प्रिन्ट मेकिङमा व्यस्त

सुशीला तामा‌ङ

काठमाडौँ — कालो रंगको जिन्क प्लेटमा परम्परागत रुपमा घरमै तयार गरिने रक्सी बनाउने भाँडाको स्केच निखार्दै थिइन् सोनी राई । कालो जापानी मसीले कालै पृष्ठभूमि बनाएको उनको प्लेटमा सियोले खोपेर बनाइएको स्केच देखिन्छ । प्रविधिको विकाससँगै हराउँदै गएको नेपाली परम्परागत मौलिक भाँडाहरूको महत्व झल्काउन सोनीले प्रिन्ट मेकिङको साहरा लिएकी हुन् । यो कलाको एउटा माध्यम हो । 

प्रिन्ट मेकिङमा व्यस्त

भाँडामा उनले विम्बात्मक रूपमा रक्सीका विभिन्न ब्रान्डको नाम उल्लेख गरेकी छन्– ओल्ड दरबार, खुकुरी रम, गोर्खादेखि विदेशी ब्रान्डसम्म । रसायन हालेर विभिन्न उद्योगहरूबाट उत्पादन गर्ने रक्सीहरूले स्थानीय परम्परागत रक्सी र भाँडालाई समेत विस्थापन गरेकोप्रति व्यंग्य कसेकी हुन् उनले ।


बुधबारदेखि बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु ‘प्रिन्ट मेकिङ वर्कसप २०१९’ मा चित्रकार राई लगायत ४४ जना स्रष्टा प्रिन्ट मेकिङ माध्यममा धर्म, संस्कृति र परम्परा उतार्न व्यस्त छन् । कोही उड कटलाई खोपिरहेका छन् भने कोही स्केच गरिसकेको काठमा पेपर राखी त्यसैमा वास्तविक चित्र उतार्न । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चित्रकला विभाग र प्रिन्ट मेकिङ नेपालले गरेको कार्यशालामा अनिल मचामसी, साकार खड्गी, विद्यामान तामाङ, अमन महर्जन, तारा तामाङ, तिशा श्रेष्ठ, सुजिता महर्जन, टासी लामा, संगीता घिमिरे, सन्तोष सिग्देल, जगदीश लामालगायतका चित्रकार एक–अर्काका अनुभवसमेत साट्दै छन् ।


चित्रकार विद्यमानले ग्रामीण भेगमा मोटरबाटोको विकाससँगै हराउँदै गएको माहुरीलाई चित्रमा उतार्ने जमर्को गरेका छन् । त्यस्तै तिसाले नेवारी समुदायमा पूजा गर्दा प्रयोग गरिने बत्ती बाल्ने दियो जस्तै सुकुन्डालाई उड कट प्रिन्ट निकाल्न प्रयासरत थिइन् । उडकट प्रिन्टमा बहुरंगको चित्र बनाउन थुप्रै तहमा प्रिन्ट गरेपछि मात्र वास्तविक चित्रको आकार र रूप आउने उनले बताइन् । सुकुन्डाको सिंगो स्वरूपलाई निकाल्न उनले ७/८ पटक प्रिन्ट गरिसकेकी थिइन् । अन्तिम लेयरसम्ममा पनि आफूले सोचेको जस्तो चित्रको स्वरुप नआउन सक्ने उनले बताइन् ।


कार्यशालामा चित्रकार अनिल, साकार, अमन सँगसँगै बसेर चित्र तयार गर्ने त्यही प्रक्रियामा तल्लीन देखिन्थे । प्रिन्ट मेकिङ माध्यममा एउटै भन्दा बहुरंगमा चित्र उतार्न कठिन हुने अनिलले बताए । भने, ‘सिंगल कलरमा निकाल्न खोपेको उडकटमा कलर राखी एकैपटकमा प्रिन्ट गरेर चित्र बन्छ ।’ प्रिन्ट मेकिङलाई परम्परागत विधा मानिए पनि २०५० को दशकको सुरुवातीतिर भित्रिएको यो विधा अहिले निकै फस्टाउँदै गएको देखिन्छ । विश्वविद्यालयको पाठ्क्रममा समेत समेटिएको यस विधालाई निरन्तरता दिँदै चित्रकला प्रदर्शनी गरिरहेका थुप्रै चित्रकारहरू अघि बढिरहेका छन् । उमाशंकर शाह, सीमा शाह, रागिनी उपाध्याय, सम्झना राजभण्डारी लगायतका चित्रकारहरूले प्रिन्ट मेकिङका अगुवा हुन् । मौलिक चित्रकलाको विधाका साथै संस्कृति र परम्परा झल्काउने गरि कार्यशाला सुरु गरिएको प्राज्ञ तथा चित्रकला विभाग प्रमुख सुषमा राजभण्डारीले जनाइन् ।

प्रकाशित : पुस ११, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?