लोभ्यायो घोँगी र चिचरले

(लुम्बिनी) — अस्ट्रेलियाकी पर्यटक निकाइता योङ्गले थारू परिकार घोँगी मज्जाले चुस्दाको बखान गरिन् । ‘रैथाने माछा र चामलको फाराले गज्जबले स्वाद फेरेँ,’ उनले भनिन्, ‘आलुको चोखा, ढिकरी र दाल रोटीले पनि लठ्यायो ।’ उनीजस्तै पश्चिम रामापुरबाट आएकी सीता ज्ञवाली पाउरोटीको शाही टुक्रा र सेवई खाएर लठ्ठ परिन् ।

लोभ्यायो घोँगी र चिचरले

‘मीठो स्वादले कठ्यांगि्रँदो चिसो पनि बिर्स्यायो,’ उनले भनिन्, ‘नाचेर पनि उस्तै रमायौं ।’ बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबार साँझ आयोजित छैटौं सडक खाना महोत्सवमा उनीहरूजस्तै धेरै रमाए ।


अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण थप्न खाना महोत्सव आयोजना गरिएको थियो । ‘स्थानीय स्वादमा आकर्षण बढाई पर्यटन प्रवर्द्धन गर्न चाहेका हौं,’ लुम्बिनी होटल एसोसिएसनका अध्यक्ष मिथुनमान श्रेष्ठले भने । महोत्सवमा बर्गर–पिज्जादेखि खसी, कुखुरा, बुंगुर र हाँसका परिकार थिए । भारतीय खानाका परिकार पनि थिए । थारूदेखि अवधी समुदायमा प्रचलित परिकारप्रति भिन्न आकर्षण देखिन्थ्यो । थारूको भुजा, चोखा, चिचर, माछा, ढिकरी, फारा र मुलाको अचारको स्वादले बढी बजार पाएको सहभागीहरूले बताए । त्यस्तै मुस्लिम परिकार शाही टुक्रा, सेवई, जर्दा र बिरयानी पनि सबैको आकर्षणमा परेको थियो । विदेशीको तुलनामा स्थानीय स्वाद धेरैले मन पराएको बताए । थाइल्यान्डको मिठाई चाख्ने पनि प्रशस्त थिए । थाई भिक्षुलाई स्टलमै राखेर मिठाई बनाउन भ्याइनभ्याई थियो । सस्तो मूल्य र नयाँ परिकार देखेर धेरैले किनेर घर लिएर गएका थिए ।

व्यस्त महिलवार बजारको मुख्य सडकमा खाना महोत्सव गरिएको थियो । सडकका दुवैतिर खानाका परिकारका स्टल थिए । स्थानीयदेखि तारे होटलसम्मको । करिब एक किमि लामो सडकसम्मै स्टल थिए । साँझ ५ बजेबाट सञ्चालन भएको महोत्सव राति १ बजेसम्म चलेको थियो । रातको १२ बज्नासाथ आतिसबाजी गरेर खुसियाली मनाउँदै नयाँ वर्षको स्वागतसमेत गरिएको थियो । एक किमि बाटोमा विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रमको आकर्षण पनि थियो । सुरुमा पञ्चेबाजा, त्यसपछि भाङ्ग्रा, थारूको झुम्रा नाच र अन्त्यमा स्टेज कार्यक्रम गरिएको थियो । बीच–बीचमा लाखे नाच पनि देखाइएको थियो । त्यस्तै, मञ्जुश्री नाच पनि देखाइएको थियो । स्टेजमा स्थानीय र राष्ट्रिय कलाकारले प्रस्तुति दिएका थिए । भोजपुरी गीतमा स्टेजै उचालिने गरी नाच्नेहरू प्रशस्त थिए । जसलाई जहाँ मन पर्छ, उनीहरू उतै झुम्मिएका थिए ।


महोत्सवमा भैरहवा, बुटवल, तौलिहवा, जितपुर, गोरुसिंगे, सुनवल, परासीलगायत ठाउँबाट खानाको स्वाद चाख्न आउने दर्शकको घुइँचो लागेको थियो । सीमावर्ती भारतीय बजार ककरहवा, सुनौली र नौगढसम्मका मानिस सडक खाना महोत्सवमा सहभागी भएका थिए । निरन्तर बजिरहेको गीत–संगीतले खाँदै नाच्दै दर्शक रमाएका थिए । स्थानीय वकिन विक भन्दै थिए, ‘आन्तरिक पर्यटन प्रवर्द्धनमा यस्ता महोत्सव भइरहनुपर्छ ।’ लुम्बिनी होटल एसोसिएसनका महासचिव लीलामणि शर्मा पनि महोत्सवले पर्यटन प्रवर्द्धनसँगै स्थानीयलाई रोजगारीसँग जोड्ने काम पनि गर्ने दाबी गरे । ‘बुद्धस्थल शान्ति र सद्भावका लागि मात्रै हैन,’ महोत्सवमै भेटिएका पर्यटन उद्योगी किरणचन्द्र पौडेलले भने, ‘यहाँका परिकारको विविधताले महोत्सव महत्त्वपूर्ण छ भन्ने सन्देश पनि दिएको छ ।’


प्रकाशित : पुस १७, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?