कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बाबुछोरीको युगल

काठमाडौँ — ‘पानी छाया नलाऊ माया छिनभरको नलाऊ माया, पानीछाया...’
स्टेजमा गीत गुनगुनाइरहँदा सबैको नजर हास्य कलाकार मदनकृष्ण श्रेष्ठभन्दा पनि उनकी छोरी सराना श्रेष्ठमा थियो ।

बाबुछोरीको युगल

लामो समय अमेरिका बसाइमा रहेकी सराना गायिकाका रूपमा नेपाल आएकी हुन् । उनले पिता मदनकृष्णसँग गाएकी युगल गीत ‘पानीछाया...’ शुक्रबार सार्वजनिक गरिन् ।


शुक्रबार राजधानीको विशालबजारस्थित बेन्टोमा बाबुछोरी मदनकृष्ण–सराना र हास्य कलाकार हरिवंश आचार्य, दीपाश्री निरौला केदार घिमिरेलगायतले उक्त गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरे । भिडियोलाई गोपालकृष्ण महर्जनले प्रस्तुत गरेका हुन् । ६ महिना नेपाल बसाइकै क्रममा कुलेखानी आसपासका क्षेत्रमा भिडियो निर्माण गरिएको उनले बताइन् । भिडियोको कथा उनले नै परिकल्पना गरेकी हुन् । गीतले एकतर्फी मायाको भाव व्यक्त गरेको सुनाउँदै उनले भनिन्, ‘आफ्नो देशमा आउँदा लागेको रमाइलो अनुभव भिडियोमा ल्याएकी हुँ ।’


गीतको शब्द गीतकार तथा साहित्यकार राजेन्द्र थापा र संगीत राजनराज शिवाकोटीको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई निर्देशन सुब्रतराज आचार्यले र सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । भिडियोमा सराना र मदनकृष्ण नै देखिएका छन् । मदनकृष्णले सरानाको स्वर पहिलेदेखि नै राम्रो रहेको खुलाउँदै गीतलाई उनको स्वरले न्याय गरेको बताए ।


‘छोरी अमेरिका गएपछि उनको प्रतिभा त्यतिकै थन्किन्छ भन्ने डर थियो,’ उनले भने, ‘अहिले उनी मीठो गीतका साथ गायिका रूपमा आएकी छन् ।’ मदनकृष्णले छोरी चञ्चल स्वभावको भए पनि आफूजस्तै भावुक गीतहरू मन पराउने भन्दै उनका दुवै सन्तान (छोरा यमन श्रेष्ठ र छोरी सराना) मा आफ्नो गुण सरेको बताए । उनका अनुसार गीत छोरीकै लागि थियो । पछि गीतकार थापाको अनुरोधमा उनले गीतको अन्तिम अन्तरा गाएका थिए ।


गीतको रेकर्डिङ समयलाई सम्झँदै थापाले भने, ‘बिरामी भएर बसिरहनुभएकाले उहाँले स्वर पुग्दैन कि भन्दै मान्नुभएको थिएन । गीत गाउन थालेपछि एक टेकमै पो ओके भयो ।’ दुई पुस्तालाई समेटेर गीतका शब्द तथा भाव तयार भएकाले मिठासपूर्ण गीत बनेको थापाले दाबी गरे । गीत फुर्नलाई जुर्नुपर्ने भन्दै उनले मदनकृष्णको बाबुछोरीसँग युगल गीतका लागि जुरेको बताए । हरिवंशले भने प्रतिभाशाली सराना अमेरिका पसेकामा दुःख व्यक्त गरे ।


गायिका तथा नायिका दुवै माध्यममा उनी नेपालमै केही गर्न सक्ने खुबी भएको व्यक्तित्वका रूपमा उनले प्रशंसा गरे । ‘मदन दाइको रगतमै संगीत छ,’ उनले भने, ‘सरानामा पनि गायिकामा हुनुपर्ने फरक मिठास स्वर छ ।’ हरिवंशले थपे, ‘मदन दाइको गीत नै मेरो गीत हो । उहाँकी छोरी मेरी पनि छोरी हो ।’


प्रकाशित : माघ १३, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?