कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चेकोभको ‘म्यारिज प्रपोजल’

सुशीला तामा‌ङ

काठमाडौँ — मानव जाति कृत्रिम होस् या प्राकृतिक, नकाबभित्रको दुनियाँमा रुमलिरहेका छन् । ऊ आफ्ना जीवनका सम्पूर्ण त्रुटि, कमी–कमजोरी, भुल एउटा कपडाको सहायताले मुख छोपेजस्तै ढाक्न चाहन्छ । उसले आफ्नो दुनियाँ मात्र राम्रो देख्छ र अरूका लागि ऊ राम्रो पात्रका रूपमा खडा हुन्छ ।

चेकोभको ‘म्यारिज प्रपोजल’

वास्तवमा समाजको एक ढोंगी पात्रबाहेक अरू उसको उपलब्धि शून्य हुन्छ । अन्ततः अधुरोपनासँगै उसभित्र मानसिक विचलन र छटपटी हुन्छ । यही वास्तविकता नाटक ‘विवाहको प्रस्ताव’ ले खोतल्ने जमर्को गरेको छ ।


राजधानीको रातोपुलस्थित शैली थिएटरमा शुक्रबारदेखि नियमित मञ्चनमा आएको नाटकले मूलतः मानवीय व्यवहार र प्रवृत्तिमाथि तिखो व्यंग्य गरेको छ । रूसी साहित्यकार एन्टोन चेकोभद्वारा लिखित नाटक ‘द म्यारिज प्रपोजल’ लाई सबिन न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् भने नेपाली समसामयिक परिवेशमा ढालेर रंगकर्मी नवराज बुढाथोकीले निर्देशन गरेका छन् ।


विवाह प्रस्तावकै वरिपरि घुमेको नाटकमा मास्कले मुख छोपिएका नकाबधारी पात्रहरू छन्, जो नकाबभित्रै सलबलाउन थाल्छन् । प्रकाशको फोकस जति उनीहरूतिर पर्छ, त्यति नै छटपटी र बेचैन बढ्न थाल्छ । नकाब हटाएसँगै सबैको वास्तविक रूप अगाडि आउँछ । यी नकाबधारी पात्रले समाजकै सदस्यको प्रतिनिधित्व गर्छन् । जसले असल राजनीतिज्ञ, छिमेकी, युवकका आआफ्नो भूमिका निर्वाह गरेका छन् ।


स्टिपान स्टेपानोभिच चुबुकोभ ७० वर्षीय किसान र राजनीतिज्ञ हुन् । उनकी एक सुन्दरी छोरी नतालिया स्टेपोभना छिन् । चुबुकोभका एक छिमेकी इभान भ्यासिलियिच लोमोभ नतालियासँग विवाह गर्न चाहन्छन् । लोमोभले असल छिमेकीका रूपमा चुबुकोभलाई उनकी छोरीसँग विवाह गर्ने प्रस्ताव अघि सार्छन् । चुबुकोभको सल्लाहअनुसार लोमोभ नतालियासँग आफैं विवाहको प्रस्ताव राख्न भेट्छन् तर विवाहभन्दा जमिनको स्वामित्वका लागि दुवैको लडाइँ हुन्छ । चुबुकोभको परिवारले भोगचलन गरेको जमिन लोमोभ आफ्नो हो भनी दाबी गर्छन् भने बाबुछोरी लोमोभको होइन भन्छन् । पछि विवाहका विषयलाई लिएर शान्त भएको वातावरणमा फेरि दुवैले कुकुरको विषय थप्छन् । जमिन र कुकुरकै विवादमा एकअर्कालाई मनलाग्दी गाली गर्छन् र दुवैले पुर्खौंदेखिका थुप्रै कमजोरी औंल्याउँछन् । छोरीको हात माग्न चिटिक्क परेर आएका लोमोभ चुबुकोभलाई षड्यन्त्रकारी राजनीतिज्ञको संज्ञा दिन्छन् ।


चुबुकोभ र लोमोभ हाम्रा वरपर रहेको छरछिमेकीका रूपमा नाटकमा चित्रित छन् । यी पात्रले एकआपसमा मिले जस्तो गरे पनि भित्री रूपमा ईर्ष्या गर्ने प्रवृत्तिलाई उजागर गरेको छ । चेकोभले सन् १८८९ ताका लेखेर त्यसको अर्को वर्ष पहिलोचोटि मञ्चन गरेको नाटकको विषयवस्तु अहिले पनि मानव समाजमा त्यतिकै सान्दर्भिक लाग्छ । झन्डै डेढ शताब्दीपछिको यो समयमा विज्ञान र प्रविधिले धेरै फड्को मारिसकेको छ तर मानवीय प्रवृत्तिको प्रगति के छ त भन्ने प्रश्नको जवाफ नाटकले दिन्छ ।


नाटकले समाजका लागि भए पनि विवाह गर्ने विकृतिलाई अझै प्रस्ट रूपमा प्रस्तुत गरेको छ । अधबैंसे युवा लोमोभलाई विवाह नगरी भएको छैन । ‘विवाह सामाजिक नियम हो । यसभित्र म चल्नुपर्छ’ जस्ता उनका शब्दले उनी आफ्ना लागि नभएर समाजका लागि नतालियासँग विवाह गर्न चाहन्छन् भन्ने प्रस्ट हुन्छ ।


अर्कोतर्फ बाबुआमाले छोरीलाई माया गरेजस्तो गरे पनि विवाहका लागि गरिने हतारोपनले कतै सन्तानलाई बोझका रूपमा लिएको होइन भन्ने प्रश्न नाटकले गर्छ । चुबुकोभ छोरीकै अगाडि भन्छन्, ‘एउटी छोरीको बाउ हुनु कत्रो काम छ ।’ लोमोभको खानदानसँग पुरानो दुस्मनी छ तर चुबुकोभ त्यही लोमोभलाई छोरी दिएर जिम्मेवारीबाट पन्छिन खोज्छन् । के त्यसो भए दुस्मन नै भए पनि दुवैको विवाह हुन्छ त भन्ने जवाफ खोज्न पनि नाटक हेर्नुपर्छ । चुबुकोभको बुढेसकालको राजनीति र पैसाप्रतिको लालचका माध्यमले नेपाली राजनीतिको खराब चरित्रप्रति व्यंग्य गरेको छ । पुरानो र विदेशी एकांकी नाटक भए पनि हाम्रो समसामयिकतासँगै जोडेर यथार्थ सन्देश दिन खोजेको निर्देशक बुढाथोकीले बताए । सुवास सुवेदी, स्नेहा पौडेल, शशांक बोहरा, भारती रिजाल, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय रहेको नाटक माघ १० गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित : पुस २१, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?