सोनाम ल्होछारको रौनक

काठमाडौँ — डम्फुको ताल, सेलोको रौनक । बोन्पोहरू पनि ढ्यांग्रो बजाउँदै सडकमा उत्रिए । सांस्कृतिक पहिरनमा सजिएका उनीहरू लस्करै टुँडिखेल पस्दै गर्दाको दृश्य लोभलाग्दो थियो । लामा नाचले पनि उत्तिकै ध्यान तान्यो ।

सोनाम ल्होछारको रौनक

तामाङ फिल्मका कलाकारदेखि साहित्यकार र संस्कृतिकर्मीसम्म सडक परिक्रमा गर्दै राजधानीको टुँडिखेल पस्दाको माहोल झन् सांस्कृतिक थियो । तन्नेरीहरू तागी, आङरे, स्यामाजस्ता मौलिक पहिरनमा सजिँदै सेल्फी खिचिरहेका थिए भने स्टलमा कतै पुस्तक, कतै मौलिक खानेकुरा त कतै गोइलो (फेसन) थिए । स्टेजमा तामाङ सेलो बजिरहेको थियो ।


राजधानीबासी तामाङ समुदायले शनिबार महोत्सव गर्दै यसरी सोनाम ल्होछार मनाए । तामाङ घेदुङको संयोजनमा विभिन्न संघसंस्थाको संलग्नता रहेको महोत्सवमा दिनभर घुइँचो लागेको थिए । संस्कृतिविद् अजितमान तामाङका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ हो । तामाङ समुदायले मनाउने ल्होछार यसपटक २८५६ औं हो । ‘तामाङ भाषामा ल्हो शब्दले बाह्र ल्होखोर अर्थात् १२ वर्षे चक्रलाई बुझाउँछ,’ उनले भने, ‘ल्होले सम्वत्, वर्ष, उमेर पनि जनाउँछ । तामाङ समुदायको वर्ष माघ महिनामा फेरिन्छ ।’ उनका अनुसार यस्ता वर्षलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ जनावरको नामबाट प्रतीकात्मक रूपमा लिइन्छ । यसपटक सुँगुर वर्ष अन्त्य भई मुसा वर्ष सुरु भएको छ । चाडपर्वहरू सांस्कृतिक सम्पदा रहेको बताउँदै घेदुङका संघीय अध्यक्ष मोहन गोलेले राज्यले त्यहीअनुसार सम्मान गर्नुपर्ने बताए ।

प्रकाशित : माघ १२, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?