३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

परिवर्तनशील ऋतु र मन

सुशीला तामा‌ङ

काठमाडौँ — मुलुकमा बेरोजगारीको समस्या विकराल बन्दै गइरहेको छ । राजनीतिक बेथितिको चुली उस्तै छ । शक्तिका आडमा आपराधिक क्रियाकलापमा संलग्नहरू झनै फस्टाउँदो अवस्थामा छन् । यस्तो स्थितिमा पनि पुलिस प्रशासन, न्यायालय मौन देखिन्छन् । अभिभावकलाई आफ्नो सन्तानलाई दिने समय छैन ।

परिवर्तनशील ऋतु र मन

त्यही मौकामा नयाँ पुस्ता सामाजिक सञ्जालभित्र पूरै डुबेका छन्, तिनीहरूलाई त्यसबाट मुक्ति दिलाउन त्यति सहज छैन । अन्ततः मुलुक र परिवारको सामाजिक, आर्थिक, राजनीतिक, पारिवारिक द्वन्द्वमा ऋतुजस्तै मानिसका मन परिवर्तन भइरहेका छन्, जुन मनहरू सपना खोजीमा सलबलाइरहेका छन् । हर्ष, विस्मात्, लोभ, लालच, प्रतिष्ठाका लागि परिवर्तनशील अवस्थामा चक्रजस्तै घुमिरहेका मनहरू यतिखेर कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘ऋतु चर्या’ मा देख्न सकिन्छ ।


सर्वनामबाटै प्रशिक्षण लिएका १५ औं ब्याचका प्रशिक्षार्थी रंगकर्मीहरूको लेखन तथा निर्देशनमा गत शनिबारदेखि मञ्चन सुरु भएको नाटकमा सुख खोज्दै जाँदा दुःखमा जेलिएका, माया खोज्दै हिँड्दा घृणा पाएका, प्रविधिसँगै परिवारबाट अलग्गिएका, गाउँबाट सपना खोज्दै सहरमा हराएका, सरकारी जागिरको आसमा घोकन्ते शिक्षामा अल्झिएका थुप्रै पात्र चित्रण छन्, जसका मनहरू स्थिर छैनन् । ऋतु चक्रमा जस्तै तिनीहरूका मनमा कतै वसन्तको जस्तो बहार छाएको छ भने कतै शिशिरको जस्तो तुसारोले भरिएको छ ।


मञ्चमा एक दर्जनभन्दा बढी पात्र छन् । ती सबै पात्रलाई लेखक आशुतोष आफूले सिर्जना गरेको एउटा कथाभित्र सीमित गर्न खोज्दै छन् । उनको कथा लेखनको प्रारम्भबाटै समाजमा अनेक रूपरंगमा रहेका मानिस प्रतिविम्बित हुँदै जान्छन् । लेखक जीवनलाई ऋतुचर्याका रूपमा परिभाषित गर्दै जान्छ र त्यसलाई आफ्नो पाण्डुलिपिमा उतार्दै जान्छ । उसको पाण्डुलिपिअनुसार अराजक बन्दै गएको राजनीति, अपराधलाई ढाकछोप गर्नतिर लागिरहेको पुलिस प्रशासन, शक्तिकै भरोसामा कानुन र मिडियालाई आफ्ना हातमा लिइरहेको गिरीशजस्ता पात्र जन्मिँदै जान्छन् । त्यही क्रममा जनतालाई भर्‍याङ बनाई अघि बढिरहेको नेता पनि प्रस्तुत हुन्छ, जसलाई राजनीतिमा सही र गलतको तौलभन्दा पनि हार र जितसँग मात्र सरोकार छ ।


आशुतोषको कथामा अर्का पात्रहरू पनि आउँछन् । वर्षादजस्ता पात्र सहरमा पढाइ र राम्रो जागिरको खोजीमा छन्, जसलाई गाउँ फर्कने मन छैन । उसकै सहपाठी बादल अधिकारी सरकारी जागिरको लागि लोकसेवामा नाम निकाल्न दिनरात नभनी पढिरहेका छन् । दुवैको सपनामा पूर्णविराम लागेपछि परिवर्तन भएको मनलाई दुईबीचको संवादमा झल्कन्छ । अर्कातिर सानैदेखि होस्टेल जीवन बिताएका हेमन्त भौतिक सुखसयलसँग नजिक भए पनि पारिवारिक मोहबाट टाढा छन् । आफ्ना बाबुले अनेक खुसी दिन खोज्दा पनि उनी अहिलेको निकै प्रचलित पब्जी खेलमै व्यस्त देखिन्छन् । उनलाई परिवार, सम्बन्ध केही पनि वास्ता छैन । शरदजस्ता पात्रहरू अभिनेता बन्ने लहडमा समय खेर गरिरहेका छन् । शिशिरा आफ्नै पतिबाट यौनहिंसा खेपिरहेकी छन् । लेखक आशुतोष यही अधुरा पात्रहरूको कथा पाठकलाई दिन चाहन्छ तर सम्पादकले असहमति जनाउँदै हेमन्तलाई आफ्नै परिवारसँग, शिशिरालाई पतिसँग, वर्षादलाई सहरमा राम्रो पदका काममा लगाउँदै कथाको अन्त्य गर्छ ।


नाटकले मूलतः अहिलेको तत्कालीन अवस्थामा युवाले बेहोरिरहेको समस्या र तिनीहरूमा आइरहेको मानसिक विचलनलाई खोतल्ने प्रयास गरेको छ । मानसिक द्वन्द्वमा युवाको मन कसरी परिवर्तन भइरहन्छ भन्ने पक्षलाई नाटकले सबल ढंगमा पस्केको छ । राजनीतिक बेतिथि, जनताको सुरक्षाका नाममा बसेका सुरक्षाकर्मीको गलत प्रवृत्ति, सर्टिफिकेट सिस्टमको शैक्षिक प्रणाली, भौतिक सुखकै लागि दौडिरहेका अभिभावकलाई नाटकले तीखो व्यंग्य गरेको छ । युवाको यथार्थलाई उनीहरूकै भावना र समस्यामा केन्द्रित रहेर पहिलो प्रयासस्वरूप नाटक तयार गरिएको सोही ब्याचका कलाकार प्रितमसागर शर्माले बताए ।


नाटकमा विमल लामिछाने, मुस्कान राई (रिभान), शान्ति डगौरा, केवल सुब्बा, रिजेश तामाङ, सन्दीप कार्की, दीपेन्द्र केसी, रमेश वज्राचार्य, सुषमा पाठक, मनीष अर्याल, शोभा कार्की, सुमन गुरुङजस्ता कलाकारहरूको अभिनय रहेको छ । नाटकमा प्रकाश परिकल्पना राज शाहले गरेका छन् भने परिचालन रवीन्द्र डंगोलले गरेका हुन् । ध्वनि परिचालन रिया भारतीले गरेकी छन् । नाटक माघ ५ गतेसम्म मञ्चन हुनेछ ।


प्रकाशित : पुस २९, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?