पाँच दशकअघिको पाटन
(ललितपुर) — पुरानो शैलीको झिँगटीले छाएको छानो, काठको सामान्य डिजाइनका झ्यालढोका, सेतो कमेरो र रातो रङको माटोले पोतेको घरका आँगनमा सुकाइएका खुर्सानी । झ्यालको माथितिर पेरुङ्गो र लसुनका पोटी । थैब ललितपुरको यो दृश्य अहिलेको हैन, झन्डै पाँच दशक पुरानो यो दृश्य फोटोग्राफर डभ ओ कनरले गोदावरी जाने क्रममा आफ्नो क्यामरामा कैद गरेका थिए ।
आधुनिक प्रविधि र सहरीकरणसँगै यस्ता दृश्य सहरबाट लोप भइसकेका छन् । ललितपुर आसपास र पाटन दरबार क्षेत्रका यस्ता पुराना दृश्य तस्बिरका माध्यमबाट भने हेर्न सकिन्छ । यतिबेला पाटन दरबार संग्रहालयमा देश विदेशका विभिन्न फोटोग्राफरले खिचेका ऐतिहासिक तस्बिर हेर्न सकिन्छ । ‘ट्र्याडिस्नल म्युजिकल इन्सट्रुमेन्ट्स एन्ड फोटो एक्जिबिसन’ शीर्षकको प्रदर्शनी संग्रहालयमा जारी छ । तपाईंलाई पाँच/छ दशक पुरानो उपत्यकाको संस्कृति र मौलिक नेवारी बाजाहरू हेर्न मन छ भने यो प्रदर्शनी उपयुक्त हुन सक्छ ।
ड्युग हलले विसं २०२५ सालतिर खिचेको एउटा तस्बिरमा खर्पन बोक्दै हिँडेको किसानको दृश्यले पुरानो खेती प्रणालीको झलक मात्रै दिँदैन, तत्कालीन जीवनशैली र बजार विनिमयको अवस्थाको पनि चित्रण गर्छ । त्यस्तै हन्क लेसीले विसं २०१७ मा खिचेको एउटा तस्बिर उत्तिकै रोचक लाग्छ । पाटन कृष्ण मन्दिरअगाडि एउटा कार रोकिएको छ, दुई बालिकाचाहिँ बडो उत्सुकतासाथ नियालिरहेका छन् । अहिले त सवारीसाधनले नै सहरलाई ढाकिसक्यो ।
विसं २०३१ ताका रिचार्ड पिफले पाटन ललितपुरस्थित महँ हिटीमा खिचेको तस्बिरको दृश्य पनि रोचक लाग्छ । उसले खिचेको तस्बिरमा पानी थाप्न लामबद्ध धातुका गाग्रीसहितका महिला छन् । प्रदर्शनीमा नै काठमाडौं उपत्यकामा पहिलोपटक मानिसहरूले मोटर बोकेर ल्याएको तस्बिर पनि राखिएको छ । राजा त्रिभुवनका पालामा भित्रिएको उक्त मोटरको तस्बिर सन् १९४८ मा भोल्कमर वीट्जरले खिचेका थिए, जुन सन् १९५० मा नेसनल जिओग्राफिक
म्यागाजिनमा प्रकाशित भएको थियो । सन् १९६१ देखि १९९१ सम्ममा खिचिएका २९ वटा तस्बिरमा पाटन दरबार र त्यस वरिपरिको इतिहास झल्किन्छ । यी सबै तस्बिरलाई पोखराका सुनिल उलकले संकलन गरेका हुन् ।
प्रदर्शनीमा रहेका तस्बिरका साथै नेवारी बाजाहरू निकै पुराना छन् । संग्रहालयको पहिलो तल्लामा ध:बाजा, नेखिन, शंख, ढोलक, कोन्चा खिन, नेकु, जो नगरा, पञ्चताल, धिमे, खैंजडी, म्वयली, बाँसुरी, झ्याली, मृदंग, धमौखिँ जस्ता ४२ थरीका मौलिक परम्परागत नेवारी बाजा प्रदर्शित छन् । बाजा पुराना भए पनि नेवार समुदायका विभिन्न पर्व तथा संस्कारमा प्रयोगमा आइरहेको संग्रहालय अधिकृत सुरेशमान लाखेले बताए ।
प्रदर्शनीका राखिएका तस्बिरबाट भने पाँच दशकभित्र काठमाडौं उपत्यकामा आएको परिवर्तन बोध हुन्छ । उपत्यकाका तीन सहरमध्ये ऐतिहासिक मानिने ललितपुर पाटन दरबार क्षेत्रमा निकै फेरबदल भइसकेको लाखे स्विकार्छन् । सहरको परिवेश, मानिसको रहनसहन, जीवनशैली, संस्कृतिजस्ता पक्षमा ठूलो बदलाब आएको छ ।
प्रदर्शनी अवलोकन गरिरहेका ललितपुर लुभुका अजित सुनारले पुराना बाजा तथा कलाकात्मक सामग्रीलाई प्रदर्शनीमा मात्र नभएर सधैं अवलोकन गर्न मिल्ने गरी खुला गर्नुपर्ने बताए । ‘नयाँ पुस्ताले सिक्नुपर्यो नि,’ उनले भने, ‘परिवार, समाज र स्कुलमा पनि आफ्नोभन्दा अरूकै संस्कृति र बाजा सिकाइएका छन् । यस्तामा नयाँ पुस्ताले कहाँबाट आफ्नो मौलिक ज्ञान हासिल गर्ने ?’ इमाडोलका प्रशान्त शाहीले पनि उनीप्रति समर्थन जनाए ।
‘घरमा हामीलाई सारंगी होइन, गिटार गिफ्ट आउँछ,’ उनले भने, ‘अनि हामीले नेपाली मौलिक बाजा कसरी चिन्ने ?’ प्रदर्शनी आउँदो माघ १० गतेसम्म रहने बताइएको छ ।