध भई नाट्य क्षेत्रमा रमे । पछि साथसाथ नामक एनजीओमा संलग्न भई सडक बालबालिकाका लागि नाटक अभियानमा जोडिए । ‘त्यो सडक बालबालिकालाई नाटक सिकाउने र समाजमा पुनर्स्थापना गराउने उद्देश्य थियो,’ बुढाथोकीले नाटककै कारण कतिपय बालबालिका पुनर्स्थापितसमेत भएको सम्झन्छन् । बालबालिकासँग नजिक रहेर काम गर्न रुचाउने उनी रेडियो सगरमाथाका कार्यक्रम प्रस्तोता पनि हुन् । त्यहाँ पनि उनले बालकार्यक्रम चलाए । बालबालिकाप्रतिको झुकाव अझ बाक्लियो । उनीहरूका मुद्दाबारे धेरथोर जानकार हुँदै गए । उनी त्यसैको रिफ्लेक्सन मान्छन्, राष्ट्रिय बाल नाटक महोत्सवलाई ।


शैलीको यात्रा सहज भने रहेन । भन्छन्, ‘सबभन्दा गाह्रो कुरा नै कलाकार टिकाइरहन हुन्छ । एउटा लेभलमा पुगेपछि छोड्छन् । निःशुल्क वा थोरै पैसामा पनि कतिन्जेल गर्ने भन्ने कुराले अर्थ राख्छ । अरू बाटा खोज्न थाल्छन् । जुन समस्या अहिले पनि छ । थिएटरमा रहर, इच्छा हुन्छ तर पैसा हुँदैन ।’ आफ्नै भवनमा सरेपछि आम्दानी बढ्दै जाला कि भन्ने बुढाथोकीको विश्वास छ, ‘अरू व्यवसायबाट मान्छे बाँच्न सक्छ भने थिएटरबाट किन नसक्ने ?


कतिपयले थिएटरलाई फिल्म उडानको ‘ट्रान्जिट’ पनि बनाइरहेका छन् । उनी यसलाई गलत भन्दैनन् । ‘तर थिएटरको ट्याग भिरेर मात्रै फिल्म खेल्न जानु भएन । सिकेर जानु त राम्रो हो नि ।’ उनले अहिले त म्युजिक भिडियोमा समेत थिएटर आर्टिस्टको डिमान्ड देख्दा रमाइलो मान्छन् । २०५४ तिर राष्ट्रिय नाचघरमा खाजा खुवाउँछु भन्दा पनि नाटक हेर्न नआउने देखे/भोगेका बुढाथोकी अचेल टिकट नपाएर दर्शक फर्किनुपर्ने अवस्था आउनु र नाटकलाई हेर्ने दृष्टिकोण बदलिएको देख्दा रंगमञ्चको भविष्य राम्रो देख्छन् । थप्छन्, ‘तैपनि समस्याचाहिँ राम्रा नाटकको छ । विदेशी नाटक किन गरेको भन्ने प्रश्न आइरहन्छ । तर नेपालमा नाटक लेख्ने नयाँ पुस्ता नै आएन । अझै पनि बालकृष्ण सम, भीमनिधि तिवारीकै नाटकमा भर पर्नुपर्ने हुन्छ ।’


प्रकाशित : माघ २२, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?