३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

चित्र र रंगमञ्च सँगसँगै

काठमाडौँ — झन्डै सात वर्षअघि बत्तिसपुतलीमा शिल्पी थिएटरले धमाधम गोठाले नाटकघर बनाउँदै थियो । छेवैमा थियो ‘अभिमञ्च’ नामक बाँसको सानो कटेरो, यहीभित्र रंगकर्मी घिमिरे युवराजले तामाङ मिथ र जीवनका कथा जोडेर नाटक ‘म्हेन्दोमाया’ तयार पारेका थिए । अहिले यो थलोको हुलिया बदलिएको छ । भव्य नाटकघर, पुस्तक पसल अनि क्याफे । यही थलोमा अब आर्ट ग्यालरी पनि खुलेको छ । 

चित्र र रंगमञ्च सँगसँगै

संयोग के भने आर्ट ग्यालरीको नाम दिइएको छ ‘अभिमञ्च’ । नेपाली साहित्य र रंगमञ्चका अग्रज स्रष्टा डा. अभि सुवेदीको नाममा समर्पित यो ग्यालरीमा यतिबेला ११ जना युवा चित्रकारका सिर्जना सजिएका छन् । अनेक विधाका कलाको संगम थलो बनेको शिल्पी परिसरमा आफ्नो नामबाट ग्यालरी सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै सुवेदीले ‘यस्तो प्रयोग भने नौला नभएको’ बताए । उनका अनुसार रंगमञ्चमा चित्रकला प्रयोग गर्ने पुरानै परम्परालाई पछिल्लो पुस्ताले अगाडि बढाएको मात्रै हो । उनले पुराना रंगशैली सम्झे । ‘पारसी रंगमञ्चका पर्दामा सहरका ठूला–ठूला चित्र प्रयोग गरिन्थे र त्यसैको माध्यमलाई रंगमञ्चको नामले चिनिन्थ्यो,’ उनले भने । उनका अनुसार आधुनिक रंगमञ्चमा अभिनय तथा भिजुअल प्रवेश भएसँगै विस्तारै चित्रहरू सिधै प्रयोग हुन छाडेका हुन् । पछि पुरानो बानेश्वरको सानो थुम्कोमा आरोहणले गुरुकुल स्थापना गरेपछि सुवेदीलगायतका समूहले नै रंगमञ्चमा आर्ट ग्यालरी पनि सँगै लिएर जाने अवधारणा ल्याएका थिए ।


उनका अनुसार रंगमञ्च र चित्रकलाबीच ऐतिहासिक सम्बन्ध छ । ‘रंगमञ्चमा हुने अभिनय र कथाका पात्र चित्रमा पनि हुन्छ,’ कला समीक्षकमा समेत रहेका उनले भने, ‘उता फेरि ललितकलाको प्रतिस्थापन र प्रस्तुति कला रंगमञ्चसँगै जोडिन्छ ।’ करिब दुई दशकभन्दा अघि आफ्नै काठमाडौं यात्रालाई जोडेर शेखर खरेलले तयार पारेको ‘काठमाडौं ओडिसी’ नामक डकुमेन्ट्री फिल्ममा रंगमञ्च, चित्र र संगीतको सम्बन्धलाई प्रस्तुत गरिएको पनि सुवेदीले सम्झे । डकुमेन्ट्रीमा चित्रकार किरण मानन्धरले संवाद र संगीतअनुसार चित्र कोरेका छन् ।


चित्र र रंगमञ्चको प्रयोग सर्वनाम थिएटरले पनि गर्दै आएको छ । कालिकास्थानस्थित सर्वनाम थिएटरले आफ्नो नाटकघरको मुनिको स्पेसलाई ग्यालरीको रूपमा धेरै वर्षदेखि सञ्चालनमा ल्याएको हो । त्यहाँ पनि भिन्नाभिन्नै चित्रकार सिर्जनाको प्रदर्शनी चलिरहन्छ । माघेसंक्रान्तिको अवसर पारेर उद्घाटन गरिएको शिल्पीको अभिमञ्चमा भने रोशन प्रधान, विपना महर्जन, किशोर नकर्मी, श्यामसुन्दर यादव, अनिता भट्टराई, विभूषण ताम्राकार, कान्छाकाजी भासिमा, रेणु यादव, प्रकाश मानन्धर, मञ्जु खड्का र सुन्दर श्रेष्ठका कलाकृति छन् । धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा मानवीय विषयलाई प्राथमिकतामा राखेर कोरेका चित्रहरू प्रदर्शनीमा छन् । उद्घाटनको अवसरमा चित्रकारहरूले शिल्पी परिसरमै बसेर आफूलाई मन लागेको विषयमा चित्र पनि कोरेका थिए ।


रंगमञ्च र चित्रकलाबीचको सहकार्यलाई अझ सिर्जनात्मक बनाउन ग्यालरी थालिएको शिल्पीका घिमिरे युवराजले जनाए । ग्यालरीकी क्युरेटर हुन् चित्रकार जया शर्मा । नाटक मात्र हेर्ने दर्शकले चित्रकला पनि हेर्न पाउँदा दुवै विधा फराकिलो बन्ने क्युरेटर शर्माको ठहर छ । ‘चित्र र नाटकलाई छुट्टै रूपमा हेर्ने चलन छ,’ उनले भनिन्, ‘दुवैलाई एकै ठाउँ राख्दा कलाकार तथा दर्शक जमघट हुने अवसर निर्माण हुन्छ ।’

प्रकाशित : माघ ५, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?