२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

चित्रमा छाउपडी पीडा

काठमाडौँ — पछिल्लो समय सुदूरपश्चिममा छाउपडी प्रथालाई निर्मूल गर्न जनप्रतिनिधिदेखि मिडियासम्म लागिपरेका छन् । छाउगोठमा महिलाहरुको अकालमै मृत्यु भएपछि स्थानीयबासी पनि केही सचेत हुन थालेका छन् ।

चित्रमा छाउपडी पीडा

महिलाले छाउ (रजस्वला) को समय के–कस्तो कष्ट बेहोर्नुपर्छ, उनीहरुमा शारीरिक तथा मानसिक समस्या कसरी आइपर्छन् ? घरभन्दा पर साघुँरो छाउगोठमा बस्ने महिलाले कस्तो परिस्थितिसँग सामाना गर्नुपर्छ ? कलामार्फत यी सबै नियाल्ने हो भने रुकमणि श्रेष्ठले चित्र उपयुक्त हुन सक्छ ।

उनले ‘छाउपडी’ शीर्षक राखेर तपार पारेकी चित्रमा सजिएका छन् कीर्तिपुरस्थित ‘रंगमञ्चमा क्यानभास एट थिएटर’ मा । सुदूरपश्चिममा छाउ बारेर गोठमा बसिरहेकी महिलाको पीडा उनको इचिङ कलामा झल्किन्छ । भक्तपुरकी चित्रकार श्रेष्ठले छाउगोठको पीडा त भोगेकी छैनन् । तर रजस्वलाको समयमा घरलगायत विभिन्न ठाउँमा हुने छेकथुन र यो समयमा हुने असह्य शारीरिक पीडाको भने उनी भागीदार हुन् ।

तिनै अनुभवका आधारमा सुदूरपश्चिमको दुःख पनि मिसाएकी हुन् उनले । ‘अरू बेला देवी र सृष्टिकर्ताको रूपमा पुजिने महिला महिनावारी हुँदा अछुतजस्तो बनाइन्छ,’ उनले भनिन्, ‘सहरमा त महिलालाई यति पीडा महसुस हुन्छ भने छाउगोठमा कति गाह्रो होला ?’ उनको आफ्ना दुई चित्रमा महिलाहरु गाई, बाख्रा बाँधेको गोठमा दुःखी भएर बसेको देख्न सकिन्छ । छेवैमा डोको, घाँस र दाउरा पनि छन् ।


दुई सातादेखि जारी प्रदर्शनीमा इचिङ र प्रिन्ट मेकिङ गरी १३ जना चित्रकारहरुका कलाकृति पनि छन् । चित्रकार विद्यमान तामाङले सहरीकरणसँगै हराउँदै गइरहेको सांस्कृतिक सम्पदालाई ‘विइन्डो’ शीर्षकमा उतारेका छन् । त्यस्तै सुवास तामाङले नेपालमा सर्वप्रथम मानिसले बोकेर भित्र्याएको मोटरगाडीको ऐतिहासिक क्षणलाई ‘स्टडी अफ हिस्ट्री’ शीर्षकमा सजाएका छन् । उनले पनि इचिङकै माध्यम अपनाएका छन् ।

अर्का चित्रकार सोनी राइले ‘रिप्लेसमेन्ट’ शीर्षकमा परम्परामाथि आधुनिकताको प्रभाव औंल्याएकी छन् । उनले कोरेको चित्रमा परम्परागत ऊन काट्ने तानसँग दुई राई महिलाहरु चित्रित छन् । एक महिलाको पछाडि कपडामा नाइक, पुमा, कन्भर्सजस्ता बहुराष्ट्रिय कम्पनीका लोगो देखिन्छ । मौद्रिक पहिरनलाई विदेशी ब्रान्डका कपडाहरुले कसरी विस्थापित बनाउँदै लगेको छ भन्ने उनको चित्रले प्रकाश पार्छ ।

उद्धवराज रिमाल, टीकादत्त दाहाल, दीपमाला महर्जन, नारायणप्रसाद बोहजु, भीषण राजभण्डारी, मनीषा मानन्धर, सन्तोष सिग्देल, सुजिता महर्जन, सुमन महर्जनलगायतका चित्रकारका सिर्जना पनि प्रदर्शनीमा अवलोकन गर्न सकिन्छ । अधिकांश चित्रमा समकालीन सामाजिक, धार्मिक, सांस्कृतिक पक्षमाथिको चिन्ता र चासो अभिव्यक्त भएका छन् । मानव सभ्यताका विकृति, लैंगिक असमानता, कुसंस्कार र उत्पीडन पनि चित्रहरुमा भेटिन्छ ।

थिएटर मलका संस्थापक तथा रंगकर्मी केदार श्रेष्ठले रंगमञ्च कलाका विविध माध्यमहरुको संगम रहेको खुलाउँदै कला–संस्कृतिको अभियानमा चित्र, नाटक जस्ता विधाको समन्वय र सहकार्य गर्न चाहेको बताए । प्रदर्शनी शनिबारसम्म जारी रहनेछ ।

प्रकाशित : माघ २, २०७६ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?